बुबा | Nepali Poem | Father’s Day | Nawaraj Parajuli

Nawaraj Parajuli

बुवा, तपाईंले सुरुसुरुमा हलो समात्दा
तपाईंको हातमा पहाड नै उचाल्न सक्ने बल थियो,
तर आज तपाईंको हातमा त्यहि पहाडबाट बग्दै आएको पानी अञ्जुलीमा अड्याउन सक्ने बल पनि छैन।
यत्तिका वर्ष सम्म तपाईंको हात हलोको अनौसँग रगडिँदा रगडिँदा
तपाईंको हातका भाग्य रेखाहरु त हलोको अनौमा छापिसक्यो होला है,
अब भाग्य हेरिदिने ज्योतिषलाई के देखाउनुहुन्छ बुवा?
आफ्नो हात देखाउनुहुन्छ कि हलो देखाउनुहुन्छ?
तर म चाँडै आउँदैछु भिजेको त्यही तपाईंको छातीमा निदाउन,
किनकी बुवाको छातीमा एक मिनेट मात्र निदाउन पाइयो भनेपनि एक जुनीलाई पुग्ने सपना देख्न सकिन्छ।
तपाईंले आजसम्म चुहाएको जम्मै पसिना जम्मा गरेर
एकैपटकमा छ्यापिदिने हो भने त सूर्य नै चिस्याउन पर्याप्त हुँदो हो।
चिसो मौसममा तपाईंले सँधै ढाडमा चिसो मल बोक्नुभयो
र त मैले सँधै पेटमा तातो चामल बोक्न सकेँ,
चिसो मौसममा आफ्नो चिसो हातले चिसो बन्चरो समातेर तपाईंले रुखका चिसा ठुटाहरु फुटाउनु भयो
तपाईंले नै चिरेको दाउराहरु बालेर मैले अघाउन्जेल आगो खाइरहेँ।
तपाईंले नै फुटाएको दाउराहरु बालेर मैले अघाउन्जेल आगो खाइरहेँ।
चिसोको भिँडले मेरो ओठसमेत फुटाउन सकेन,
तर बन्चरोको बिँडले तपाईंका औँलाहरु फुटाइरहे।
तपाईं आफैले चिरेको झिँझै झिँझा भएको दाउरा हेर्थे म
र फुटेका तँपाइका औँला हेर्थेँ,
झिँझै झिँझा भएको दाउरा हेर्थे ,
फुटेका तँपाइका औँला हेर्थेँ,
झिँझा दाउरा हेर्थे, औँला हेर्थेँ ,
ठ्यक्कै उस्तै देख्थेँ।
फलाममा ठोक्किएर गोरुहरुलाई फाली लागेको बेला
तपाईंले कोदालोले नै खनेर खेत रोप्न मिल्ने मेलो बनाइदिनु भयो,
पैसामा ठोक्किएर जिन्दगीलाई फाली लागेको बेला
तपाईंले मेरो भविष्य रोप्ने मेलो बनाइदिनुभयो।
मेरो छोराको भविष्य चम्किलो होस् भनेर
तपाईंले डोकाका डोका मल आकाशतिर छर्किदिनुभयो होला है,
त्यसैले त बुवा आजभोलि आकाशमा चम्किला फलहरु फलेका छन्।
मलाई र दिदीलाई सिङ्गा-सिङ्गै पेन्सिल किनिदिनु नसक्दा,
तपाईंले एउटै पेन्सिललाई बिचमा काटेर दिदीलाइ सधैँ मेट्ने नभएको तल्लो भाग दिनुहुन्थ्यो,
मलाई सधैँ मेट्ने भएको माथिल्लो भाग दिनुहुन्थ्यो।
बुवा तपाईंलाई त्यति खेरै थाहा रहेछ है मैले भविष्यमा धेरै गल्तीहरु गर्नेछु भनेर।
हाम्रो घर माटोको थियो
घर भित्र घरै घरहरु थिए,
किराहरुको, फट्याङ्ग्राहरुको,
तपाईंले एक्लै बोकेर सार्नुभएको थियो रे दुःखनगरको हाम्रो घरलाई आशानगरसम्म।
तपाईंको काँध यसरी फुटेको थियो रे,
जसरी मेरो ग्राफ कापीका धर्काहरु फुटेका हुन्छन्।
सबैको दुःख बोक्ने त्यत्रो बल कहाँबाट ल्याउनु भयो?
तपाईंले चेपिरहने बलवान् छाप्कनीबाट
म चाँडै आउँदैछु बुवा तपाईंको त्यही काँधमा मेरा गाला राख्न,
जुन काँधमा बसेर कुनै दिन मैले खुट्टा हल्लाउँदा थाहा पाएको थिएँ कि यदी जिन्दगी भरी मसँग मेरो बुवाको काँध हुने भए,
म जिन्दगी भरी सँसार भरिकै सबैभन्दा अग्रमा चिन्निने थिएँ।
म चाँडै आउँदैछु बुवा तपाईंको तिनै औँला पक्डेर फेरि घरबाट टाढासम्म हिँड्न,
मैले ताते-ताते गर्दा मेरो गोडा गलेका बेला तपाईंले मलाई बोकेर घर फर्काउनु हुन्थ्यो रे,
यसपाली मलाई जान्नु छ तपाईंसँग म हिँड्दा तपाईंका गोडा थाकेपछी म बोकेर फर्कन सक्छु कि सक्दिन।
मलाइ बिच्चमा बदाम भएको एउटा बिस्कुट अनि रातो बरफ किन्न तपाईंसँग एक रुपैयाँ नहुँदा,
तपाईंले आफ्नो गोजीभित्रको गोजीपात्रोभित्र दुमो राखेको
रु १ को नयाँ नोट पनि बेच्नु भएको थियो,
आज बुझ्दै छु बुवा कि बुवा भनेको त्यो मान्छे हो जस्ले आफुसँग भएको अन्तिम चिज पनि सन्तानको लागि बेचिदिन्छ।
म चाँडै आउँदैछु बुवा तपाईंलाई बुवा शिर्षकको यहि कविता सुनाउन,
किनकी बुवा आफैमा जीवनको पहिलो कविता हो।

-Nawaraj Parajuli

Poem Courtesy: Nawaraj Parajuli (https://youtu.be/N0LzpbFXCa4?t=120)

 

 

Read More at Offline Thinker:

मरेको मानिसले पछाडी फर्केर……..| Buddhisagar | Offline Thinker

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *