Top 9 temples in Around Kathmandu, Nepal
घुम्न कसलाई मनपर्दैन र? मलाई त घुम्ने भनेपछि केही चाँहिदैन। झन साथीसित घुम्ने प्लान बन्यो भने मन फुरूंगै हुन्छ। पछिल्लो यात्रावरणमा मैले ९ वटा मध्य २ वटा मन्दिर जाँदाको अनुभव लेखेकी थिएँ। आज बाँकी मन्दिरबारे भन्दैछु।
सुरू गरम है-
सूर्य विनायक:
हामी गएको अर्को मन्दिर हो सूर्य विनायक मन्दिर। भक्तपुर बजारदेखि दक्षिणतिरको अग्लो ढिस्कोमा अवस्थित सूर्यविनायक मन्दिर काठमाडौं उपत्यकाको चार विनायाक मध्ये एक हो। लिच्छवीकालिन राजा विष्णुदेव वर्माले निर्माण गर्नुभएको यो मन्दिरमा अन्य मनकामनाका साथै बोली नफुटेका बालबालिकाहरूलाई मन्दिर दर्शन गराएमा बोली फुट्ने जनविश्वास रहेको आजको घुमाइबाट थाहा पाएँ ।
यो मन्दिर पहिल्यै पनि गइसकेको हुँ, तरपनि साथीहरुसँगको घुमाईले धेरै कुरा जान्ने मौका पाँए। जान्ने कौतुहलता नसकिँदै साथीहरु बसमा चढी सकेका रहेछन्।
गाडीमा चढ्न साथ हाम्रो गाडी डोलेश्वर मन्दिरतर्फ गुड्यो।
डोलेश्वर महादेवः
सूर्य विनायक गणेश मन्दिरको बाँयातिरबाट मोडिएर हाम्रो गाडी आशापुरी जाने बाटो पछ्याउदै डोलेश्वर मन्दिरभन्दा माथि पार्किङस्थलमा रोकियो। भक्तपुर सहरदेखि दक्षिण पूर्वी कुनामा यो मन्दिर अवस्थित छ। हामी गाडीबाट ओर्लेपछि थोरै पैदलबाटो हिडेर डोलेश्वर महादेवको परिसरमा टेक्यौं। सुरुमा गणेश भगवानको ठूलो मूर्ति परिक्रमा गरी मन्दिरतर्फ कदम बढायौं । कालो पत्थर कोल्टे परेर रहेको महादेवको शिरमा चाँदीको नागले बेरिएको रहेछ। मन्दिरको चारैतर्फ ढोका देखियो। उत्तर तिरको ढोका अगाडि निरन्तर जल बगिरहने भएकाले यो ढोका प्रायःबन्द रहने दर्शनार्थीले बताए।
गुम्बा आकारको छाना भएको भूइतले मन्दिरको शीर्ष भागमा पित्तलको गजुर र पहेलो कपडाको पत्ता फहराइरहेको देख्दा मेरो मन पनि फुरुङ भई कता कता उडी रहेको थियो। म एकटकले छानामा नियाल्दै थिएँ। वरिपरि हरियो डाँडाले घेरिएको मनोरम स्थानमा मन्दिरको चंदुवाको तल हरियो रंगको फेर देख्दा काठमाडौंको कोलाहल र धुवा धुलोले बटारिने मेरो आँखालाई साँचिकै शित्तलता महशुस भयो।
मन शान्त र आनन्दित पनि भयो। आँखा भने घुमी नै रहेको थियो। छानाको चारै कुनामा भने त्रिशुल तर्फ हेरेर उचाइमा पुगेको मेरो ध्यान ठूलो र सानो घण्टाको ढ्वाङ ढ्वाङ र तिरिरी गर्ने आवाजले मोडियो । दक्षिणतिर ठूलो पत्थरको त्रिशुल रैछ। साथी सावित्रीले सामुहिक फोटो खिच्नको लागि मलाई खोजिरहेकी रहिछिन्। मलाई चाँही कौतुहलता र उत्सुकताले डोरयाउदै थियो। जिज्ञासा राखे यति ठूलो पत्थरको त्रिशुल?
छेवैमा रहेकी एक भक्तजनले भनिन् यो १२० धार्नीको पत्थरको त्रिशुल हो। म चकित पर्दै पश्चिम तर्फको मुलद्वार अगाडि पुगे । शिलाको वसहा (नन्दी)को मुर्ती छेवैमा सुमीत्रा, कमला र विष्णुले धुप र दीप प्रज्वलन गरिरहेका थिए। सुगन्धीत धुपले शरिरका तन्तुहरुलाई प्रफुहित तुल्याई रहेको थियो। यसैबीच बहिनी अर्चुले भनिन्– ‘दिदी यो पित्तलको बसाहाको कानमा फुकेर जप्नु। मन्त्र या माग्नु पर्ने चीज सुनाएमा मनोकामना पूर्ण हुन्छ।’
सबैले पालै पालो वसहाको ठाडो उठेको कानमा फुकेर मन्त्रहरु जप गर्यौं। भगवानको कृपाले त्यहाँसम्म डोर्याएको महशुस भयो।
आफै प्रवेश गरि मन्दिरभित्र सधै पूजाअर्चना गर्न नपाइने यस मन्दिरमा केदारनाथको शिर घोषणा भएको दिन भदौ ६ गते, महाशिवरात्री पर्व र अक्षय तृतीयाका दिन भने भक्तजनका लागि ढोका खुल्नुका साथै मन्दिरमा धार्मिक मेला र भण्डारा लाग्ने कुरा थाहा पाएँ। अरु बेला पूजारी मार्फत फूल प्रसाद र भेटी चढाउने व्यवस्था रहेको बुझियो।
पारदेशी भिमशेनः
भिण्ड्यो नामले पुकार्ने भिमशेन मन्दिर दत्तात्रेय मन्दिरको ठीक अगाडी दत्तात्रय वर्ग परिसरमै अवस्थित छ। भक्तपुरको अन्य मन्दिर भन्दा यो मन्दिरको लम्बाई निकै ठूलो र फराकिलो लाग्यो। आरामको लागि तलको भुइतल्ला पुरै खुल्ला छ। एउटै श्रृखलाभित्र चित्रैचित्रले कुंदिएको २ वटा ढुङगाको मुलद्वार छ। मन्दिरभित्र महाभारतको पाँच पाण्डव, र पत्नी द्रोपतीको मूर्ति छ। अर्को तिर परदेशी भिमशेनको मूर्ति छ। रीताले भनिन् यो मन्दिरमा पूजा गरे व्यापार व्यावसाय फस्टाउछ अनि अर्की लक्ष्मीले थपिन सफलता र सौभाग्यका साथै देश विदेश आँटेका कुरा पनि पुरा हुन्छ।
पूजारी आमाले चढाएको पैसा टिप्दै भनिन् – यहाँ फागु पूर्णिमा र योमरी पूर्णिमाको विशेष पूजा गरिन्छ। त्यो दिन भक्तजनको पनि धेरै भिड हुन्छ मैले बुझेर टाउको हल्लाए र बाँकी मन्दिरतर्फ बढें।
पनाैतीस्थित मुक्तिनाथ मन्दिर:
दर्शनका क्रममा हामी काभ्रको पनौतीस्थित मुक्तिनाथ मन्दिर पनि पुग्यौं। मुस्ताङको मुक्तिनाथ मन्दिर जान नसक्नेका लागि सहजरूपमा मुक्तिनाथको दर्शन होस् भन्ने उद्देश्यले यो मन्दिर काभ्रेको पनौतीमा स्थापना गरिएको रहेछ। उचाइमा बनाइएको १०८ धारा सहितको मन्दिरमा पुग्दा म भने मुस्ताङको मुक्तिनाथकै सम्झनामा डुबी रहेछु। पनौतीको मुक्तिनाथ मन्दिरको चिसो पानीले भित्रैसम्म चिसो अनुभूति गरिरहेको बेला रमाले ‘लौ न साथी फोटो खिचिदेउ’ भन्दा झसंग भएकी थिएँ म।
पुजारीबाट टिका-प्रसाद ग्रहण गरेपछि भजनमा नाचगान गरियो। शनिबार, सोमबार, र मंगलबार भक्तजनको विशेष भीड हुने यो मन्दिरमा मकर मेला, रामनवमी, शिवरात्री तथा श्रावण मास (महिना)मा विशेष पूजापाठ गरिने रहेछ।
बसमै यात्रा गरेर जाने हो भने काठमाडौंबाट मन्दिर पुग्न डेढ घण्टाको समय लाग्ने रहेछ। मन्दिर अगाडी जलको कुण्डमा जलेश्वर महादेवलाई पानीको फोहोराले जल अभिषेक गरिरहन्छ जुन अत्यन्त मनमोहक लाग्यो। १०८ धाराबाट निरन्तर जल बगिरहने र तल पनि पर्यटकका लागि झरना तयार हुँदै रहेछ। मन्दिरसम्म पुग्न पक्की बाटो भएकाले अलि कति पनि सास्ती हुँदैन।
पर्यटक प्रबर्दनका लागि स्थापना गरिएको यो मन्दिरमा गएर पर्यटकहरुले टिकटक बनाउने, मन्दिरबारे मिडियाको माध्यमबाट प्रचारप्रसार गर्ने हुँदा काभ्रेको पनौती क्षेत्र पर्यटकको रोजाइमा पर्न गएको छ।
धनेश्वर:
हामी पुगेको अर्को ठाँउ हो धनेश्वर मन्दिर। नाम अनुसार नै मन्दिरको प्राचीन कथा बहिनी लक्ष्मीले सुनाइन। शिव दास नामक एक गरिब व्यक्तिले धनी आफन्तको उपहास सहँदा सहँदै सन्यासी भएका थिए रे। पछि त्रृतु नामक रिषीको सल्लाह बमोजिम उनले धनेश्वरको प्रार्थना गरे र भक्तिको बदलामा धेरै सम्पत्ति आर्जन गरे रे। अनि भगवानको कृतज्ञता स्वरूप तीनै दासले यो मन्दिर बनाएको हुन रे। यसैबीचमा साथी रतीले भनिन्- ‘अर्को कुरा भगवान शिवले आफ्नो मृत पत्नीको शव बोकेर पृथ्वी घुम्दा यस स्थानमा सतीदेवीको दाहिने कान खसेको पनि सुनिन्छ है।’
बिचमै सावित्रीले मन्दिर भित्रको चाँदीको शिवलिंग देखाउदै भनिन- ‘हेर! यहाँको मुख्य वस्तु भनेको यहि पञ्चमुखी शिवलिंग हो। यो नेपालकै सबैभन्दा प्रशिद्ध शिवलिंग मध्ये एक हो।’
मन्दिर परिक्रमा गरेर श्रद्धा भक्तिपूर्वक पूजा अर्चना गरियो। पुजारी बाबाले दिएको चन्दन र प्रसाद ग्रहण गरेपछि मैले केही जिज्ञासा राख्दा उहाँले धन पूर्णिमा, वालाचतुर्दर्शी र महाशिवरात्रीमा विशेष पूजापाठ हुने र भक्तजनको पनि घुइचो लाग्ने बताउनुभयो।
अन्य दिन जहिले आए पनि भक्तजनका लागि सधै यो मन्दिर खुल्ला रहने जानकारी पाएर मन्दिरका अन्य मूर्ति भैरव, नारायण, लक्ष्मीनारायण, महांकाल, उममहेश्वर नन्दी र हनुमानको मूर्ति परिक्रमा गर्दै भूलद्वारबाट निस्किएर ६४ ऋषिको दर्शन गरी बस चढ्यौ। बस पूनः भक्तपुर तर्फ मोडियौ जहाँ १५औं शताब्दीमा निर्मित दत्तात्रेय मन्दिर छ।
दत्तात्रेय:
भक्तपुरको पूर्वपट्टी रहेको टचपाल टोलको सानो चोकबाट पूर्वी छेउमा निर्मित कलात्मक दत्तात्रेय मन्दिर पुग्दा आन्तरिक र बाहिय पर्यटकको बाक्लै उपस्थिति थियो। हेर्दै र बुझ्दै जाँदा १५ औं शताब्दीमा यो मन्दिर बनेको रहेछ। बडो चाखलाग्दो कुरा झन के भने- एउटै रूखको काठबाट शिव तपस्वीहरूका लागि विश्राम गृहको रूपमा बनाइएको मल्लकालीन धर्मशालालाई सम्पूर्ण देवताको अवतार ब्रह्मा, विष्णु र महेश्वर (शिव)को त्रिमूर्ति अर्थात साक्षात भगवानलाई दत्तात्रेयको नामले सम्मान दिइ मन्दिर स्थापना गरिएको रहेछ।
अत्यन्त प्रख्यात यस तपोभूमिमा प्रचिन कालमा निर्मित धर्मशालामा भारतबाटसमेत तपस्वीहरु आइ तप जप र साधना गर्ने गर्दथे। कतिपय त्यहीँ शान्ति भूमिमा सभाघिष्ठ हुन्थे। यति मात्र होइन अत्यन्त दिव्य ज्ञान प्राप्त गरेर फर्किएका कुरा ग्रन्थहरुमा पढ्ने गरेकी मैले मन्दिर पुगेर प्रत्यक्ष देख्न पाउदा अत्यन्त खुसी लाग्यो।
तत्कालीन समयमा एउटा सार्वजनिक विश्राम गृहमा धेरै संख्यामा यात्रा गर्ने पवित्र तपस्वी र महात्मा पुरूषलाई यस स्थानमा समायोजन गर्नका लागि बनाइएको खुल्ला हावादार हल र कलात्मक स्तम्भ सहितको निर्माणबारे केहि पर्यटकले आज पनि बुझि रहेको देखिन्थे। यो धर्मआलामा तपस्वीहरु महिनौं-वर्षौ दिनसम्म टिक्ने गर्थे भन्ने कुरा सुन्दा बाह्य पर्यटकले अचम्म मान्दथे। दत्तात्रेय र काष्ठमाण्डपको तुलनात्मक कथा बारे प्रष्ट भएपछि अत्यन्त प्रशन्न भइ बाह्य पर्यटकहरु फर्किरहेका थिए। सायद धेरै अध्ययन र अनुसन्धान अथवा यात्रा गरेर होला आन्तरिक पर्यटकभन्दा विदेशीहरु धेरै जानकार जस्तै देखिन्थे।
मल्ल राजा विश्व मल्ल र जितामित्र मल्लले आफ्नो शासनकालमा प्राचीन सत्तललाई दत्तात्रेय (त्रिमूर्ती)को पुजा गर्ने मन्दिरको रूपमा परिणत गरिएको कुरा स्थलगत अध्ययनका क्रममा छोटकरीमा बुझ्ने अवसर पाए। थोरै भएपनि यात्राको उपलब्धी ज्ञानमूलक र प्रत्यक्ष भएकोले अत्यन्त फलदायी लाग्यो।
गौखुरेश्वर
गौखुरेश्वर महादेवको मन्दिर धुलिखेलमा पर्दो रहेछ। यो पनि शिव मन्दिर नै हो। मन्दिर प्रवेशद्वारमा लहरै शिवलिंग बनाइएको छ भने मुख्य मन्दिरसम्म पुग्न भर्याङ बनाइएको छ। बीचमा सानो खोलेसोलाई संरक्षण गरिएको छ। यो खोलेसोमा निरन्तर कलकल पानी बगिरहन्छ। मन्दिर अगाडी विभिन्न देवीदेवता भगवान गणेश, ऋषि आदि लगायत कलात्मक मूर्तीले साजसज्जा गरिएको छ।
मूख्य मन्दिरमा पूजा अर्जना गरेपछि हामीले केही तस्विर खिच्यो र बाँकी सुन्दर, मनोरम दृश्य आँखामा सधैका लागि कैद गरेर भर्याङ उक्लिदै थियो। सानो नागदेवताको दर्शन गर्ने समय पनि जुर्यो। शिव मन्दिर भएकाले होला अथवा वरिपरि साना साना झाडी भएर होला त्यहाँ दिउसै नाग हिडेको देखेर सबैले उत्सुक भएर दर्शन गर्यौ र फटाफर गाडी चढ्यो। हाम्रो गाडी अर्को मन्दिरको गन्तव्यका लागि पुनः पश्चिम तर्फ नै मोडियो।
चण्डेश्वरी मन्दिर:
काभ्रपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको उत्तरी भागमा अवस्थित चण्डेश्वरी देवीलाई चामुण्डा, चण्डी, उग्रचण्डी या उग्रतारा आदि नामले जान्ने कुरा साथी सावित्रीले बताइन।
चण्डेश्वरी देवीलाई तान्त्रिक विद्यामा निपूर्ण भगवान देवी भनेर पनि जान्न सकिने रहेछ। अत्यन्त पूराना माटोका दुर्लभ मूर्तिहरु देखेपछि मन्दिरभित्रको केहि तस्विर खिच्न भ्याइ नभ्याइ थियो मलाई। पूजा र आशीर्वाद दिन व्यस्त पूजारी बाबाको आँखा कति छिटो म तिर घुमी सकेको रहेछ। उहाँले मन्दिर भित्रको सबै तस्विर तुरुन्तै मेटा भनेर हप्काउनु भयो। एकछिन त मेरो सात्तो नै गयो।
हतार हतार मैले सबै फोटो खोज्न थाले, त्यही बेला सावित्रीले आएर ‘आहा! कति राम्रो फोटा’ मात्र के भनेकी थिइन पुजारी बाबाले फेरी छिटो सबै मेटाउ भनेपछि साथीले सबै फोटा डिलिट गरिदिइन।
त्यसपछि क्यामेरा बाहिर राखेर म मन्दिरभित्र प्रवेश गरें, तबसम्म सबै साथीहरु मन्दिरभित्र पुजारी गुरू बाबासँग प्रसाद र आशीर्वाद लिन भ्याइ सकेर बाहिर निस्की सकेका थिए। म मन्दिरभित्र एक्लै परें।
त्यसैमाथि गुरुको हप्काइ खाएर डराएकी म मन्दिरभित्रको सबै मूर्ती छुन मात्र हतारिएकी थिएँ। मन्दिरको पूजा बारे पूरै अनभिज्ञ म एउटा सानो अवोध बच्चा जस्तै भित्र पस्नसाथ टपाटप मूर्ती छुन हतारिएँ। पुजारी बाबाले आफ्ना भक्तजनलाई आशिर्वाद र प्रसाद दिनै व्यस्त हुनुहुन्थ्यो। नत्र सायद भित्र फेरी पनि मैले हप्काइ खान्थे होला किनभने मैले त आत्तिएर उल्टो तरिकाले पो मूर्तीहरु स्पर्श गर्दै गरेको सानो बालकले देखि हाले।
उनै बच्चाले नबोलीकन मलाई यसरी पूजा गर्ने भनेर इशारा गरेपछि बल्ल होस् खुल्यो।
तिनी बालकसँग सरी भने र मूर्ती नियाँले। त्यहाँ निर्मित मूर्तिले सिंगो जीवनको नै झझल्को दिने रहेछ।
वास्तवमा त्यहाँको तस्वीर क्यामेरामा होइन आत्मभित्र कैद गर्नुपर्ने रहेछ। माताको मन्दिरभित्र दृश्य हेर्ने आँखा होइन परमात्माको दर्शन पाउने आत्मा चढाउनु पर्ने रहेछ भन्ने बुझेँ। विभिन्न कालखण्ड भोग्दै अन्त्यमा शन्ति पाउन घरभित्र प्रवेश गरिदो रहेछ।
मैले मौन बसेका बालककै इशारामा ती सबै मूर्तिको दर्शन गरे। फोटो खिचेर गाली खाइसकेकी म भित्रका मूर्ति दर्शन पछी पुजारी बाबासँग आशिर्वाद लिन डराइ रहेकी थिएँ। त्यसपछि मलाई इशाराले बोलाएर बडो धैर्यसँग भन्नु भयो- ‘सबै फोटो मेटाइस?’
मैले टाउको हल्लाएर ‘अँ’ भने। त्यसपछि भन्नुभयो ‘बाहिरको फोटो खिच्न पाइन्छ। खिचेर लैजाउ। भित्रको मात्रै भेटाइ दिनु।’
मेरो लागि यो पनि ज्ञान भयो कि-कुनै नौलो ठाँउ घुम्न गइन्छ भने त्यस बारे सोधपुछ गरेर, अध्ययन गरेर, महत्व बुझेर, तरिका जानेर गयो भने धार्मिक होस् या पर्यटकीय- यात्रा सफल हुन्छ। हैन भने गाली खाए पछि, सिकिने र जानिने कुरा पनि जीवनको आशीर्वाद हो।
प्रत्यक्ष अनुभवबाट सिकिने ज्ञान जीवनभर अमर रहन्छ, कहिले पनि मेटिदैन। त्यसैले होला ठूलाठूला शिद्ध माता र शिद्ध पुरूषबाट गाली खानकै लागि पनि मानिस सत्मार्गमा हिड्ने गरेको कुरा सुनेकी थिएँ।
चण्डी माताको दर्शन पछि भुक्त भोगी नै भए। ज्ञानी र कर्म योगी नै भएको महशुस गरेँ।
मैले आफ्नो भोगाइ तपाईलाई बताइ सकेकीले तपाई पनि यो ठाउँमा जानुस् र नयाँ भोगाइको अनुभव बटुल्नुस्। यो ठाँउको र यस मन्दिरको महिमा जति वर्णन गरे पनि नसकिने रहेछ।
नेवार समुदायको कूलदेवी अर्थात इष्टदेवीका रूपमा पुजिने चण्देश्वरी देवी सतातन हिन्दु धर्मावलम्बी तथा महायान बौद्ध धर्मावलम्बीका माझ आस्थाको रूपमा ख्याती रहेको कुरा बुझेँ।
इशापूर्व ५ओं शताब्दी तिरका दुर्लभ मूर्तिले मानवको रक्षा सूत्र बारे प्रत्यक्ष ज्ञान दिने रहेछ। त्यसैले त देवीलाई कूलदेवता मात्र होइन समग्र मानव जातिकै रक्षकको रूपमा पुजिंदो रहेछ।
तीन तल्ला रहेको कलात्मक ज्ञानवर्द्धक, यो मन्दिर नेपाली मौलिक प्यागोडा शैलीमा निर्माण भएको रहेछ।
यो लेखमा मैले काठमाडौं वरिपरिका चर्चित र शक्तिशाली मन्दिरको बारेमा लेखेँ। अर्को पटक छिमेकी चीन र भारत भ्रमणमा पुगेका मन्दिर बारे पनि लेख्ने छु र थोरै भएपनि जानकरी दिने प्रयास गर्ने छु।
Read More From Deokhurni:
Read More From Deokhurni:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com