यी सहरका साघुँरा र चिसा गल्लीहरुमा साँटिएका यादले बेलावखत शरीर नै चिस्याउँदो रहेछ। तर शरीर चिसो भएता पनि, यादहरु सधैँ उस्तै न्याना कसरी हुँदा हुन्? आज धेरै पछि जिन्दगीमा सबै कुराबाट हारे जस्तो लाग्दैछ!
म जस्तै सोँचले पिरोलिएका, जिन्दगीको दौडले थाकेका मान्छे कसरी जिउने आधार खोज्दा हुन्?
गाउँ छाडेर सहर पसेको बिजयको मनमा वर्षौँपछि यस्ता कुराले मन ढाकेको छ। विगतमा साथीको हुलमा रम्ने उनी वर्तमानमा एक्लिएका छन्। साथीभाइको बहकाउमा विरलै एकदुई पेग हान्ने उनी अहिले पियक्डड भएका छन्।
उनलाई कुनै बेला हराभरा लाग्ने उही सहर बिरानो लाग्न थालेको छ।
***
बिजयका तीन मिल्ने साथी थिए। अमृत, केतन र सुरेश। एक दिन अमृतले बिजयलाई फ्याट्ट भनेको थियो, ‘ओइ, बिज्जु! जे पर्ला पर्ला! आइज, आज झ्याप भइदिउँ।’ बिजयको निकनेम थियो -‘बिज्जु’। सबैले ‘बिज्जु’ भनेर चिन्थे।
अमृतको आग्रह सुनेर केतन र सुरेश उत्साहित भइहाले। र चारैजना रक्सी पिउन हिँडे।
यो घटना केही वर्ष अघिको हो। पहिलोपल्ट भट्टीमा साउनीसँग रक्सी मगाउँदा विष किनेर पिएझै डराएका थिए सबै।
छिनभरमा अमृतलाई रक्सीले छोइहाल्यो। नशामा मग्न हुँदै उसले स्वरसंम्राट नारायण गोपाल र फत्तेमानको गीत खुब गाएको थियो। बाँकी तीन अमृतको बेतालको सुर सुनेर मुर्छा पर्नेगरी हाँसेका थिए। उनीहरुको गफ र हाँसो त्यस रात घण्टौँसम्म गुन्जिएको थियो।
त्यसपछि महिनादिनको अन्तरालभित्रै सबै एकअर्काबाट टाढिए। सबैको आफ्नै बाध्यता र पीडा थियो। केतन मास्टर बन्न गाउँ फर्कियो। अमृतले बिहे गर्यो र तराईतिर अलप भयो। सुरेश रोजगारीको लागि विदेश हानिए। बिज्जु भने ठूलो सहरमा भिजिरह्यो। जसोतसो सानोतिनो काममा आफूलाई अल्मलाइरह्यो। जिन्दगीको गुजारा टार्दै गयो।
तर जति दिनरात काट्न थाल्यो, ऊ त्यति एक्लै खोक्रिदै गयो।
****
ढल्दै गरेको सूर्यले पश्चिमी आकाश रङ्ग्याउँदै थियो। ओछ्यानमा ढल्किरहेको बिज्जु जुरुक्क उठ्यो। सर्टको टाँक मिलाउँदै कोठाबाट बाहिरियो। कोठाबाट तेस्रो गल्लीमा भएको उही पुरानो सानो कुचुक्क परेको भट्टीमा पस्यो। दैनिकजसो देखापर्ने यस ग्राहकलाई साउनीले परैबाट चिनिन्।
‘हिजो किन आइनस् बिज्जु?’कम्मरमा सेतो पटुकी बाधेकी, गुन्योचोलो लगाएकी २९ वर्षीया गुरूङ्नी साउनीले प्रश्न सोधिन्।
‘अब म रक्सी छोडिदिन्छु फुलमति, बुझिस्!’, बिजय बेग्लै जोसमा थियो।
‘छोडिस् तैंले! रक्सी छोडेर के खाने बिचारमा? कि सहर छोडेर भाग्ने बिचार गरिस् हँ?’, दराजभित्रबाट एक बोतल रक्सी झिक्दै फुलमतीले जिस्क्याई ।
‘माया पिरिममा परेँ नि हौ…म त’, रक्सीको गिलास आफू सामु सार्दै बिजयले ठट्याउली भाकामा भने।
‘माया पिरिममा पर्न तँलाई कुनै केटीले पत्याउनु नि पर्यो नि पहिला!’, यति भन्दै फुलमती हास्दै भान्सा कोठा पसीन्।
‘तँ छेस् नि पत्याउने।’ बिजयले गिलासमा रक्सी खन्याउदै बोले, ‘पिरिम गर्दिनस् र मलाई?’
‘यस्तो कुरा नगर है मसँग फेरि। मात्तिएछस् क्या हो?’, मुर्मुरिदै फुलमती बाहिर आइ। बिजय हाँस्दै रक्सी पिउन थाल्यो। उसको लागि फुलमतीसँग यसरी जिस्किनु सामान्य कुरा थियो।
केहि बेर अघिको रङ्गिन आकाश कालो हुँदै थियो। अध्यारो मन लिएर मानिस भट्टी छिर्ने क्रम जारी थियो। भट्टीभित्र सबै रक्सीको मिठासमा रम्दै थिए। थोरै रक्सी, थोरै सितन र धेरै दुखदायी कथाले भट्टी भरिदै थियो।बिजय बसेको टेबल पछाडी एक जमात युवा ठीटाहरू बसिरहेका थिए। आफ्नो कुरा सुनाउने कोही नभेटेपछि उनीहरूकै गफ सुनिरहेको थियो बिजय।
‘हेर, केटा हो! मैले जिन्दगीमा धेरै ठक्कर खाएँ, सयौं समस्यासँग ठोक्किए, कत्तिलाई कुटेँ,थर्काएँ। केहीसँग सँग आत्मियता गाँसे, कति सम्बन्ध छुटे। तर.. तर मैले कहिल्यै हार मानिन केटा हो! यो रक्सीले जिन्दगीसँग जुध्न खुब हिम्मत दिलाउँदो रैछ, बुझिस केटा हो! अझ धन्न तिमेरु जस्ता पिउने साथी छ। नत्र यो जिन्दगी कति फिकाफिका हुँदो हो” टेबुल समुहको नाइकेले यति भनेर गिलास रित्यायो।
अन्य सबैले हो मा हो मिलाउदै चुरोट सल्काए र धुवाँको मुस्लोमा आआफ्नो गम भुलाए। यता बिजय पनि अलिअलि मात्तिदै थियो । यत्तिकैमा मैलो कमिज र टोपी लगाएको अर्धबैंसे जड्याहा हल्ला गर्दै भट्टी छिर्यो।
‘एउटा भट्टीमा टिल्ल भएपछी, किन अर्कोमा छिर्छन् यी जड्याहाहरु?’ फुलमती नयाँ ग्राहकलाई इंकित गर्दै भुत्भुत्याउन थाली। बिजय भने कुकुरको तीखो भुकाइले झसंग झस्कियो। भर्खर भट्टी पसेको अर्धबैँसे जड्याहाको अनुहार नियाल्न खोज्यो। देखे-देखे मान्छे झै ठान्यो तर ठ्याक्कै ठम्याउन भने सकेन।
‘ए श्याउनी! अलि…कति! इ….त्ति रौसि देउ न।’, लर्खराएको पाइलासँगै लर्बराएको जिब्रोले साउनीसँग रक्सी माग्दै थियो त्यो अर्धबैँसे जड्याहा।
फुलमतीले झर्किदै थर्काइ, ‘कत्ती घिच्नु परेको होला! जा बस् त्याँ!’
फुलमतीले एक बोतल रक्सी उसको टेबुलमा टक्राई। उसले गिलासमा रक्सी खन्यायो। तर यसरी खन्यायो मानौं उसले आफ्नो रिस खन्याउदै छ । आँखा झिमिक्क नपार्दै एक घुट्कोमा उसले एक गिलास रक्सी खलास पार्यो। उसले रक्सी यसरी पियो मानौँ उसले अमृत पिएको हो। यसरी पियो मानौँ ऊ निकै रुक्खिएको थियो।फेरी गिलास भर्दै उसले अर्को घुट्को पियो। मानौं उसले दुःख भुल्न पिउदै छ। अर्को घुट्को यसरी पियो की उसले अपूरो अभावमा भाव भर्दैछ। एक बोतल रक्सी कुन बेला सकियो पत्तै भएन।
‘ए साउनी, अर्को १ बोतल लेउ त पिलिज!’
यस्तो रफतारमा रक्सी पिएको देखेर फुलमती छक्क परी। हुन त महिला-पुरुष दुवैले पिएको देखेकी थिइन् उनले। दुःखमा पिउने झनै धेरै देखेकी थिइन्। । तर यसरी पिउनु राम्रो संकेत नभएको देखेर ‘दुख पर्यो भन्दैमा यति सारो पनि पिउन हुन्न, पुगिसक्यो तँलाई उठ् अब!’ भन्दै फुलमतिले झपारी।
रक्सीले रन्थनिएको जड्याहालले फुलमतीको कुरा फिटिक्कै सुनेन। सुनेर नसुनेको नाटक गर्यो।
हार मानेर फुलमतीले अर्को एक बोतल उसको टेबलमा राखिदिइ।
‘श्याउनी!,’तिम्रो भट्टि छ र त म जिउँदै छु। रक्सी छ र त म खुशी छु। थयाङ्क्क्क्क…….युउउउउउउउउ है!’ खुसी हुँदै जड्याहा ले गिलास भर्न थाल्यो।
सबै दृश्य नियालिरहेकि फुलमतिले मन मनै सोचि, ‘यतिका दुखी मनहरु आउँछन् यहाँ, लाग्छ विष पिउन नसकेर बोतल पिउन आएका छन्। आफ्नो विगत भुल्न नसकेर आफूलाई भुल्न आएका छन्।’
जड्याहाले फुलमतिको मनको कुरालाई सुनेझै गीत गाउन थाल्यो-
‘रहरले होइन उनकै यादले मलाई पिलाउँछ,
उनले गरेको विश्वास घातले मलाई पिलाउँछ”
लडबडाएका शब्दमा पनि सुर मिलाएर गाउन प्रयास गर्दै थियो जड्याहा। बिजयले यी शब्द पहिला पनि सुनेको थियो। तर कहाँ सुनेको याद गर्न सकिरहेको थिएन। जड्याहाले थप गुनगुनायो-
‘यति मात्र होइन हर दिन
रातले मलाई पिलाउँ,
यति घाउ छन् कि मनमा
कहीँ सिउने आँट भए,
मदिरा नपिउँ त के पिउँ
विष पिउने आँट भएन’
अन्तिम दुई लाइनले बिजय अचानक खड्कियो। ‘यी त फत्तेमानका गीत थिए’। गीत गाइरहेको जड्याहाको अनुहार पुनः हेरेपछि बल्ल उसले आफ्नो पुरानो साथी अमृतलाई चिन्यो। आफ्नो मित्र आफूभन्दा जड्याहा भएको देख्दा बिजय खिन्न भयो। सोच्यो- ‘यस्तो झ्याप अवस्थामा मलाई उसले के चिन्ला र! यतिका वर्ष भइसक्यो, मेरो अनुहार त याद छैन होला उसलाई।’ तैपनि आफ्नो टेबुलबाट खुत्रक्क उठेर अमृतको टेबलमा पुग्छ ऊ।
‘ओइ! मलाइ चिनिस्!’ बिजयले जवाफ नआउने आशाले प्रश्न सोध्यो। ‘तँ कहिले आइस् सहर?’
‘जिन्दगी विष जस्तै भएको बेला अमृत खोज्दैछ। को होस् त? को अमृत खोजेको? चिन्दिन म कसैलाई’, जड्याहा अमृत झर्किदै बोल्यो, ‘कतै मेरो बुढी भगाएर बिजय मनाउने तँ नै त होइनस्?’
अमृतका नशालु नजर शंकाले भरिदै थियो। बिजयले उसको हाउभाउलाई बुझ्न खोज्यो। उसलाई लाग्यो अमृतको जिन्दगी बर्बाद भइसक्यो।
‘म बिजय! तेरो बिज्जु चिनिनस्?’ बिजयले आफ्नो निकनेम जोडेर आफूलाई चिनाउन खोज्यो।
अमृतले सम्झिन खोजेजस्तो गर्यो। तर रक्सीको मातले उसको माथा घुमिरह्यो। अगाडी बसेको आफ्नै साथी हो भनेर उसले चिन्न त सकेन तर अर्धहोसमा आफ्नो सबै दुखेसो पोखी भ्यायो।दुई वर्षकी छोरी र जिन्दगीसँगै काट्ने बचन दिएको श्रिमानलाई छोडेर उसकी श्रीमती पोइला गएकी रहिछे। । ‘सानी छोरी’ र ‘गन्तव्यविहिन जिन्दगी’को भारले थिचरिएको जीवन भोगाइ खप्न नसकेर पिउन थालेको रहेछ उसले। भन्थ्यो उसको बा आफू सानो छदै बिते। बिहे गरेको वर्ष पछी आमा थला परिन्। वर्षौदिन उपचार गर्दागर्दै भएको एउटा सानो झुपडी र सानो टुक्रा जग्गा दुबै बेच्नु पर्यो।
‘न आमालाई बचाउन सके, न घर-जग्गा। साथ दिने एउटा सहारा भएकी स्वास्नी पनि भागेर गइ’ अमृत सुक्सुकाउदै फत्फत्ताईरह्यो। अनेकन उल्झनले ऊ नमज्जाले गलिसकेको थियो। आफ्नाले छोडेपछी ऊ साहारा खोज्दै भट्टी पुगेछ र मदिरा सँग साइनो गासेछ। आज ऊ मदिरासँग, बोतलसँग, टेबुलसँग आफ्नो गुनासो पोख्छ।
बिजयले बुझे अनुसार अमृतको जीवन सकसपूर्ण थियो। काम, पैसा, गतिलो बास, छोरीको स्याहार गर्ने ह्याउ, केही थिएन उसित। न यी सबै उल्झनहरु सुल्झाउने हिम्मत नै थियो।
यता अमृत नशाको तालमा टेबल ठोक्दै हाँस्न थाल्यो! उता दुई साथीको अनौठो मिलन हेर्दै फुलमती पल्लो टेबुल सफा गर्न थाली। टेबुलको गिलास उठाउदै साउनिले भनिन्, “सुन् बिज्जु, यो भट्टि हो। यहाँ मान्छेहरु क्षणिक खुशिको लागि आउँछन्, केही बोतलसँग केही पल साँटेर जान्छन्।मनको तलतल मेटाएर जान्छन्।
यस्तो मान्छे त यहाँ दिनहुँ आउछन्। त्यसैले त मलाई संसार भट्टि जस्तै लाग्छ हौ बिज्जु। खुसी रक्सीको बोतल जस्तै अनि मानिसको जीवन रित्तो गिलास र रक्सीको घुट्को जस्तै। ‘खुशी’ रक्सीको बोतलजस्तै क्षणभरमा रित्तिजान्छ, अनि मानिसको जीवन रक्सीको घुट्को जस्तै- तितो भइजान्छ।”
जिन्दगी बुझ्न नसकेर भट्टी धाइरहेको बिजयले फुलमतीले दिएको जीवनदर्शन पचाउन सकेन।
बरू अमृतको हालत देखेर रून खोज्यो। आफ्नो कथा-व्यथा पोख्न खोज्यो। तर अमृत टेबलमा नशाले घोप्टो परिसकेको रहेछ। बिजयले आफू सकिनसकी अमृतलाई आफ्नो काधमा उचालेर भट्टीबाट निस्कियो। फेरि पनि नपोखिएका पीडाका पोको खाली बोतलमा भरिए ।
नपुरिएका घाउ भट्टीमा पुरिए। कहालीलाग्दा कथाहरू कथाबीच साटिए। भटाभट गिलासहरू रित्तिए। भटाभट दुःखसुख साटिए। र फटाफट सबै घरतिर लम्किए।
भट्टीको सटर अन्तिम ग्राहकको घर प्रस्थानसँगै त्यस रातको लागि बन्द भयो। अर्को जमात जड्याहाको दुःख सुन्न भट्टी भोलि फेरी खुल्नेछ।
-Nepali Story Written by Muskan Pandey
Read More Nepali Poem From Muskan Pandey:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com