पर्पल प्रेम | Nepali Poem by Madhav Khanal

Madhav Khanal
ऊ संगै हुँदा
जति धौ धौ जस्तो लागे पनि
थकाई मार्न मन लाग्दैन
बरु थकाईलाई नै मार्न मन लाग्छ!
उसले मेरो एउटा औंला मात्र छुँदापनि
मेरो सिङ्गो शरीरले जिस्काई दिन्छ औंलाहरुलाई
मेरो सिङ्गो शरीरलाई काउकुती लगाई दिन्छन् औंलाहरुले !
त्यसैपनि
ती औंलाहरू तिम्रा हुन भन्ने थाहा पाएपछि
मलाई जतिखेर पनि काउकुती लागिरहन्छ !
जति सार्हो झटारो हान्दा पनि
हाँगोबाट नझर्ने अटेरी आप
अनि आँपलाई झर्न नदिने हाँगो,
रोमियो र जुलियट झै चाँहिदैन
त्यही आप अनि हाँगो झै होस् हाम्रो सम्बन्ध!
दुध उम्लिएर
अगेनोमा पोखिदा
कुडेलाई कत्ति पोल्छ होला है,
फेरि
दुधलाई
सिद्धन्छु कि भनेर डर भयो भने
कहिलै बन्दैन  कुराउनी
हामी डाडु र कुडे
कुराउनी बनोस् हाम्रो सम्बन्ध!!
 सुखेसकेको थियो  पहिले रूख
 अबबाट अरु कसैका लागि पनि फल्नु थिएन उसलाई
ऐले त रुखले फुल्नुको कारण पाएको छ
तिमी !
तिमीलाई मन पर्छ भन्ने थाहा पाएपछि मैले आफ्नो दारी पनि काटेको छैन !
चिसोले
पञ्जा लगाउँदा पनि कठाङ्रियका औंलाहरू
जसको कोटको न्यानो गोजीमा राखेर सेकु झै लाग्छ,
जो संगै बसेर आगो तापु-तापु झै लाग्छ
उ संग बसेर एक कप चिया नपिएसम्म बिहान हुँदैन,
जो संगै बसेर खिल्लीका खिल्ली
समयका चुरोटहरु उडाउन मन लाग्छ
तिमी!
निहुँ नखोजेको पनि कत्ति भइसकेछ हाम्ले
तिम्लाई जित्नु मन पर्थ्यो
 म जहिलै हारिदिन्थे
हरेक हारमा मेरो
हामी दुबैको  जित हुन्छ
मन पर्न थालेको छ मलाई
तिमीसंग हार्दा केही गुमाउनु पर्छ कि भनेर
अनिदो बस्नु पर्दैन मलाई!
मेरो जन्मदिनमा
तिम्ले दिएको
मेरो र तिम्रो फोटो टाँसिएको सिसाको कप
अनि
मेरो घाँटीमा अड्किएको हाम्रो सम्बन्धको बाडुल्की
जसलाई मैले अहिलेसम्म जुठो हालेको छैन !
मेरा ओठका रेखा रेखाहरुलाई थाहा छ !
तिमी र म
एउटै अंगालोमा बेरिदा,
अझ अलि कसिएर बेरिदा
मेरो शरीरलाई लागेका झड्काहरु
जसलाई मैले फ्रेममा राखेर
मेरो देब्रे छातीको मेरो मुठ्ठी जत्रै कोठामा
हजारौ भित्ताहरुलाई सजाएर रंगीन पारेको छु !
जुन कोठाभित्र एकपटक पस्दा मात्र पनि
बाटो थाहा हुँदा हुँदै पनि
बाहिर निस्किन गाह्रो पर्छ !
तर
जति एक हुन खोजे पनि
सिङ्गो हुन सक्दैनौं
तिमी र म !
हामी सिङ्गो हुनु भनेको म तिमीसंग मिसिनु हो
मिसिनु मात्रै
वर्षौंको पर्खाइको लामो यात्राको शून्य गन्तव्य रैछ भने !!
बरु यस्तै झगडा गरि रहौं
यस्तै निहुँ खोजी रहौं !
बाटो नजिकैको क्याफेमा सिट बुक गरिसके मैले
आऊ छिट्टै
संगै बसेर तातो तातो चिया पिऊ
नुनिलो विस्केट भिजाउँदै
एक प्याकेट गुलिया गफहरु गरौं ,
चिया सेलाउन के बेर
फेरि
गुलियो चिया
चिसो भयो भने
त्यो जत्तिको नमीठो केहि लाग्दैन मलाई !
काटिसके मैले बसको टिकेट
झगडा गर्दिनँ
बरु तिमी नै झ्यालमा बस
तर बन्द गर्नु  त्यो झ्याल ,
फेरि
मसंग रिसाएका हावाहरुले
तिम्रा कानहरुलाई नमीठो सुसेली सुसेले भने !
झ्यालतिर हेर्दा पनि नहेर्नु
फेरि
म संग रिसाएका खोलाहरूले
समुन्द्र पुग्ने हतारको निहुँमा
हामी हिँडिरहेको भन्दा उल्टै बाटो देखाइ दिए भने !
म ड्राइभरलाई गीत अल्ली सानो गराउन भन्छु
हामी एउटै इयरर्फोनबाट एउटै गीत सुनौं
हामीले सुनिरहेको हाम्रो गीत
अरु कसैले पनि सुन्नु हुँदैन !
तिमीलाई मन पर्ने पर्पल
मलाई मन पर्ने तिम्रो पर्पल मफलर
बरु यसैले
झ्याल बाहिरको दुनियाँबाट हामीलाई छेकौं
अरु कसैले पनि देख्नु हुँदैन
मेरो काधमा तिमी झुलिरहेको !
झ्याललाई अझ राम्रोसंग बन्द गर
अरु कसैले देख्नु हुँदैन
एउटै बसमा
एउटै सिटमा
एउटै गीत सुन्दै
तिमी र म संगै निदाई रहेको
अरु कसैले पनि देख्नु हुँदैन !!
हामी बाहेक !
-माधव खनाल, अर्घाखाँची  (Madhav Khanal)

Read More Nepali Poem:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *