अँधेरी
कतै घुम्न जाने प्लान बनेथ्यो,
कता भने अत्तो पत्तो थिएन
सर्प्राइज दिने सोच त थियो
म भन्दा निकै फर्वार्ड ऊ भएकीले
भक्तपुर जाने हो ? भनेर सोधि
“मेरो मनको कुरा बुझ्ने भइसकेछौ”
झैँ नै लागेथ्यो ।
गाडी त चढेछम्, कति छिटो भक्तपुर पुगेछम्,
हिजो रातीको त्यो लेट नाईट टक्स् ले गर्दा
विहान आँखा पनि खुलेकै थिएन,
“जुम् न, सिद्ध पोखरीमा !” भन्दै थिई
च्याप्प हात समाएर मेरो,
सिद्ध पोखरीको ती माछाहरू हेरेर बस्ने उसको इच्छा रछ,
गएर २० रुपियाँको त्यो सोयाबिन किनी
छेउमा गएर एक एक गर्दै फ्याल्दै थिई,
म भने चाहीँ माछा हैन, अगाडिकी अप्सरालाई हेर्दै बसेछु
उसले भने गोल्डफिस हेर्दै, अनि म चाहीँ अगाडिकी डायमण्ड ।
न्याँतापोल गएर हाम्रो ‘पर्फेक्ट फोटो’ खिच्ने र
अपलोड गर्छु भनेर ठूल्ठूलो स्वरमा कराउन लागि,
गएर मलाई पनि जबर्जस्ती आउँदै नआउने
पाउट गर्न लगाएर फोटो खिची
उस्को ती चर्तिकला देख्दा लाग्थ्यो कि,
म नै उस्को सारा संसार जस्तो !
खै किन त्यति धेरै मख्ख परेकी हो मोरी ।
हाम्रा ती पूराना कन्भर्सेसन्स पढेर सुनाउँदै थिई,
म पनि त छेउमा बसेर सबै सुन्दै थिएँ,
साथीहरू सबैलाई थर्काएर राख्ने म,
उस्को अगाडि धेरै बोली ननिस्कने, सुनी रहन मात्र मन लाग्ने
सायद यही नै त होला, माया भनेको !
रूफ टप मा गएर उस्को फेवरेट चिकेन पिज्जा खाएर,
चिकेन पिज्जा तर चिज नहालेको,
अनि म त अरु के नै खान्थेँ र मःमः बाहेको,
ब्रेसेज जो छ यो मुखमा,
खै किन हो,
मलाई अलि अनौठो लागिराथ्यो,
हल्का टाउको दुखे झैँ,
अनि
ऊ पनि मसँग जिस्किन थाली, हत्तारमा आँखा हातमा पुगेछ,
“ला, ३ बजिसकेछ, ढिला हुने भो अब घर जान” भनी निराश हुन थाली,
छिन् छिनमै खुसी हुने अनि छिन् छिनमै रिसाउने
छिन् छिनमा निराश हुने अनि
छिन् छिनमै जिस्किरहने त उसको बानी नै हो !
कसरी उसँग एकछिन भने पनि धेरै बिताउँ भन्ने मनमा चलिरहेको थ्यो,
मैले पनि खुसुक्क ब्याग बाट एउटा किताब निकालेँ,
सुटुक्क त्यसको दुई अक्षर याद पनि गरेँ,
ओए, सुन न,
हजुर, भन्नु,
तिमीलाई केही भन्न मन छ,
“हजुरको हावा गफ सुन्न पर्यो फेरी अब” भन्दै थिई
मैले पनि त सुरु गरेँ
“मन त मलाई पनि छ
आकाशका लहरामा लटरम्म तारा फूलेको रात
म ती ताराहरुलाई टिप्दै मिलाउँदै टिप्दै मिलाउँदै
आकाशमा एउटा ठूलो पानको पात बनाऊँ
र
त्यही पानको पातभित्र
ताराकै अक्षरहरूले
तिम्रो र मेरो नाउँ लेखिदिऊँ”
ऊ मख्ख, अनि म पनि ।
समय सुईकिएको चालै भएन ।
घडीमा पनि त ३:३० भईसकेको थ्यो,
भक्तपुरबाट घर पुग्न पनि त धेरै बेर लाग्थ्यो,
लगभग १:३० जति,
हत्तारमा ऊ,
अनि म पनि,
“रिवाज” भनेर कतैबाट भनिरहेको झैँ लागेथ्यो,
मम्मीको आवाजमा,
एकछिन अकमक्क परेँ,
अलि पछि म घरको खाटबाट उठ्दै थिएँ,
म कहाँ छु, ऊ कता छे खै झैँ भयो,
एकछिन अघि जति खुसी नै हुन्थेँ होला,
यदि,
मैले कलेजमा उसलाई मायाको इजहार गरेको भए,
थाहा छैन किन सधैँ सपनीमा किन आउँछे भनेर ।
अचेतको माया सचेतमा फर्किँदै फर्किएन ।
मन त मेरो पनि थियो व्यक्त गर्ने,
“मनको कुरा कुनै दिन भनूँला
लुकेका कुरा कुनै दिन खोलुँला
माया त तिम्रोलागि
सधैँभरिलाई साचुँला
शब्द शब्द मिलाई तिमीलाई केही व्यक्त गरूँला”
भन्दा भन्दै कति दिन बिते,
कहिलेकाहीँ फेसबुकमा उसको फोटो देख्छु,
‘लभ’ रियाक्ट गरिदिन्छु,
“घमन्डी र स्वार्थी त म भन्दा नि मेरो मन रहेछ,
तिमी बाहेक कसैलाई माया गर्न नै जानेन”
त एउटा व्यथा रहेछ ।
सायद जीवनको कुनै मोडमा भेटिएला,
त्यतीबेला चाहीँ अवश्य भन्नेछु ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

