प्रिय बागमती,
म लेख्छु जे देख्छु।
गनाइरहेको बागमतीको किनारमा बसेर
बगिरहेका फोहोरका टुक्रा हेर्दै
ढलिरहेका जीवनको खम्बा बारे के लेखुँ?
जलिरहेका पुत्लाहरू
के भन्दा हुन्, आफैबाट निस्किएको धुँवाको मुस्लोसँग ?
वर्षा बनेर झरेका पानीका थोपाहरू मिसिएको बादलमा
आफैले अन्तिम पटक छाडेको स्वास पाउछ कि नाइँ ?
यदि पाउँछ भने म जिवित हुनेछु, तिमी भित्र।
तर छैन भने म हराइसके
तिम्रो जीवन बाट
तिम्रो मन बाट।
जलेर बाँकी रहेको मेरो अस्तु लुछ्न आएका यी कागहरुले
उसको घर सम्म खबर पुर्याउँछन् कि नाइँ ?
यदि पुर्याउँछन् भने भनिदिनू,
मेरा लागि बजेका शंखका एकोहोरो धुन हरूमा
तिम्रै नाम गुञ्जिएको थियो भनेर।
चिता नजलेर मलामीहरूले मलाई ठटाउँदै गर्दा
सुनाइदिनू निस्किएका निर्जीव चित्कारहरूमा
तिमीलाई पुकारेको थिएँ भनेर।
प्रिय बागमती
मेरा केही अवशेषहरू बचाई राख्नु,
र वर्षौ पछि पुर्याइदिनु उ सँगै
एउटै चितामा
सायद आत्माले शान्ति पाउनेछ।
जीवनले हानेको,
परिस्थितिले बानेको,
कर्मले मारेको,
एक कुँजो
चिर्पटको रापले जल्दै गर्दा
अलिकति वियोग मर्यो,
अलिकति हार मर्यो,
अलिकति असफलता मर्यो,
अलिकति नैराश्य मर्यो भनेर
चित्त बुझाउनु।
प्रिय बागमती
तिम्रो किनारमा बसेर
तिमी सँग पोखेका यी बिलयहरु
बिन्ती कसैलाई नसुनाउनु,
तिमी सँग बगेको मैलो पानीमा
म मेरो जीवनको सङ्ग्लो खोज्दा खोज्दै
तिमी भित्रै समाहित हुन पुगे।
प्रिय बागमती
मेरा कविताहरू यही कतै कैद गरेर राख्नु
कोही वर्षौ पछि खोज्न आएछ भने
सुनाइदिनु नैराश्यको एउटा अध्याय।
Read More From Susan Chapagain:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com