अन्योल | कथा | भाग १-६ | Riwaj Neupane

Riwaj Neupane

भाग १ -Riwaj Neupane

 

“यसपाली त राम्ररी दिनु इन्टरभ्यु, अब नि भएन भने त एउटा आफ्नै व्यवसाय खोल्नु, अलिअलि सीप पनि छँदै छ, उमेरले डाँडा काट्ने बेला भैसक्यो, बिहे पनि त गर्न पर्ला नि, छैन र विचार?” भन्दै बाले दिनुभको आशीर्वाद काम लाग्यो ।

बेरोजगार छोरा दिनभरी पागल झैँ बन्द कोठामा त्यसरी नै किताबका पानाहरु पल्टाएर बस्दैन अब, आमा । जीवनका पानाहरु पल्टाउँछ ।
रातभरि बत्ती बल्न जरुरत छैन अब ।
सपना त्यो होइन जुन सुत्दा देखिन्छ, त्यो हो जुनले सुत्न दिँदैन । ३ वर्षको भाग अब एक हप्तामै सुत्छ ।

साथीहरूलाई फोन गर्दा के गर्दै छस् भन्दा अधिकृत बनियो भन्न पनि पाइन्छ । पहिलो पल्ट ढुक्क मनले माइक्रोको भाडा तिर्दै छु, १८ को  ठाउँमा २० लिन खोज्दा आज बल्ल लोभ लाग्या छ, “भाइ, फिर्ता देऊ त २ रूपैयाँ” मन मनै सोच्दै छु ।

“दाइ कता ओर्लिने” भन्दा आज रत्नपार्कको सट्टा सिंहदरबार भन्दा सान नै छुट्टै लागिराछ, हुन पनि किन नहोस् र? ‘बेरोजगार’ को त्यो ‘बे’ अहिले बेकाम छ ।
आज अफिसको पहिलो दिन ।।

“सर, यो एउटा सिफारिसमा सही चाहियो ।” नजिकै गुन्जियो, फर्किएँ, हेरेँ, मलाई नै बोलाइएको रहेछ । हेल्पर दाइले मलाई नै बोलाउनुभा’रछ । पहिलो दिन नै त के धेरै काम गर्नु? काम नै त गर्न आको हैन र ?

नियालेँ यता उता, त्यो झ्याल बाहिर पुग्यो आँखा, देखेँ भीड, आखिर टोकन लिए पछि पनि किन यति धेरै भीड होला ? हुन त नेपालीहरू भेडा नै हुन् । त्यही भीडमा पनि एक जाना सार्है आत्तिएको देखेँ ।।

यो सिफारिसमा भएको अनुहारलाई समाइरहने हात थिए ती अघि आत्तिएका, भीडमा अघि नै सुनेको थिएँ,  उता बच्चाको बुबाले घुम्न अम्रिका बोलाका तर फुच्चीको पासपोर्ट रैन’छ । ३-४ दिनमै उता पुग्न पर्ने अरे ।
उता फर्किरहेको त्यो अनुहारले विपरीत दिशामा फन्को मार्दा उतै हेरिरहेको यो मनले पनि फन्को मार्यो । मन चसक्क भो, आँधी हुरी चल्न थाल्यो यहाँ । बाघले पहिलो पल्ट सिकार देख्दा झैँ चनाखो भए यी आँखा र कान, उसले बोलेको त्यो अगाडिको अफिसरले भन्दा पहिले मैले सुन्ने जति ।

त्यही हिँड्ने शैली, उही आत्तिने बानी अनि बोली त झनै उस्तै, यो ६ वर्षमा केही फेरिएनछ, फेरियो त केवल परिस्थिति, उसको सिउँदोमा सिन्दुर अनि मेरो हातमा चाहीँ सर्टिफिकेट ।।

 

