अन्योल | भाग १
“यसपाली त राम्ररी दिनु इन्टरभ्यु, अब नि भएन भने त एउटा आफ्नै व्यवसाय खोल्नु, अलिअलि सीप पनि छँदै छ, उमेरले डाँडा काट्ने बेला भैसक्यो, बिहे पनि त गर्न पर्ला नि, छैन र विचार?” भन्दै बाले दिनुभको आशीर्वाद काम लाग्यो ।
बेरोजगार छोरा दिनभरी पागल झैँ बन्द कोठामा त्यसरी नै किताबका पानाहरु पल्टाएर बस्दैन अब, आमा । जीवनका पानाहरु पल्टाउँछ ।
रातभरि बत्ती बल्न जरुरत छैन अब ।
सपना त्यो होइन जुन सुत्दा देखिन्छ, त्यो हो जुनले सुत्न दिँदैन । ३ वर्षको भाग अब एक हप्तामै सुत्छ ।
साथीहरूलाई फोन गर्दा के गर्दै छस् भन्दा अधिकृत बनियो भन्न पनि पाइन्छ । पहिलो पल्ट ढुक्क मनले माइक्रोको भाडा तिर्दै छु, १८ को ठाउँमा २० लिन खोज्दा आज बल्ल लोभ लाग्या छ, “भाइ, फिर्ता देऊ त २ रूपैयाँ” मन मनै सोच्दै छु ।
“दाइ कता ओर्लिने” भन्दा आज रत्नपार्कको सट्टा सिंहदरबार भन्दा सान नै छुट्टै लागिराछ, हुन पनि किन नहोस् र? ‘बेरोजगार’ को त्यो ‘बे’ अहिले बेकाम छ ।
आज अफिसको पहिलो दिन ।।
“सर, यो एउटा सिफारिसमा सही चाहियो ।” नजिकै गुन्जियो, फर्किएँ, हेरेँ, मलाई नै बोलाइएको रहेछ । हेल्पर दाइले मलाई नै बोलाउनुभा’रछ । पहिलो दिन नै त के धेरै काम गर्नु? काम नै त गर्न आको हैन र ?
नियालेँ यता उता, त्यो झ्याल बाहिर पुग्यो आँखा, देखेँ भीड, आखिर टोकन लिए पछि पनि किन यति धेरै भीड होला ? हुन त नेपालीहरू भेडा नै हुन् । त्यही भीडमा पनि एक जाना सार्है आत्तिएको देखेँ ।।
यो सिफारिसमा भएको अनुहारलाई समाइरहने हात थिए ती अघि आत्तिएका, भीडमा अघि नै सुनेको थिएँ, उता बच्चाको बुबाले घुम्न अम्रिका बोलाका तर फुच्चीको पासपोर्ट रैन’छ । ३-४ दिनमै उता पुग्न पर्ने अरे ।
उता फर्किरहेको त्यो अनुहारले विपरीत दिशामा फन्को मार्दा उतै हेरिरहेको यो मनले पनि फन्को मार्यो । मन चसक्क भो, आँधी हुरी चल्न थाल्यो यहाँ । बाघले पहिलो पल्ट सिकार देख्दा झैँ चनाखो भए यी आँखा र कान, उसले बोलेको त्यो अगाडिको अफिसरले भन्दा पहिले मैले सुन्ने जति ।
त्यही हिँड्ने शैली, उही आत्तिने बानी अनि बोली त झनै उस्तै, यो ६ वर्षमा केही फेरिएनछ, फेरियो त केवल परिस्थिति, उसको सिउँदोमा सिन्दुर अनि मेरो हातमा चाहीँ सर्टिफिकेट ।।
क्रमशः
कथाको अरू भाग पढ्नुहोस्ः भाग १ | भाग २ |भाग ३ | भाग ४ | भाग ५ | भाग ६
-Riwaj Neupane
0 Comment