मेरो ससुरोलाई मैले जीवनभरी हलो, कुटो र कोदालीसँग देखेँ। गोरू गाडा चलाउदै धानका बोरा ओसार्दै उहाँको दिन बित्थ्यो। कहिले लाग्थ्यो ८ सन्तान भएका मेरो ससुराले कति संघर्ष गर्नुभयो होला। आलु, मकै र धानबारीमा हृष्टपुष्ट जीवन कटाउनुभएको उहाँलाई कुनै रोगले छुँदैन थियो।
तर एक दिन ससुरा बुबा अधिक बिरामी परेको खबर सुन्नमा आयो। उहाँलाई चितवनबाट काठमाडौंको अस्पतालमा रिफर गरिएको रहेछ। मेरो परिवार र कान्छा देवरको परिवार काठमाडौंमा बस्थ्यौँ। ससुरो बा बिरामी भएको सुन्दा हामी सबै इन्तु र चिन्तु भयौ। सबैजना अस्पतालतर्फ होमियौँ। उहाँ निकै गलिसक्नु भएको रहेछ। रोगको व्यथाले बलियो शरीर कम्जोर भएको देखिन्थे। धन्न! केहि दिनको राम्रो उपचार पछि उहाँको स्वास्थ्यमा सुधार आयो। उहाँलाई डिस्चार्ज गरियो। केहि दिनको अस्पताल बसाइपछी ससुरा बालाई डेरामा ल्याउन पाउदा खुसी थियौँ।
ससुरा सन्चो हुँदै गरेको देख्दा खुसी थिए तर भित्रभित्रै आफ्नै व्यक्तिगत कुराले चिन्तित थिएँ। खासमा मेरो वि.ए. तेस्रो वर्षको अन्तिम परिक्षा चल्दै थियो। ससुराको खबरले कुनै तयारी गर्न सकेकी थिइन।
मन अटसमटस भएपछि उहाँलाई सुनाइ हाले, ‘बुबा, मेरो जाँच चलिरहेको छ। तयारी गर्न सकेकी छैन। हजुरले मलाई अब नपढ मात्र भनि दिनुपर्यो, म चटक्क छाडी दिन्छु।’
बिरामी ससुराको अगाडी के चाहिँदो नचाहिने कुरा भनेकी होला मैले भनेर घुप्ने मुन्टो लाएर जवाफ कुर्दै थिए। हप्काइ खान तयार म उहाँको मुस्कुराएको ओठ देखेर चकित भए।
उहाँले हास्दै भन्नुभयो, ‘तिम्रो पढ्न जाउ, पढ्दिन नभन। आजदेखि मेरो छोराले खाना बनाउछ।’
जवाफ सुनेर म अकमक्क परेकी थिए।
उहाँले थप भन्नु भयो, ‘खाना बनाएर उ सानो हुँदैन। तिमी पढ तिमीले गर्दा गाँउमा मेरो इज्जत नै अर्कै छ।’
यी वाक्य मलाई हजम भइरहेको थिएन। ससुरालाई औषधिले असर गर्यो क्या झैँ लाग्दै थियो। म मेरो श्रीमानलाई हेर्दै थिए। उहाँ पनि सरासर भान्सातिर पस्नुभयो। छोराहरुलाई हेरे- उनीहरू बेपर्वाह खेल्दै थिए। फेरी ससुरालाई आश्चर्य हुँदै हेरेँ।
मेरो एकटक टोलाइलाई साम्य पार्न उहाँ केही भन्न खोज्दै हुनुहुन्थ्यो।
‘म तिमीलाई गाउँको एउटा घटना सुनाउँछु,’ ससुरा बुबा खाटबाट उठ्दै भन्न थाल्नुभयो-
‘केहि महिना अघि गाँउको हाम्रो मिलमा मैले तेल पोखाँए। उपस्थित सबैले उठाउन आग्रह गरे। तर मैले उठाइन। एउटाले झोक्किएर प्रश्न गर्यो- यो कुन घरको बुढा हो? महिनौ पुग्ने यति धेरै तेल पोखिँदा पनि उठाउदैन त?
छेउमा उभिएको अर्कोले मेरोसट्टामा जवाफ फर्कायो। भन्छः यो बुढालाई के कमी छ र? एउटा छोरा पसले, अर्को छोराको आफ्नै मिल, कोही मास्टरसाब, कोहि विदेशमा कमाउछन्। यति मात्र हो र? यिनको बुहारी रेडियो नेपालमा काम गर्छिन्। बुहारी पनि छोरा जतिकै पढेकी छे रे।’
बुबाले मिलमा घटेको घटना सुनाउदै मलाई हेर्नुभयो। अनि भन्नुभयो, ‘हेर बुहारी! तिम्रो इज्जतले मलाई छाती फुलेर आयो। तिमी मेरो लागि भएपनि पढिदिनुपर्छ। अब मेरो इज्जतको लागि पनि जाउ पढ्न।’
मलाई थाहा थिएन मेरो ससुराका इज्जतका धान्नेमा बुहारी पनि पर्छन् भनेर। छोरी-बुहारी घर सम्हाल्नुपर्छ भन्ने चलनबीच ‘बुहारी तिमी पढ, मेरो छोराले खाना पकाउछ’ भनेको सुन्दा मलाई कस्तो लाग्यो होला? जन्म दिने बुबाबाट टाढा श्रीमानको घरमा आएर पनि छोरीभन्दा माथिको माया पाउदा गर्व महसुस भयो। मेरो ससुराप्रतिको माया र सम्मान झनै गाढा बनाइदियो ती कुराहरुले।
म मन लागि नलागि चुपचाप अर्को कोठामा पढ्न गए। कोठाको झ्यालबाट आएको मसिनो घामको किरणमा किताबकापी सेकाउदै म पढ्न थालेँ। थोरै समयमा धेरै मेहनत गरेर पढेँ। घरगृहस्थीलाई श्रीमानलाई सुम्पेर पढेँ।
ससुरा बुबाको आशीर्वादले होला मैले थोरै समयको मेहनतमा धेरै नम्बर ल्याएर बि.ए. पास गरेँ। पढ्नमै धेरै समय बिताउन थालेको कारण घरको व्यवहार चलाउन त्यति जान्दैन थिएँ। तर ससुरा बुबाबाट मैले परिवारमा समान व्यवहार गर्नुको महत्व बुझेँ। कसैको सित्तैमा खानु हुँदैन भन्ने ज्ञान पाएँ।
उहाँले पालेका गाइवस्तुलाई हेरेर माया के हो भनेर बुझेँ। सबैलाई प्रेम र इज्जतले हेरे दुँनिया बेग्लै हुने कुरा बुझेँ। जन्म दिने बुवा र ससुरा बुबामा केही फरक पाइन। ससुरा बुबाको व्यवहारले जीवनको गोरेटोमा हिड्न सिकायो। आज उहाँको कुरालाई सम्झिँदा लाग्छ कि मैले समाजबाट पाएको इज्जतमा उनको मलाई पढाउन चाह्ने हुटहुटीको ठूलो योगदान छ।
यी सिकाइ र अमूर्त यादलाई बाढ्न हजुर यो धर्तीमा हुनुहुन्न। तर हजुरको कर्म, प्रेरणा, माया, उत्साहले सबैलाई जीवन जिउने प्रेरणा मिलोस्। आखिर बुबा भनेको बुबा नै हो।
हजुरलाई कोटी कोटी नमन!

Read More on Father’s day:
Read More From Deokhurni:
मेरो जीवनको फैसला म अरुको सोँचमा लिन्न | Deokhurni | Letter To Myself
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com