हृदयमा लेखिएर पानामा उतार्न नसकिएको प्रेमपत्र, संसारकै सबैभन्दा सुन्दर साहित्य हो । प्रेमको उच्चतम अभिव्यक्ति हो । तर जब ती शब्दमा उतारिएर पत्रमा बुनिन्छछन्, त्यहाँ आलंकार मिसिन्छ । त्यहाँ अनेकन अपेक्षा मिसिन्छ । प्रेमिकासम्म पुग्दा त्यहाँ धैर्यताको परीक्षा मिसिन्छ । त्यसैले प्रेमपत्रहरु सक्भर नलेखिएका राम्रा !
हृदयमा लिखित प्रेमपत्रले न कसैको सिमा नाघ्छ, न कसैको साथ मिच्छ । यद्यपी आफ्नै मुटु भने बेस्मारी खाइरहेको हुन्छ । सबैकुरालाई बन्धकी राखेर, नलेखिनुपर्ने प्रेमपत्र तिमीलाई टक्र्याउन लागेँ । बाँकी तिम्रो हातमा !
”
हे माया नगर्ने मायालु,
मलाई तिमीले नै सिकाएकी हौ, माया त पानी जस्तै हुन्छ जसले आफ्नो बाटो आफै बनाउछ । फेरि भन्छन् नि पानीले भिरालो खोज्छ भनेर ! मेरो मायाले पनि त्यस्तै मुस्किल बाटो रोजेछ क्यारे ! यात्रा जति लम्बिन्छ गन्तव्य झन टाढिँदै जान्छ । म त यात्रामा थकित, गलित र लाचार जस्तै भएको छु । बाटो बिराएको बटुवा जस्तै ! यद्यपी बटुवाको आफ्नै प्रेमको परिकल्पना र दर्शन भने अझै हराउन सकेको छैन ।
बटुवाको बुझाइमा प्रेम, घामको पहिलो किरणपछी हराइ जाने शितको थोपा जस्तो कहिल्यै नहोस् । केही समय आफ्नो अस्तित्वले संसार ढाके पनि केहि समयमै फारि हाल्नुपर्ने कुहिरो जस्तो पनि कहिल्यै नहोस् । माया बरु अपहेलित होस्, अपमानित होस्, अपेक्षित होस् चल्छ । गज्जब चल्छ । बस, मौसमी नहोस् ।
माया नगर्ने मायालु,
आफ्नै वरिपरि हेर न । तिम्रो परिवेश, आस्था, विचार, सोचाइ, परिस्थिति, संगत र सारमा जीवन नै कति फेरिएको छ । सारमा परिवर्तनको अर्को नाम न हो ‘जीवन’ । तर सबै फेरिएर पनि तिम्रो जीवनमा स्थिर भएर अडिएको म मात्र न हुँ । पाखा लगाउन चाहेर पनि कतै नहुत्तिएको म मात्र न हुँ ।
म त तिम्रो प्रेममा अडिएको त्यो मौलो हुँ, जुन तिम्रो प्रेमको राप, ताप र अनेकन मौसम झेलेर पनि यथास्थानमै अडिन अभिशप्त छ । जहाँ हर क्षण मेरा संवेदनाहरु बली चढछन् । जुन तिम्रा यादहरुको लहरले सदैव ओतप्रोत रहन्छ। दुनियाँ अस्थिरताको खरायो दौडमा व्यस्त छ । म तिम्रो प्रेमको स्थिर कछुवा दौडमा मस्त छु ।
माया नगर्ने मायालु,
कहिले कवितामा तिमीलाई दुलही जस्तै चट्ट सजाएर हरेक हरफमा भाका र लय समातेर मेरो कल्पनाको संगीत भरी म त्यसैमा तिमीसंग नाचिरहेँ । कहिले कथाकी पात्र बनाएर तिमीलाई पानामा भरी सँगै हिडाइरहेँ । मेरो कल्पना र साहित्यको उदगम स्रोत तिमी हौ । साच्चै: साहित्यमा तिमी भूपिको कविता हौ । हेरेपछि, बुझेपछि मनबाट निकाल्नै नसकिने ।
मरितरी तिमी र म बिच धेरै ‘फेज’ गुज्रिए । कहिले तिम्रो अगाडि म सधैं लालुपाते मात्रै भएर फक्रें । सूर्यमुखी जसरी फक्रन कहिल्यै चाहिन या भनौं सकिन । कहिले दुवै जुन र चन्द्रमा भयौं । त कहिले जुन र घाम । कहिले गौथली र गुँड जस्तो ‘फेज’ पनि गुज्रे । यद्यपी म सँग बाँकी केही गुनासा छैनन् । किनभने प्रेम गर्नेले गुनासो गर्दैन । गुनासो गर्नेले प्रेम गर्दैन । निस्सरता र पराजयको विभत्सताको खडेरीमा आशाको बादल कुर्ने क्षमता हुनेका लागि हो प्रेम ! बाकी फगत तुवाँलो कुर्नेहरु प्रेमको पराजयमा स्वयम् बढारिन्छन् ।
हे माया नगर्ने मायालु,
अब, बाँकी लेख्नु के? नलेख्नु के ! शंकर लामिछानेले भनिदिएकै छन् “हामीले अभिव्यक्त गर्न चाहेका कुरा पूर्णतया अभिव्यक्त हुँदैनन् । ती जो हामी सृजना गर्छौ ती स्पष्ट भएपनि कल्पित छन् या यथार्थ होइनन् ।” खैर! यो पाली पनि प्रेमपत्र यस्तै पुरै अधुरै भयो । नलेखिनुपर्ने लेखियो । लेखिनुपर्ने लेखिएन ।
बाँकी तिम्रै हातमा !
Read More From Suman Bhattarai:
-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai