बाबुको बारे कविता गीत कसैले लेखेन
आमाको माया सम्झिदै गर्दा बाबुको देखेन
सन्तान भनी बाबुले आफ्ना सपना भुलेर
प्रशंसा गर्न सकेनौं किन हामीले खुलेर ।।।१
सन्तान सम्झी लडेको हुन्छ अनेक दुःखमा
हुर्किन्छ बच्चा आमाकै नाम जपेर मुखमा
बाहिर गर्छ बाबुले काम आमाले चुलोमा
सबैला संगै नखोज जोख्न एउटै तुलोमा ।।।२
जन्माइ कुनै आमा नि हिड्छे नालीमा फालेर
श्रीमती अन्तै गएनि बाबु बस्दछ पालेर
बाबुको माया पाएर बच्चा हुर्केर बढेर
लाएक हुन्छ बाबुकै खर्च लिएर पढेर ।।।३
प्रशव पीडा नभोगे पनि अनेक सहेर
लुकाइ पीडा हाँसेर हिड्ने बानी त्यो भएर
भएसी बाबु कसरी सोँच्नु पर्दछ भनेर
आफैले तिमी भोगेर हेर बाबु त्यो बनेर ।।।४
महान हुन्छ आमाको रुप भनेर बुझायौ
बाबुको केही महत्व छैन जसरी सुझायौ
आमा र बच्चा दुबैको रक्षा आर्थिक पनि त
बाबुको पनि महत्त्व आफ्नै ठाउँमा छ नि त ।।।५
एउटै रथ पाङ्ग्रा ती दुई बाआमा बुझेर
समान सम्झी राखौं न सधैँ हामीले पुजेर
बाबुको पीडा सम्झने शक्ति देउ न देउता
चल्दैन विश्व बाआमा मध्ये नभए एउटा ।।।६
आमाले माया देखाइ गर्छे बाबुले जानेन
लुकेको माया माया हो जस्तो सन्तान ठानेन
पढेर आयो बुझेर आयो आमाको बारेमा
शास्त्रमा चर्चा बाबुको भन्दा मामाको बारेमा ।।।७
बाबुले बाटो देखाइ दिन्छ सन्तान हिडेको
घरको रक्षा गर्नला सबै संग नि भिडेको
बाबुले रक्षा गरेको हुन्छ बाहिरी जगत
देखायौ सधैँ आमाको मात्रै बगेको रगत ।।।८
हरेक दिन पसिना भरी रगत झारेर
सजिलै आज भन्दिन्छौ तिमी माया नै मारेर
बाबुको बारे लेख न केही कविले राज त्यो
गाउनु पर्यो महान बाबु भनेर आज त्यो ।।।९
अन्यथा आज नसोंच आमा बाबुला लेखेर
महत्व उस्तै बाबुको पनि छोराले देखेर
आमाको माया पाई नै राखौं बाबुको पहिले
यी मेरा बाबु यो मेरो लागि महान जहिले ।।।१०
Read More on Father’s Day:
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