भाग २

गाउँ फर्स्ट भएर पहिलो पटक काठमाडौंमा-
एक मनले गाउँका पालुवाहरुसँग फेरी त्यसरी नै खेल्न पाइन्न भन्ने निराशा त अर्को मनमा नयाँ ठाउँमा नयाँ जाँगरका साथ बाँच्ने उत्सुकता ।
घरबाट ल्याएको त्यो गुन्द्रुकको पोको एक कुनामा राख्दै कलेजको फर्म भर्न गइयो, सेन्ट जेभियर्स कलेजमा । खै कसरी कसरी नाम निस्कियो, गाउँ फर्स्ट भएर आको केटो पो त ।
प्रथम त्रैमासिक परीक्षा पनि आयो, तीजको भोलिपल्ट, तीजको दिन आलु पकाएर पशुपति गको, पहिलो पटक पशुपतिमा त्यति धेरै मान्छे, सबैतिर रातो रातोमा आँखा भुलिदियो ।

भोलिपल्ट फिजिक्सको जाँच, पढ्न त पढियो, खै के पढियो के ?
पास हुने आशा छिनमै निराशा भो । विगतका ती गरुङ्गा मेडललाई सम्झिए पनि हराए पढ्दै नपढि पास भइन्छ भन्ने भ्रमहरु । बाहिर निस्किए पछि मेरो जस्तै अनुहार त अनगिन्ती, मेरो कक्षाका लगभग सबै ।

डेरामा गई ओल्टाई पल्टाई त्यो प्रश्न पत्र हेरेँ, जति गने पनि ३० कटेको हैन । सोचे जस्तै आयो रिजल्ट पनि ।।
सँगै बस्ने धनगढीको दाइलाई लगेँ, रिजल्ट लिन ।
अभिभावकको जिम्मेवारी लिइदिने दाजुले सरको अगाडि मलाई गाली गरे जस्तै गाली सफल भएरै त होला, त्यो कोरिडोटमा दिदीबहिनी हाँस्दै अगाडि बढेको ।
मैले उसलाई हेरेँ, उसले मलाई । हाम्रो पहिलो देखादेख शनिबारको दिन रिजल्ट लिने बेलामा भयो ।

दुई दिन पछि त्यही अनुहार फेरी क्यानटिनमा झुल्कियो, त्यो लामो बोइज काउन्टरको लाइन भन्दा ५ गुणा छोटो त्यो गर्लस काउन्टरको लाइनको बीच तिर ।
“एउटा चाउमिनको कुपन मलाई पनि” मनमा चाउमिन झैँ बेरिएर बसेका भावनाहरूलाई पन्छाउँदै उसलाई भनेँ ।
“भोलिदेखि छिटो आउनु नि” मुसुक्क हाँस्दै जवाफ पनि छिट्टै आयो ।

हाम्रो पहिलो बोलचाल क्यान्टिनको काउन्टरमा भयो ।।

उसँग बोल्ने बाहाना पाइन्छ भनेरै त डाइसेस्सन बक्स कहिल्यै ल्याइएन ।

एक दिन बोलाएँ उसलाई – भेट्न, त्यही उसको होस्टेलसँगैको युएन पार्कमा ।

ऊ मेरो मानरूपी शरीरकालागि अक्सिजन जस्तै बनिसकेकी थिई । मेरा यी आँखाहरु उसकै बाटोमा अडिरहन्थे । मन हतारमा थियो, उसको एक झुल्को देख्नलाई । टाढा टाढाबाट उनको सुवास यो हावाले म कहाँ पुर्याउँथ्यो अनि उसकै आभास हुन्थ्यो । त्यो मन्द हाँसो, लज्जालु स्वभाव, त्यो ओठको टोकाइ र फर्की फर्की हेर्ने बानीले उनीभित्र मप्रति रहेको माया प्रष्ट पारिरहेको थियो । यिनै क्रियाकलापले उनले मलाई नजिक आउन निमन्त्रणा दिइरहेकी थिइन् ।

त्यहाँ केवल म र ऊ मात्र । अनि थियो त मौनता, केवल मुटुको धड्कन र बतासले हल्लाएको पातहरुको आवाज ।

सकि नसकी मैले केवल तीन वटा शब्द भनिदिएँ । मनमा शङ्का त लागिरहेको थियो कतै उनले नराम्रो मानेर मित्रता पो टुट्ने हो कि ? लाग्यो कि मेरो मुटुको धड्कन अनि बतास केहीबेर रोकिए झैँ । केहीबेर पछि ऊ लजाउँदै मेरो नजिक आइन् अनि मेरो हात समाउँदै भनिन् “पछि धोका त दिँदैनौ नि ?” म स्तब्ध भएँ, केहीपनि नबोलेरै मैले उसलाई आफ्नो अङ्गालोमा बाँधिरहेँ । त्यो दिन थियो मिलनको, साँच्चै यादगार थियो । दुवैको आँखाबाट हर्षका आँसुहरु खसिरहेका थिए ।

 

भाग ३

कक्षा बेग्लै बेग्लै भए पनि थियौँ हामी एउटै छानामुनि । त्यो सर्टब्रेकमा सधैँ उसैलाई भेट्न दौडी हाल्ने, कहिले काहीँ प्राक्टिकलले पिरोल्थ्यो ।

बिहान अर्लाम क्लक हुन्थी ऊ त बेलुका १० कहिल्यै कट्न नदिने । कहिलेकाहीँ कलेज आउन ढिला हुँदा देख्थेँ उसलाई त्यहीँ माइतीघर क्याफे अगाडि, एक्लै त केवल नेमदेखि माइतीघर क्याफेसम्म ऊ, पीईएदेखी माइतीघर क्याफे सम्म म ।

२९ फेबुअरी, त्यो महिनाको अन्तिम दिन अनि कलेजको पनि । सधैँको हाम्रो त्यो भेटमा अल्पविराम लागे झैँ भो । बोर्डस पनि नजिकै थियो । उसको डाक्टर बन्ने चाहना अनि मेरो इन्जिनियर बन्ने चाहना कतै पूरा नहोला कि भन्ने कुराले सताउँथ्यो । एल्फाबेट्समा आर र एस सँगै भए पनि बोर्डसमा उ कता, म कता ।

बोर्डस सकिए पछि त्यसै गरी हाम्रो भेट माइतीघर क्याफे अगाडि नै हुन्थ्यो । उसलाई आइओएमको (IOM)को प्रेसर यता आइओई (IOE) को मलाई । बोलचाल अलि  कम हुँदै गयो, बेलुका १० मा आँखा चिम्लिने त केबल भनाइ मात्र भो, कहिले त रात चिप्लिएको पत्तो हुन्थेन ।

साउन २०,
मेरो आइओईको परीक्षा । लगभग एक हप्तादेखि त्यही आइओई कै प्रेसेरले गरेर उसँग बोल्न भ्याएको थिइनँ । उसको पनि मेसेज केही आएन । सायद मलाई डिस्टर्ब हुन्छ भन्ने सोचेर होला ।
मेरो दिउँसोको सिफ्ट, विहान ५ बजे नै उठेँ, ५~७ दिनदेखिको त्यो सुख्खा कल लगमा लास्ट कल उसकै थियो, ७ दिन अघिको । क्लासमा छे होला सोचेर फोन पनि गरिनँ ।

मन गरुङ्गो थियो, केही सोच्न सकेन । उसको एक मेसेजले हुने मुड फ्रेस, त्यस दिन पनि भएन । परीक्षा त
दिइयो तर…………. सायद कम्प्युटरको पनि मुड फ्रेस भएन होला ।
मन त उसलाई, म परराष्टको अधिकृत भइदिए हुन्थ्यो थियो । सोच्दै नसोची गएको पीइए(PEA) काम लागेन । नाम त निस्कियो, ११८२ मा । केही इन्च ले फरक पारेको  त्यो विशाल प्रतिफल ।
बल्ल बल्ल, थापाथली क्याम्पसमा भर्ना भइयो, इन्डस्ट्रियल इन्जिनियरिङमा ।

१० दिन उसले मेरो परीक्षा भनेर डिस्टर्ब गरिन, २० दिन मैले उसको परीक्षा भनेर डिस्टर्ब गरिनँ ।
३० दिनपछि मैले फोन गरेँ । अस्त व्यस्त उसको जीवन अनि परीक्षाको प्रेसर । परीक्षाको दिन बेलुका मैले उसैगरी फोन गरेँ । एकचोटिमा उठेन । दोस्रोचोटी पनि अलि ढिला नै उठ्यो ।

परीक्षा त उसको पनि बिग्रिएछ । आशै-आश मात्रै रह्यो ।

“यदि निस्किएन भने के गर्छौ ?” मैले पहिले सोधेको त्यो प्रश्नको उत्तर मलाई झल्झली याद आइरह्यो । परीक्षा बिग्रिएको भएरै उसको मुहारमा चमक कत्ति थिएन ।

माइतीघर क्याफे अगाडि भेट्ने हाम्रो रुटिन  त अभ्यस्त भइसकेथ्यो । पीइए म जान छोडेँ, नेम गए पनि होस्टेल उसको फेरियो, उतै बागबजारतिर ।
भने जस्तै, ऊ नेम फेरी जान थालेकी त म थापाथली क्याम्पस ।

विहान उसको क्लास, दिउँसो मेरो, बेलुका ट्युसन, दिन यसै प्याल !

समय निकाले त निस्किन्थ्यो तर खै !

 

भाग ४

क्याम्पसको पहिलो हप्ता चापको वर्षा हुने थाल्यो !
बिहान उठ्ने बित्तिकै कोठाको जुन झ्यालको छेउमा बसेर म उसँग घण्टौं बात मार्थेँ, त्यही झ्याल सँगैको टेवलमा उसैलाई सम्झिँदै असाइनमेन्ट सक्थेँ । मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको धेरै दिन भैसकेथ्यो ।

एक दिन, क्लास नगई नगई म नेम अगाडि पुगेँ । साइडको चिया पसलमा दुई कप चिया अर्डर गरेँ । “एक मिनेटमा आइपुग्छु” त्यत्तिकैमा फोन काटियो । एक मिनेट पनि एक घण्टाझैँ लाग्यो । घडीको त्यो टिकटिक आवाजले मन अझै हतासिँदै थियो ।

उसलाई देखेँ । मुस्कान हराएको ममा मुस्कानको आभाष ।

अलि नजिक आई पुगेकी थिई, उसलाई मात्र देखिनँ, कोही अरु पनि थियो, पछिपछि । “ऊ चाहिँ आभाष ! हामीसँगै हुन्छम् क्लासमा, कति सहयोगी छ । हि इज माइ बेस्ट फ्रेन्ड (ऊ मेरो सबैभन्दा मिल्ने नजिसको साथी), मैले हाम्रो बारेमा उसलाई भनी सकेँ” ! म अलमल्ल परेँ । उसको बोली सुनेर होइन, केटाको अनुहार कतै कतै देखे झैँ महसुस भएर ।
पहिले कतै कन्फ्रेन्सतिर हो कि भन्ने यो दिमागले कता कता अड्कल पार्यो । सोधेँ उसलाई यदि कतै हाम्रो भेट कतै भएको थियो कि ? दुईमत नभई उसले भन्यो, ‘स्काउट क्यामप’ ।

भेट त पहिल्यै भैसकेको रछ, सायद उनलाई पनि पढ्न सहयोग गर्ला नि उसले ।
सधैँ ‘नेम’ जान पनि सम्भव थिएन, थापाथली तिर उसको बाटो पर्थेन । बागबजार टु बागबजारमा अड्किएको उसको जीवन । एक दिन बिराइ क्लासहरुको ब्रेकमा बोल्न मिल्ने गरी म फोन गर्थेँ ।

सधैँ जसो, “हामीसँगै छौँ, त्यही चिया पसलमा” त छुट्दैनथ्यो । कहिलेकाहीँ यो मनले अरु नै केही सोच्थ्यो जुन सोच्नुपर्ने कुनै आवश्यक नै थिएन । डक्टर बन्ने उसको सपनासँग अब कोही अरु पनि थियो, उसको सहारा ।

फिजिक्स सेक्सन भएर नै होला, म उसको पढ्ने शैली अलि बुझ्दिन थेँ, कोही अरुले ती टर्मस्हरू बुझ्दथ्यो । प्राथमिकता उसले ‘हामी’लाई होइन, ‘सपना’लाई दिन्थी । एक दुई दिन बिराइ म फोन गर्थेँ उसको हालचाल बुझ्न, मैले बिर्सिए पनि उसले गर्थी ।

आभाष पनि उसलाई हरेक पल सहायता गर्थ्यो । पहिले त ठीकै छ सोच्थिएँ, पछि पछि यो मन बेचैन हुन थाल्यो । फोन गर्न छोडिदिएँ । ३-४ दिनसम्म मैले फोन नगरेको भएर उसैले गरी, “फोन किन नगरेको ?” मैले केही बोल्न सकिनँ, “राम्ररी पढ न, डक्टर बन्नु जो छ” भनी फोन काटिदिएँ । फेरी फोन गरी, ‘असाइनमेन्ट छ’ भनी काटिदिएँ । “हस् हस्, म पनि पढ्छु ल” फोन बज्यो ।

“सायद पढ्दा डिस्टर्ब हुन्छ सोचेर मसँग धेरै नबोलेको” उसले सोच्थी होला तर यहाँ पीडा बेग्लै थियो, कोही अरु नजिक भको यो मनले कसरी सहन सक्दथ्यो र? साथीमा त्यति विश्वास थिएन ।

कतै उनीहरुसँगै त छैनन् भनी यो मन डराइरहन्थ्यो । सधैँ फोन अफ् नै गरीरहन्थेँ, कतै त्यही शब्दहरु दोहोरिने त हैन ? आफ्ना मान्छे नजिक नहुँदाको पीडाले साह्रै पोल्ने रैछ । असाइनमेन्टमा उसकै चित्र देख्थेँ, हरपल म उसकै आकृति कोरी आँफैलाई भुलिदिन्थेँ ।

 

६ दिन भैसकेथ्यो बोलचाल नभएको, मैले फोन अन गरेँ । उसले पठाएका तर मैले नहेरेका ती मेसेजहरु, देखेँ । “फोन सधैँ किन अफ ? न त केही कुरा नै भ’को छ । म आउँछु आज भेट्न थापाथलीमा” ४ दिन अघिको मेसेज बल्ल देखेँ । “आज क्लास बंक गरेको, आभाष र मैले” १ दिन अगाडिको ।

मन चसक्क भयो । बेलाबेलामा चसक्क त हुनु नै थियो । मनमा दिन्दिनै अनेकोँ उत्तरहीन प्रश्नहरुको ओइरो लाग्न थाल्यो । उसको बोली सुन्न मन छटपटाउँथ्यो तर एकैछिनमा फेरी शान्त ।
मनले उसँग बोल्न खोजे पनि, दिमागले मान्दैनथ्यो । शङ्का शङ्का शङ्कामै दिन बित्न थाले । उसले नभन्दा पनि म उसलाई आफूबाट टाढा हुँदै गएको महसुस गर्दै थिएँ ।

 

भाग ५

आँफूसँगै हारेको झैँ लाग्ने भएरै त म खासै बोल्न पनि छोडेँ ।
समय पनि बढो अचम्मको हुँदो रहेछ । बसन्तरुपी पालुवाझैँ भर्खर पलाएको माया हाम्रो, समयरुपी खडेरीले दिनदिनै सुख्खा अनि उजाड बनाउँदै गयो । समय अभाव र परस्थितिले मेरो प्रेमको गला निमोठिँदा पनि मैले केही गर्न सकिँन ।

कल त अब त्यस्तै हो, पहिले २-३ बजेको पत्तै नहुने हाम्रो कल ड्युरेसन अब २-३ मिनेट मात्र । कहिले मेरो टाइम नहुने त कहिले उसको । भेट त २-३ हप्ताको एक पटक, त्यो पनि मुस्किलले ।

भेट हुँदा उसको अनुहारमा अब मेरो माया मात्र होइन, डाक्टर बन्ने सपना र पढाईको प्रेसर पनि मिसिएको थियो । बाँकी भएको अलिकति समयमा अभाषका कुरा हुन्थे ।  समय सँगैसँगै हाम्रा भेटहरु पनि फितला हुँदै गए, भेटसँगै दुरी बढ्दै गयो । त्यतिबेला समयले हामीलाई यति व्यस्त बनाइदियो कि सायदै एक अर्कालाई सम्झने फुर्सद मिल्थ्यो । त्यस पछि त समय यस्तै बितिरहे ।

हरेक साँझ थकित तनसँगै थकित मन बोकी, म बन्द कोठामा उसका आकृतिहरुले आफ्ना भित्ताहरु भर्दै गएँ । अनि उसका हरेक चित्रका आँखामा  पहिलेको रिवाज र अहिलेको रिवाजको भिन्नता पहिल्याउँदै गएँ । अनि आँफैलाई विचार गरेँ, सायद म बाधक भएछु क्यारे, उसका सपनाहरुको । त्यसैले म समयसँगै उसबाट अनि उनी मबाट । त्यो दुरी कहिले बर्खाको वर्षा बनी यी आँखाबाट वर्षन’छ त कहिले हुरी बनी मनको चैन उडाइदिन्छे ।

म यसै टोलाइरहने, यसै टोलाइरहने मात्र ।
उसको साथ नहुँदाको अवस्था अलि बेग्लै नै । पढ्न त्यति मन पनि लागेन । कहिले हिँड्दा हिँड्दै लगनखेल पुग्थेँ त कहिले बालाजु । घरतिरबाट आएका ती गाडीलाई देख्दा उसलाई र मलाई घर लग्न आएका झैँ महसुस गराउँथे ।
एक दिन, त्यसरी नै बालाजु पुग्दा म चन्द्रगढीको गाडी चढेँ, केही दिन आमाको काखमा आँफैलाई हराउन । आमाको सामु सबै कुरा भनुँझैँ लागे पनि निस्कन सकेनन् ।

निस्किन सकेका छैनन् शब्दहरु, दबिएका छन्, ननिस्कने गरी । बाँकी रहेको अलिकति साहसका साथ बोल्ने आँट आँत मै रहेन । तर पनि निशब्द नै ।

काठमाडौं फर्किएँ तर मन बेचैन थियो । आफ्नै पारा देखेर दिक्क लाग्यो । केही दिन क्याम्पस गइनँ । पछि मन लागेन । पढ्न छोडिदिएँ ।

ड्रप्आउट !(DROPOUT!)

 

 भाग ६ (अन्तिम)

घरबाट उस्तै प्रेसर;

पढ्न जान छोडेको छोरोको खै के भर ?
पढ्न नै फेरि छोडिदिने हो कि ?
मन त उसलाई माया गर्ने, चाहाना उसैको मात्र पूरा गर्ने रहर ।

ऊ नभएर के भयो र ? उसका ती मिठा यादहरुलाई सम्हालेर जीवन जिउनु छ । उसले चाहेको जस्तै ‘म’ त म हुन सक्छु नि !

“पछि जे भए पनि, परराष्टको अधिकृत चैँ बन्नु ल” त्यो उसको आवाज यो मनमा सधैँ गुन्जिरहने ।

त्यो एक वर्ष त्यसै बित्यो ।

अर्को बर्ष,
त्यही मौसम, उही समय तर फरक परिस्थिति

रि-एडमिसन भइयो, उसले चाहेको जस्तै परराष्ट मन्त्रालयको अधिकृत बन्ने आशामा;

बीए मेजर इंग्लिस

म पिल्सिँदै गएँ,
उसका यादहरु, ती किताबका ठेली र घरको किचकिच मै ।
उसका ती यादहरु यो मनबाट कहिल्यै हटेनन्, सायद हटाउन खोजिनँ ।
मनको एउटा कुनामा उसको बास थियो, एउटा बेग्लै कुनामा !

उसका यादहरुलाई कहिले कविता त कहिले परीक्षाका पेपरसँगै मिसाएर म अगाडि बढ्दै गएँ । सफल भएर पनि थिएँ त म असफल नै ।

ब्याचलर्स सकियो ।

नायब सुब्बामा लड्दा लड्दै थाकेको,
अधिकृतका लागि नयाँ जोस थियो । “शरीर थाकेर केही हुन्न, मन थाक्न भएन” १२ मा नेपाली क्लासमा सरले पटक पटक भन्नुहुन्थ्यो ।
पहिलो वर्ष त्यस्तै भयो, दोस्रो वर्ष पनि त्यस्तै त्यस्तै भयो, तेस्रो वर्षको त्यो परीक्षाको फल त तिम्रै अगाडि छ ।
थाहा छैन, आज मेरो यो एउटा सिग्नेचरले कति फरक पार्ने छ तर हाम्रो भेट त हुनु नै थियो, जो भए पनि तिमी, जो भए पनि म ।

ज्वाँई र भान्जीको ख्याल राम्ररी राख्नु ल ।।।

-समाप्त-

-Riwaj Neupane

भाग १ | भाग २ |भाग ३ | भाग ४ | भाग ५ | भाग ६

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *