अष्टिम्की पर्व | Astimki Festival |Tharu Wall Painting Festival

astimki tharu wall painting

थारू समुदायको विभिन्न चाडपर्व मध्ये अष्टिम्की एक महत्वपूर्ण चाड हो। अष्टिम्कीमा घरको भित्तामा चित्र कोरेर पूजा गर्ने चलन छ। ३ दिनसम्म मनाइन्छ यो चाडको तयारी महिनौंदेखि थालिन्छ। महिनौदेखि तयारी गरिने यस चाडमा के विशेष छ? आखिर किन मनाइन्छ अष्टिम्की?

अष्टिम्की पर्वको बारेमा बुझ्नु अघि थारू घरको भू-बनोट बारे जान्न जरूरी छ।

थारू घरको भू-बनोट

प्रायः थारू समुदायको घरको मूल ढोका पूर्व-पश्चिम फर्किएको हुन्छ। घरभित्रको उत्तर पूर्वी कोठामा देउता घर हुन्छ। यसलाई स्थानीय भाषामा ‘देहुरार’ भनिन्छ। उत्तर पश्चिमको कोठामा भान्सा हुन्छ। भान्साको दक्षिण तिरको कोठा अलि ठूलो हुन्छ जसलाई खानाको लागि (डाइनिङ रुम) प्रयोग गरिन्छ। यो कोठालाई ‘मझेरी कोन्टी’ भनिन्छ।

देहुरारको दक्षिण पट्टीको कोठा जेठा छोराको लागि छुट्याइएको हुन्छ। यसैगरी धेरै छोरा छोरी भए पछाडी आवश्यकता अनुसार कोठा बनाइन्छ। सबैको भाग कोठा पुगेपछि घरभित्रको दक्षिणी कोठा खुल्ला राखिन्छ। जसलाई ‘बहरी’ भनिन्छ। बहरीमा ढिंकी जाँतो (ढेंकी, चकिया) राखिन्छ। बुढाबुढी, बालबच्चाले आगो ताप्नको लागि माटोको मकल बनाइएको हुन्छ जसलाई ‘झाँझाँ’ भनिन्छ। जाडो महिनामा सबै परिवार बहरीमा बसेर आगो ताप्ने गर्दछन्।

आधुनिकतासँगै अहिले थारू जातिका पुर्ख्यौली घर लोप हुँदै गएको पाइन्छ।

घरको उत्तरपूर्वी भित्तामा अष्टिम्की तयार पारिन्छ।

 

अष्टिम्की तयारी

अष्टिम्की astimki tharu wall painting

घरको बहरीमा अष्टिम्की स्थापनाको लागि सबैभन्दा राम्रो मिलेको उत्तरपूर्वी (उबरखाबर नभएको) भित्ताको भाग छानेर एक महिना अघिनै सम्याएर भित्ता लिप्ने गरिन्छ। सम्याएर लिपेको भित्रा सुकेपछि डहेरी आकारको घेरा बनाइन्छ सोही घेरा भित्र अष्टिम्कीको चित्र बनाउन प्रयोग गरिन्छ यसरी बनाइएको भित्ता सुकेपछि पुनः चिल्लो पारेर लिपिन्छ। त्यसपछि कमेरो माटो (किचली माटी)ले भित्ता पोतिन्छ। यसरी २-३ पटक भित्ता पोते पछी एकदमै सफा सेतो उज्यालो भित्तामा अष्टिम्कीको चित्र कोर्नकालागि भित्ता तयार हुन्छ। यो भित्तालाई चोखो पार्न जोगाउनु पर्छ या अष्टिम्कीको १ दिन अगाडि पुनः पोत्नु पर्छ। खाना खाइ सकेको मानिसले भित्ता छुनु हुँदैन।

मछ्वारी

तीन दिनसम्म मनाइने अष्टिम्कीको अघिल्लो दिनलाई मछ्वारी भनिन्छ। यो दिन गाँउ भरिका मानिस जम्मा भइ नजिकैको खोला नदी, कुला, आदिमा टापी, हेल्का, खोंघिया लिएर सामुहिक माछा मार्न जान्छन्। घरमा आएर माछा भाग लगाउछन्। जुन माछा आफ्ना दिदीबहिनीका लागि सुकाउँछन् र आफ्नो लागि पनि पकाएर राख्छन्। सबै व्रत बस्नेहरु यो दिन कपाल नुहाएर चोखो हुन्छन्। अनि राती दर खानका लागि भेला हुन्छन्।

दर खाने दिनः

मछ्वारीको राती भाले बास्नुभन्दा अगाडी साँझ पकाएको खानेकुरा घरका व्रतालुहरु सामुहिक रूपमा सँगै बसेर दर खान्छन्। कोही साकाहारी भोजन खान्छन् भने कोही साँझ पकाएको माछा दरमा खान्छन्। दरमा मासु र मासको दाल, र काक्रो खानु हुँदैन।

ब्रत बस्ने दिन (अष्टिम्की ब्रत)-

भाद्र कृष्ण जन्माष्टमीका दिन थारू समुदायका महिला पुरूष निराहार ब्रत बस्छन्। ब्रत बसेका महिला पुरूषहरु बिहान सबेरै नदी तलाउ जस्ता जलासयमा नुहाएर सूर्यलाई जल अर्पण गरेपछि अग्निको पूजा गर्छन्। अग्नि पूजा गर्दा काठको धुप शुद्ध घीउमा मुछेर अक्षेता, तिल, र जौ मिश्रण गरी होम गरिन्छ। अनि फलफूल, दुध, सख्खर, आदि नैवेद्ध अर्पण गरिन्छ।

अग्नि पूजा सकिएपछि पुरूषहरु विभिन्न रंग लिएर अष्टिम्कीमा चित्र कोर्न जान्छन्। महिलाले पुरूषलाई सरसमान जुटाइ दिएर सहयोग गर्दछन्, र साँझको फलाहारको लागि फलफूल, दुध, दही, रामदानाको भूजा आदि जुटाउछन्। यसरी साँझको पूजाको सामाग्रीहरुको बन्दोबस्त गरिन्छ।।

साँझ अष्टिम्कीमा चित्र भरी सकेपछि पुरूषहरुले बारीमा गइ भेट्नो सहितको काक्रो, र घोघा सहित जरैबाट ओखलेको मकै पूजाको लागि ल्याएर महिलालाई दिन्छन्। महिलाले भने अम्बा, केरा, स्याउ, जस्तो, फलफूल र पूजा सामाग्रीको व्यवस्था गर्छन्।

साँझपख कृष्ण जन्माष्टमीको अष्टिम्कीमा पूजा गर्न गाँउभरीका महिला जम्मा हुन्छन्। यसैगरी प्रसाद खान गाँउभरीका पुरूषहरु आँगनमा जम्मा हुन्छन्। मिलेको सम्पन्न गाँउ भए गाँउभरीका लागि एउटा घरमा मात्रै अष्टिम्की बनाइएको हुन्छ। गाँउमा मेल नहुनेले आफ्ना लागि वेग्लै अष्टिम्की बनाउछन्।

अष्टिम्की पूजाः

astimki tharu wall painting

अष्टिम्की पूजाका लागि अष्टिम्की बनाइएको चित्रकोठामा महिलाहरुले चामल, काक्रो (काक्रो नहुनेले केरा, कागती) सहितको थाली तयार पार्छन्। चामल माथि बलेको दियो र वरिपरि फूलले थाल सजाइएको हुन्छ। अनि सबै महिला लामबद्ध भइ भगवान कृष्णको पूजा गर्न लाग्छन्। यसरी पूजा गर्न परम्परागत नयाँ पहिरन र गरगहना लगाएर पूजा शुरू गरिन्छ। मान्य व्यक्तिको अगुवाइमा सबै महिला तथा सिकारूहरु पूजामा लागि पर्छन्।

अष्टिम्की अगाडी ठूलो काठको पिर्का हुन्छमा कलस, दियो, गाजल, र सिन्दुर राखिएको हुन्छ। गाजल र सिन्दुरसबैले सामूहिक प्रयोग गर्छन्। अष्टिम्कीको चित्रमध्य रावण बाहेक सबै चित्रमा काजल-सिन्दुरले टिकेर जल-फूल अर्पण गरिन्छ। रावणलाई अपभ्रम्स गरेर रोइना पनि भनिन्छ।

जसले रोइनालाई टिका गाजल लगाउछ उसका बच्चा रून्चे हुन्छ भनेर ख्यालठट्टा पनि गर्ने गरिन्छ। अष्टिम्की टिक्ने विधि सकिएपछि थालमा राखिएको पूजा सामान गुन्द्रीमा खन्याएर काक्रो र मकै काटिन्छ। यसरी काटिएको काँक्रो र मकै गाँउभरिका मानिसलाई प्रसाद स्वरूप बाड्ने चलन छ।

कृष्णको पूजापछी मात्र सबै आआफ्नो घर गइ फलाहार गर्छन्। फलाहार पछि महिलाहरु गीत गाउँदै टपरी गाँस्न बास्छन्। टपरीमा दियो बनाएर गास्नुपर्छ।

