एउटा खाली पाना | कविता | रिवाज न्यौपाने

offline thinker | poetry

म त एउटा खाली पाना

जहाँ सब रङ्ग भर्न चाहन्छन्
जहाँ सब आफ्ना आफ्ना स्वार्थ देख्छन्
जहाँ सब प्यास मेट्न चाहन्छन्
जहाँ सब चिथोर्न चाहन्छन्
म त एउटा खाली पाना

एउटा आएर आगो सल्काई दिएर जान्छ
म जल्छु आफ्नै रापमा
सोच्न सक्दिन केही पनि
आगोमा जल्ने बाहेक
सहारा खोज्छु, भेट्दिनँ
सल्केको आगो बिस्तार बिस्तारै निभ्न खोज्दै छ

फेरी कोही आइ दिन्छ
झिल्का बनेर
म त पराल सरी छु हजुर
एक झिल्कै काफी हुने गरी
फेरी सल्काउँछ,
भ्रमको दबदबामा म हुन्छु
गिद्धे गन्ध म पत्ता लगाउन सक्दिनँ
आँफै रमाउन थाल्छु
हराउँछु
रमाउँछु, हराउँछु

आफ्नै बेग्लै बेगले ऊ सल्काउन थाल्छ
आगो र त्यसका अनौठा आकार
म फेरी अल्झिन्छु, पहिले अल्झिए सरी
सम्हालिन अलि नसके झैँ आभाष हुन्थ्यो
अतालिन्छ फेरी यो मन
जलेँ पनि,
त्यही रापमा न्यानोपनको लोभले
आज मलाई खरानी बनाई दियो हजुर, त्यही रापले
म त हराएँ
म त बिलाएँ
जल्ने जलाउने परम्परामा कतै अल्झिएँ

केही समय,
म आफैँभित्र हराएछु,
चाहर्छु कुना कुना
आँफैलाई खोज्न
आफ्नै अस्तित्व भेट्टाउन
आशा पनि निराशा हुन्छन् यता त हजुर !

म बोल्दिन केही पनि
आखिर

म त एउटा खाली पाना   !!

Photo by Kelly Sikkema
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *