टुटेफुटेको साहित्य | Suman Bhattarai

suman bhattarai

प्रत्येकपल्ट चारभन्ज्याङको खाल्डो पुग्न, रात्रीबस चढनुअघि उत्सुकता र माया मिसिएको एउटै प्रश्नले सदैब बाटो छेक्छ ।

“बाबु! कुन देश पो आट्न लागेउ?”

मानौ म गाउँबाट छुटने रात्री बसमा नभएर त्रिभुवन विमानस्थलमा प्लेन चढदैछु ।

घरबाट बिदाइ भइ हिड्ने एकाध सर्टिफिकेटको अंकगणितमा अल्झिएका सपना र धेरै पसिना र पैसाको तालमेलमा सजिएका सपना बोकेका ती दुवैथरी मलिन मुहारलाई रात्रीबसले हरेक साझ पर्खेको हुन्छ । हप्प गर्मी र धुवाधुलो मिश्रित सुगन्धले तिनलाई रात्रिबसमा छिर्नासाथ स्वागत गर्छन् ।

इनै गुम्सिएका सपनाका उकुसमुकुस र छट्पटीले बढाउने धड्कनको संगीतले गुन्जयमान छ गाउँ । गाउँ त अहिले ट्रान्जिट भएको छ, जहाँ हरसाझ रात्रीबसमा अनेकन सपनाहरूले गाउँ छोड्छन् ।

बोझिला सपना र गह्रौ मन बोकेर यात्रा गर्ने गाउँले दाजुभाइका सपना केहिले सबै पूरा हुन्छन्! कहिले बीच घुम्तीमै तुहिन्छन् । त्यस्तै सपना तुहिने मध्यका एक हुन राजु सापकोटा । रात्रीबसका सबैभन्दा पाका कन्डक्टर । ६ वर्ष अघि दलालको हातमा राहदानी, केही हजार रुपैयाँ र लाखौंको आशा थमाउन काठमाडौ पुगेका थिए राजु । आठ-दशपल्ट विदेशीने चक्करमा राजधानी ओहोरदोहोर गर्दा पनि उनको विदेशिने सपनाले गति लिन सकेन ।

समय, परिवेश र परिस्थितिले उनको उडने पखेटाको आशामा सदैब कैँची चलाइरह्यो ।

राजधानी ओहोरदोहोरको चक्करले राजुको आमाको पटुकाको फेर पातलिदै गयो । आर्थिक समस्या झाङ्गिदै गयो । राजधानी आउनजान राजुले सित्तैमा बसभाडा उठाइदिन सुर कसे । परिस्थिति बदलिएनन् र दलालको आशवाशनले मात्र उनको घर चलेन । अत: उनी ओहोरदोहोर गर्ने रात्रीबसमै जागिरे भए ।

कस्तो नमिलेको संयोग, विदेश जान चढेको रात्रीबसमै जवानी अल्झाउनुपर्ने कर्म !

उनी रातको अनिद्रा, धुवाधुलो र फोहोरमा गाउँका दाजुभाइसंगै उनका लुगाफाटा र सपनाको पोको बोकिदिएर गुड्न लागेको पनि आधा दशक पुग्न लागेछ । यहाँ जिन्दगी थोत्रो बसजस्तै थोत्रो कालोपत्रे सडकमा यसरी नै बेहिसाब दौडन बाध्य छ । टुटेफुटेको जिन्दगी जिउन बाध्य छौं हामी । यहाँ सिंगो जीवननै एउटा दुखेसो हो ।

यसो सम्झिन्छु गाउमा सधै यस्तै छ । तर फेरि सोच्छु होइन: बाझो जमिनमा उर्वर सपना देख्नेपनि त यहि संगै छन् । यही गाउँको छेउकुनामा बस्छिन् मन दिदी । उमेरले ४३ वर्ष पुगिन् । तर गहुगोरो अनुहार, चिम्सा आँखा, स्याउका दाना जस्ता गाला र थ्याप्चो नाक ! सबै कुरा मिलेको दिदीको मुहार हेरेर उनको उमेरबारे लख काट्न जो-कोहिले सक्दैनन् । यही गाउँमा दिदीले पसल थापेको २४ वर्ष भयो ।

त्यो सुन्दर मुहार र कुरुप विगत बोकेर बितेका २४ वर्षदेखि कित्लीको तातो चियामा आशालाग्दो भोलि पस्कने प्रयत्नमा दिन काट्दैछिन् मन दिदी । आमाको दम र सुगर प्रेसरको औषधि त्यही जुठा गिलासले जोहो गर्छन् ।

दिदीको घरमा जम्मा दुइबहिनी छोरी । दिदी आफू जेठी हुन् । सानै छँदा बुवा बम्बइ गए । तर फर्केर आएनन् । घरमा आयो त केबल पीडा र सकस। आमाको शरीरमा कमजोरी र रोगमात्र आयो । साथै मन दिदीको काधमा परिवार चलाउने पुरै जिम्मेवारी आयो । विचरी दिदीले जीवनमा बैँस र जोवन आएको पत्तै पाइनन् । आमाको हेरचाह र मायाले दिदीले बिहे नै गरिनन् । माइत के भन्नु: आफ्नै घरमा आमाको ख्याल राख्ने निधो गरिन । भएकी एउटी बहिनी अन्माइन अनि गाउँमै चिया पसल खोलिन् ।

बाँकी के छ र ? एउटा जवानी खोलाखेत जाने गोरेटो र दोबाटोको चिया पसलमै सक्कियो । दिदीको दुःखसुख अझै जारी छ ।

बरालिँदै चिया पसलमा चियाको बाफ र चुरोटको धुवासंग खेल्दै एकदिन दिदीलाइ अनायासै सोधेँ- ‘दिदी व्यापार कस्तो छ नि आजभोलि?’

जवाफले त म शब्दहीन भए !

“खै बाबू, व्यापार छ भनु मनले सराप्छ
व्यापार छैन भनु भगवानले सराप्छन ।”

जीवनमा बसन्तको ४३ वटा घुम्ती काटेर आइसकेकी दिदीको यो कत्रो ठूलो जवाफ !

जवाफमा के छैन? दर्शन छ। साहित्य छ । अनुभव छन् । आध्यात्म र भौतिक प्रगतिबिचको अन्तरविरोध छ ।

जीवनका पानामा हरदिन अनुभव र दर्शनको साहित्य लेख्ने मन दिदीको अगाडि कागजमा मैले कोर्ने टुटेफुटेको साहित्यको के अर्थ ! त्यो दिन केही नबोली चियापसलबाट चुपचाप निस्के । र मौनता अहिलेसम्म जारी छ ।

टुटेफुटेको साहित्यको के अर्थ ? गाउँमा सधै यस्तै छ । गाउँमा सबै उस्तै छ ।

 

Read More From Suman Bhattarai:

नलेखीनुपर्ने प्रेमपत्र | Suman Bhattarai

-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *