अन्योल by Riwaj Neupane | भाग १ | भाग २ |भाग ३ | भाग ४
भाग ५
आँफूसँगै हारेको झैँ लाग्ने भएरै त म खासै बोल्न पनि छोडेँ ।
समय पनि बढो अचम्मको हुँदो रहेछ । बसन्तरुपी पालुवाझैँ भर्खर पलाएको माया हाम्रो, समयरुपी खडेरीले दिनदिनै सुख्खा अनि उजाड बनाउँदै गयो । समय अभाव र परस्थितिले मेरो प्रेमको गला निमोठिँदा पनि मैले केही गर्न सकिँन ।
कल त अब त्यस्तै हो, पहिले २-३ बजेको पत्तै नहुने हाम्रो कल ड्युरेसन अब २-३ मिनेट मात्र । कहिले मेरो टाइम नहुने त कहिले उसको । भेट त २-३ हप्ताको एक पटक, त्यो पनि मुस्किलले ।
भेट हुँदा उसको अनुहारमा अब मेरो माया मात्र होइन, डाक्टर बन्ने सपना र पढाईको प्रेसर पनि मिसिएको थियो । बाँकी भएको अलिकति समयमा अभाषका कुरा हुन्थे । समय सँगैसँगै हाम्रा भेटहरु पनि फितला हुँदै गए, भेटसँगै दुरी बढ्दै गयो । त्यतिबेला समयले हामीलाई यति व्यस्त बनाइदियो कि सायदै एक अर्कालाई सम्झने फुर्सद मिल्थ्यो । त्यस पछि त समय यस्तै बितिरहे ।
हरेक साँझ थकित तनसँगै थकित मन बोकी, म बन्द कोठामा उसका आकृतिहरुले आफ्ना भित्ताहरु भर्दै गएँ । अनि उसका हरेक चित्रका आँखामा पहिलेको रिवाज र अहिलेको रिवाजको भिन्नता पहिल्याउँदै गएँ । अनि आँफैलाई विचार गरेँ, सायद म बाधक भएछु क्यारे, उसका सपनाहरुको । त्यसैले म समयसँगै उसबाट अनि उनी मबाट । त्यो दुरी कहिले बर्खाको वर्षा बनी यी आँखाबाट वर्षन’छ त कहिले हुरी बनी मनको चैन उडाइदिन्छे ।
म यसै टोलाइरहने, यसै टोलाइरहने मात्र ।
उसको साथ नहुँदाको अवस्था अलि बेग्लै नै । पढ्न त्यति मन पनि लागेन । कहिले हिँड्दा हिँड्दै लगनखेल पुग्थेँ त कहिले बालाजु । घरतिरबाट आएका ती गाडीलाई देख्दा उसलाई र मलाई घर लग्न आएका झैँ महसुस गराउँथे ।
एक दिन, त्यसरी नै बालाजु पुग्दा म चन्द्रगढीको गाडी चढेँ, केही दिन आमाको काखमा आँफैलाई हराउन । आमाको सामु सबै कुरा भनुँझैँ लागे पनि निस्कन सकेनन् ।
निस्किन सकेका छैनन् शब्दहरु, दबिएका छन्, ननिस्कने गरी । बाँकी रहेको अलिकति साहसका साथ बोल्ने आँट आँत मै रहेन । तर पनि निशब्द नै ।
काठमाडौं फर्किएँ तर मन बेचैन थियो । आफ्नै पारा देखेर दिक्क लाग्यो । केही दिन क्याम्पस गइनँ । पछि मन लागेन । पढ्न छोडिदिएँ ।
ड्रप्आउट !(DROPOUT!)
क्रमशः
-Riwaj Neupane
कथाको अरू भाग पढ्नुहोस्ः भाग १ | भाग २ |भाग ३ | भाग ४ | भाग ५ | भाग ६