घरमुली महिलाले मासको दाल भिजाउछिन्। यो विधि सकिए पछी नसक्नेहरु आराम गर्छन् भने सक्नेहरु रातभरी जगाराम बसेर वर्किमार, गुरूवावव् जन्मौती र मैना जस्ता गीतभजन गाएर दियो निभ्न दिँदैनन्।

तेस्रो दिन

बिहान भाले बासेपछि गाँउका सबै महिला आआफ्नो टपरी लिएर गीत गाउँदै नदीमा सो टपरीलाई अस्ताउन जान्छन्। नदीमा पुगेपछी सबैले टपरीमा दियो अक्षेता, तिल, जौँ, र पैसा राखेर बलेको दियोसहित मंगलकामना गर्दै एकसाथ खोलामा बगाउछन्। यो दृश्य अत्यन्त राम्रो देखिन्छ।

जसको दियो लामो समयसम्म बल्छ उ निरोगी हुन्छ र उसको मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास छ।

अग्रासनः

पूजा विधि सकिए पछि व्रतालुहरु घरमा आएर चुलोको आगोमा पूजा गरेर मात्र भान्सामा प्रवेश गर्छन्। अनि मिठामिठा पकवान बनाउ लाग्छन्। उनीहरुले मासको दाललाई कुटेर कर्कलोको पातमा बेरेर ‘खरिया’ नामक परिकार पकाउछन्। बेसनको फुलौरी, अनदीको रोटी, बरिया, माछा, मासको दालको ठूसा, विभिन्न तरकारी, र अचार आदि बनाएर व्रतालुले दिदीबहिनीका नाममा अग्रासन निकालेपछि ‘लौ अब खाँउ’ भन्दै व्रत तोडछन्। भोजन खाइ सकेपछि दाजुभाइले अग्रासन कोशेली दिन दिदीबहिनीको घर जाने चलन छ। अग्रासन दिने चलनले दाजुभाइ दिदीबहिनीबीचको मित्रता, मेलमिलाप र मायाप्रेम प्रगाढ हुन्छ।

अष्टिम्की पर्व वर्षा समयमा हुने हुँदा पकाएको बासी खानेकुरा दिदीबहिनी कहाँ दिनु हुँदैन। दिदीबहिनीले पनि दाजुभाइ अग्रासन दिन आउदा नसा लाग्ने चीज (जाँड, रक्सी) आदि खुवाउनु हुँदैन भन्ने कुरा बुझ्न अत्यन्त जरूरी देखिन्छ।

थारू समुदायले मान्ने अष्टिम्की पर्व पनि कृष्णजन्माष्टी नै हो। पर्व मान्ने तरिका थारूको मौलिक तरिका हो। खासगरी ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्री कृष्णको भाद्र कृष्णाष्टमीका दिन मध्यरातमा जन्म भएकोले यो दिनलाई कृष्ण जन्माष्टमी र रातलाई मोह रात्री भनिन्छ।

भगवान विष्णुको आठौं अवतारको रूपमा जन्म लिनुभएको भगवान श्री कृष्णले सत्कर्मकालागि मानव समुदायलाई प्रेरित गर्नु भएकोले उहाँको जन्म र सम्झनामा ब्रत-उपासना र पूजापाठ गरिन्छ। द्वापर युगका थारू समुदायकै पालोदेखि यो चलन चलिआएको थारू ग्रन्थहरुमा उल्लेख पाइन्छ।

बाल्यकालदेखि नै विचित्र लिला देखाएका भगवान श्री कृष्णले पुतना, कंश, जरासन्ध, शिशुपाल, जस्ता दावन प्रवृतिका संहार गर्नुभएको गीता, महाभारत जस्ता ग्रन्थमा उल्लेख छ।

कुरूक्षेत्रमा भएको कौरबकसँगको लडाइमा होमिएका पाण्डव दाजुभाइमध्ये अर्जुनलाई भगवान श्री कृष्णले प्रत्यक्ष मुखार विन्दुबाट व्यक्त गर्नुभएको श्रीमद् भागवत गीता हिन्दुहरुको पवित्र ग्रन्थ हो। यिनैलाई आधार मानी भगवान श्री कृष्णको प्रकाट्य दिवसलाई थारूहरुले अष्टिम्की भनेर मनाउछ्न्।

 

 

 

Read More on Tharu Culture:

How Typical Tharu House Looks Like | Moti Ram Chaudhary “Ratna”

 

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *