नतमस्तक निदरीमा भयले झसक्क झस्काएको बेला
हराएको बेला, डराएको बेला
समयको वेगले कोसौं टाढा पुर्याएको बेला
यी अवोध र कलिला ओठले कहिल्यै बा भनेनन्
र त तिमी ओझेलमा पर्यौ बा
किनकी आमालाई धर्ती मान्नेले
बालाई विशाल हृदयको आकाश कहिल्यै मानेनन् । ।
मेरा दुई चार शब्दले तिम्रो ओझेल छेक्नु त नसक्लान्
पीडामा पिल्सिएर भित्रभित्रै बगेका तिम्रा आँसु पुछ्नु त नसक्लान्
तर जीवनले सास फेरून्जेल, आत्माले आँट गरुन्जेल
ती पिल्सिएका आँसु कम गर्न म हरेक कोसिस गर्नेछु
बस् तिमीले यति याद राख्नु कि
अस्ताउनु लागेको सूर्यले प्रचुर रोसनी छर्छ भनेर
आँसु पीडामै बगेपनि फिनिक्स (पक्षी) को आँसुले गहिरो चोट भर्छ भनेर
सानोमा सानोभन्दा सानो चोट लागेका बेला
रुँदा रुँदा बेहोसिएको बेला, अनि बेहोसी पछि होस् पलाएको बेला
सपनीमा रमाउँदा रमाउँदै पहाडको अग्लो छाँगाबाट खसेको बेला
यी अबोध र कलिला ओठले कहिल्यै बा भनेनन्
त्यो नाबालक बा भन्दै रोएको कहिल्यै सुनिएन
चोटको पीडामा ‘अैया बा दुख्यो’ भन्दै कराएको कहिल्यै गुन्जिएन
र त तिमी ओझेलमा पर्यौ बा
न कविको कवितामा, न बालकको रूवाईमा
न त पर्यौ चोटको दुखाइमा ।।
तिमीलाई समाजले कठोर माने पनि तिमी कठोर हैनौ
किनकी कठोर भन्दा कठोर मरूभूमिमा पनि
मगमग बासनादार फूल फुलेको देखेको छु
कुना कन्तराको चट्याङ फाँडेर पनि
पिपल पलाएको देखेको छु
अनि काडैकाँडा बीचमा पनि सुन्दर फूल फुलेको देखेको छु
तिमीलाई कठोर मान्ने समाजलाई परिवर्तनको मोडमा मोडिरहेछु
सकारात्मक सचेतनाको आशमा म एक सासभाव छोडिरहेछु आशाको
किनकी आशाले जस्तोसुकै मरूभूमिमा पनि रूख उमार्न सक्दो रहेछ
आशाले समुन्द्रमा पनि बस्ती बसाल्न सक्दो रहेछ ।।
बस् केही समय हार नमानीदिनु कठिनाइदेखि
जिन्दगीले दिएका आँसु र पीरका ओझेलपनदेखि
हारका भावहरूले मनमा बास गरेका बेला,
आफू ओझेलमा परे जस्तो लागेका बेला
ताराहरूको भिडमा हराएको एक्लो जुन सम्झनु
दुनियाँ उज्यालो पार्ने जुनको मुस्कान सम्झनु
हुन त जिन्दगीले दिएको प्रिको, संसारले पारेको आझेलको खण्डमा
मेरा दुई चार शब्दका भिडले ओखतीको काम त नगर्लान्
हलो कोदाली समात्ने तिम्रा हात काँपेका बेला
उकाली ओराली गर्दा तिम्रा पाऊ थाकेका बेला
ती शब्दका भिडले मलम बनि घाउ त नभर्लान्
तर तिम्रो हृदयमा निभ्दै गरेका
आशाको दियो बचाउन गर्नेछन् सामना
आज तिम्रो मुख हेर्ने दिन रे बा
संसारभर छरिएका सन्तानबाट
संसार भरि नै छरिएका सम्पूर्ण बा प्रति
कुशे औंसीको लाखौंलाख शुभकामना ।।।
Read More Nepali Poem on Father’s Day:
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

