मेरो जीवनको फैसला म अरुको सोँचमा लिन्न | Deokhurni | Letter To Myself

deokhurni offline thinker

मेरी प्रिय म

नमन् तिमीलाई

भनिन्छ मानिसको चोला पाउन चौरासी जन्म काट्नु पर्छ रे ।

हे प्रिय म ! सायद मैले यी सबै जूनी भोगीसकेर अहिले मानिस चोलामा जन्मिएको छु । अनि म ‘म’ नै भएर जन्मिएकोमा अत्यन्त भाग्यशाली ठानेकी छु आफूलाई । किनकी यो जूनीमा मैले धेरै अलौकिक विद्वानहरु र विज्ञसँग भेटने मौका पाएकी छु । उहाँहरूको सामिप्यमा रम्न पाएकी छु । यसको श्रेय म मेरा मातापितालाई दिन चाहन्छु । उहाँहरूले मलाई एउटा मानवरुपी चोलाको रुपमा मात्रै जन्माउनु भएको छैन, मलाई पाशविक व्यवहारबाट सधै टाधा राख्ने प्रयास पनि गर्नुभएको छ । उहाँहरूको प्रेरणाले मलाई साधुसन्त र विद्धतवर्गहरुको सामीप्यसम्म पुग्ने प्रेरणा मिलेको छ जुन प्रेरणा सदा मेरो जीवनमा पथप्रदर्शक मार्गको रुपमा रहेको थियो, रहेको छ र रहिरहने छ ।

हे प्रिय म !

म ‘म’ नै भएर जन्मिएकोले मैले नयाँ नयाँ काम गर्ने, नयाँ नयाँ ठाउँमा घुम्ने, नयाँ नयाँ सिर्जना गर्ने अवसर सानै उमेरदेखि नै पाएकी छु । मेरो जूनीलाई साकार पार्ने तत्वहरु यिनै हुन् भनी मैले ठानेकी छु । मैले जीवनमा सिकेका आध्यात्मिक र विद्धत्व कुरा म जहिले अरु सामुन्ने व्यक्त गर्न चाहन्छु । तर अरुले मलाई विश्वास गर्दैनन् किनभने आजको विश्व एउटा मोबाईल भित्र हराएको छ । यहि विकासका कारण मानिस खुम्चिँदै गएर एउटा मोबाइलको वरिपरिमात्र झुम्मिएर बसेको छ । उसले केही जानेको छैन भनेर मैले भन्न खोजेको होइन । अहिलेको मानव दुःख गर्न रुचाउदैन ।

संसार ठूलो छ र संसार घुम्दा दुःख हुन्छ भन्ने उसलाई भ्रम भएर होला । सायद उ जहाँ छ त्यहीं हराउन खोज्छ । मानिसका आँखा केवल भौतिक विकास अनि रंगीन दुनिया हेर्न चाहन्छ । अप्राकृतिक रासायनिक रंगीन दुनियाँलाई प्राकृतिक दुनियासँग तुलना गर्न कहाँ मिल्छ र ? यति त सबैलाई ज्ञान छ तर पनि मोबाइलकै रंगीन दुनियाँमै रम्न मान्छे रुचाउँछ किनकि मोबाइलको दुनियाँ छिटो छ, छोटो छ । एकै स्थानबाट संसार घुम्न सजिलो पनि छ । त्यसैले आजभोलि अरुसंग आफूले प्राप्त गरेको ज्ञान बाँड्नलाई ज्ञानीले पनि साहस गर्दैनन् । अनि म पनि ।

हे प्रिय ! म यो वास्तविकता आजभोलि केवल तिमीसँग साट्न मन पाराउछु । मानिसको तिरस्कार बहिस्कार जस्ता नकारात्मक कुरादेखि म निक्कै टाढा बस्न मन पराउन थालेकी छु । त्यसैले प्रिय मेरी ‘म’, आजभोली मलाई तिमीसँग जीवन निर्वाह गर्न अलिकति पनि बोरिङ भएको छैन ।

मेरा आमाबुवा तथा शिक्षादिक्षा दिने गुरूहरुबाट मैले अनुशासनको पालना, कर्तव्यबोध, र जीवन जिउने प्रशस्त कला सिकेकी छु । शिरमा बज्रपात भएपनि केही फरक परेन र पर्ने छैन । मलाई यो जूनी अति उत्कृष्ट लाग्दैछ । म अहिले जे छु, त्यो सबै तिम्रै गुणकै कारणले हो प्रिय । आज म तिमीलाई भन्न चाहन्छु, हे प्रिय मलाई यो पनि ज्ञान छ कि सुनको लंका, पुषपक विमान रावणसँग थियो, रामले त वनवास नै देखे । राजपाट कंशसँग थियो, कृष्णले त जेलमा जन्म लिएका थिए । राजमहलमा कौरव रहन्थे, वनबास पाण्डवलाई भोग्नु पर्यो । राहुकेतुले अमृत पिउदा पनि उनी राक्षस नै हुन्, शिवले विष पिउदा पनि देवका देव महादेव नै हुन् । त्यसैले त हामी शिव, राम, र कृष्णलाई पुज्छौ । राहुकेतु, रावण, कंश आदिलाई पुज्दैनौं । हे प्रिय, त्यसैले मैले यही कुरा बुझेकी छु, जब हाम्रा भगवानका जीवन त सरल थिएन भने म त एउटा साधारण मनुष्य हुँ । तर हे प्रिय मेरो जीवनमा संघर्ष नै लेखिएको छ भने म साधारण पक्कै हैन ।

त्यसैले मेरो जीवनको फैसला म अरुको सोँचमा लिन्न । किनभने अरुले बढीमा चार पाँच दिन या वर्षदिनसम्म मात्रै मेरो लागि सोच्छ होला ।  अनि मलाई जीवनभर रुनुपर्नेछ भनेर मलाई गुरुहरुको सामीप्यले सिकाएको छ । त्यसैले मेरो जीवनको रिमोट कन्ट्रोल मैले मेरै हातमा लिएकी छु । भगवानले मलाई बुद्धि दिनुभएको छ । अरू कुराले मलाई केही असर गर्दैन किनभने एकदिन मैले भगवानसँग आफ्ना कमजोरी सुनाए अनि भगवानले मलाई हास्दै भन्नु भयो, ‘खोइ त तैलै आफ्नो दिमागले सोचेकी ? मैले त तलाई दिमाग दिएको थिएँ । यदि अरुको बोलीले जीउनु छ भने तँ आफै सोच् । म त तैले आफैले सोचेको हेर्ने चाहन्छु । पशुसँग त सोच्न शक्ति छैन । सोच्ने शक्ति त केवल मनुष्यसित छ । तँ मनुष्य होस्, आफ्नो सोचको प्रयोग गर्ने गर् ।’ अनि मैले सोच्दै छु— सही हो भगवान, त्यसै त पशु र मनुष्यमा फरक रहेनछ । त्यही पशुको जीवनलाई पशुको पति बनाउन मलाई गुरुले नै मद्द्त गर्नु भएको हो । मलाई यही कुराको ज्ञान भयो कि देश कसले चलाउछ ।  त्यो अरुले भोट दिएर चुन्छ । तर मलाई चलाउन म आफै काफी छु । त्यसैले मलाई आनन्द लिनु छ आफ्नै भित्री मनको । सबैको भित्र भगवान छन् । हरेक आत्मभित्र दैविक, देहिक, र भौतिक ताप हुन्छ । भगवानको कृपा भए मानिसको तिनै ताप खुल्छ र असली रूप देखिन्छ । त्यसैले म सदा गुरुहरुमाथि विश्वास गर्दछु । आफ्नो परमात्मासँग संवाद गर्दछु । त्यसैले हे प्रिय, म सकैको लहै लहैमा लाग्न सक्दिनँ ।

लौ त प्रिय, तिमीसँग यिनै वाचा गर्दै केही शब्द यहि टुंग्याउछु । तिमीले मलाई सदा आशीर्वाद र कृपा गरिरहनु ।

उही तिम्रो प्रिय,

‘म’

 

Read More From Deokhurni:

झोर झरना पुगेपछि हामी चाँहि हेरेको हेरै | Jhor Jharana | Travel | Nepal

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *