१३० वर्ष अघिको नेपाल दर्शाउने नाटक ‘अर्धाङ्गिनी’ | Ardhangini | Drama
काठमाडौंमा नाटक अर्धाङ्गिनी मञ्चन हुने भएको छ। मोक्षदा थिएटरको आयोजनामा माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको सभागृहमा फागुन ७ गते देखि ९ गतेसम्म मञ्चन हुन लागेको हो। विलियम शेक्सपियरको नाटक ‘मर्चेन्ट अफ भेनिस’लाई सुगम दुलाल र गौरव भट्टले रूपान्तरण गरी अर्धाङ्गिनी बनाएका हुन्। यस नाटकका निर्देशक कृपा अर्याल छिन्।
यस नाटकबारे मोक्षदा थिएटरका संयोजक सुगम दुलाल र निर्देशक कृपा अर्यालसँग हामीले कुराकानी गरेका छौं।
अर्धाङ्गिनी कस्तो नाटक हो?
अर्धाङ्गिनीले आज भन्दा १३० वर्ष अघिको नेपालको चित्र दर्शाउँछ। यस नाटकमा महिलाले समाजमा ओगटेका कमजोर स्थान र त्यसविरूद्धको लडाइँका कथा देखाइएका छन्। साथै जातका आधारमा गरिने अपहेलनाका कारण पीडामा परेका गाउँलेहरूको भोगाइ पनि दर्शाइएको छ।
म्युजिकल प्रयोग भएको र अनेक पात्रहरूको आ-आफ्नै कथा समेटी देखाइने एक शक्तिशाली नाटक हो अर्धाङ्गिनी। भाग्यसँगको युद्ध , समाजसँगको युद्ध, जरा गाडेर बसेको मानसिकतासंगको युद्ध, समानताको युद्ध हो अर्धाङ्गिनी।
शेक्सपियरको नाटक त धेरैले पढिसकेका हुन्छन्। अरूले पढिसकेकै नाटक देखाउँदा दर्शकको ध्यान तानिरहन अप्ठ्यारो हुँदैन?
मर्चेन्ट अफ भेनिस पढिसकेका मान्छेलाई अर्धाङ्गिनी हेर्दा नयाँ नाटक हेरे झै लाग्ने छ। किनकी हामीले नाटकलाई अनुवाद गरेका हैनौं। वास्तवमा अर्धाङ्गिनीमा तपाईंले नेपाल भेट्नु हुनेछ। नेपालको इतिहास, गाउँ समाज, यहाँका बासिन्दा, समस्या, चुनौती हरेक कुरा पाउनु हुनेछ। मर्चेन्ट अफ भेनिसमा कथा इटालीको थियो। पात्रहरु त्यहीँका थिए। विषय र प्रसंग हामीसँग मिल्दो जुल्दो थिएन। हाम्रो नाटक त्यस्तो छैन। हामीले मर्चेन्ट अफ भेनिसको मूल भाव मात्र लिएर मौलिक स्वाद बाड्न खोजेका छौं।
यही नाटक गर्ने निर्णय कसरी लिनु भयो?
खासमा हामीले थुप्रै नाटक छान्यौं। अन्तिममा नाटन नगर्ने निर्णयमा पनि पुगिसकेका थियौं। धेरै समय स्क्रिप्ट लेखनमै बितिसकेको थियो। अन्त्यमा गौरव भट्ट भाइले ‘मर्चेन्ट अफ भेनिस’ लाई नेपाली मूलमा उतार्ने कोशिस गरे। उनले लेखेको पहिलो चरणको स्क्रिप्ट मनपर्यो। त्यसपछि गौरवसँग मिलेर स्क्रिप्टलाई थप नाटकीय आकार दिँदै गयौं। लेखनको सन्दर्भमा अर्धाङ्गिनी शक्तिशाली बनेको छ।
कलाकारहरू कसरी छनौट भए?
थिएटर कमिटीमा हामी १५-२० जना थियौं। अभिनय गर्ने रूची सबैमा थिएन। कसैका लागि सुहाउने पात्र पनि थिएन। त्यसैले केही कमिटीकै त केही बाहिरबाट खोज्यौं। कुनै पात्रको भूमिका जटिल छ। चार-पाँच जनाको अभिनय हेरेपछि कलाकार टुंग्याएका हौं। अहिले कलाकारले पात्र बुझेका छन्। कलाकारले पात्र बुझेपछि दर्शकले कथाको मर्म बुझ्न सक्छन्।
रिहर्सलका क्रममा कस्ता अप्ठ्याराहरु आइपरे? निर्देशनमा कति सहज/गाह्रो भयो?
कलाकार खोज्न भन्दा पनि नेपथ्यमा काम गर्ने आर्टिस्ट खोज्न अप्ठ्यारो भयो। नाटकमा कलाकार बाहेक पनि संगीत, प्रकाश, प्रप्स, सेट, विज्ञापन, आदिमा थुप्रै मान्छेको सहयोग चाहिन्छ। त्यस पक्षमा भने हामीलाई अलिक गाह्रो भयो। साथै विभिन्न संकायका विधार्थीहरू नाटकमा सहभागी छन्। कजेल सकिने समय सबैको एउटै थिएन। त्यसैले रिहर्सल राख्दा कुनै समय कसैलाई पायक पर्ने/ कसैलाई नपर्ने समस्या आइरह्यो। हामीले अभ्यास कलेज छुट्टी हुँदा गर्यौ। त्यस्तै साथीहरूको परीक्षा पनि पालै पालो हुँदा नाटक मञ्चनको समय तय गर्न पनि ढिला भयो।
नाटकमा जुनियरदेखि सिनियर कलाकारको सहभागीता हुँदा निर्देशन गर्न केहि असहजता पक्कै भयो। तर सबैले आफ्नो पात्रको भूमिका कुशतलापूर्वक निभाइदिएकाले धेरै सहज भयो। सबैले एक अर्काप्रति गरेको विश्वासले काम सहज भयो। त्यसकारण रिहर्सलको फल हामीले सोचेभन्दा सन्तोषजनक पाएका छौं।
यो नाटकको दर्शकको रुपमा कसलाई हेरिरहनु भएको छ?
यो नाटक युवादेखि वृद्धवृद्धासम्म सबैले हेर्न र बुझ्न सकिन्छ। हामी सबै यही देशका नागरिक हौं र इतिहासमा देशबासीले भोगेका अन्याय र असामानताका बारे सबैले जान्न आवश्यक छ। इतिहास हेरेरै हामी वर्तमानलाई अझ प्रस्टसँग बुझ्न सक्छौं। त्यसबेलाका चोटहरूको खत अझै बाँकी छ या छैन भनेर मूल्यांकन गर्न पनि हामीले समयको पाना पल्टाउनु पर्छ। यो नाटकले हामीलाई समयसँगै समाजमा देखिने अन्तरबारे पनि बुझ्न सघाउने छ। त्यसैले यो नाटक सबैलाई हेर्न आग्रह गर्छु।
मोक्षदा थिएटर के हो?
यो सेन्ट जेभियर्स कलेज भित्रको थिएटर र ड्रामा कमिटी हो।
मोक्षदा नाम नै किन ?
विद्यार्थी उमेरमा हामीले मानसिक रूपमा अनेक उतारचढाव सहनुपर्छ। आफुलाई चिन्न प्रयासरत हुन्छौं हामी। त्यसका लागि स्थिरता प्राप्त गर्नु, शून्यतासम्म पुग्नु आवश्यक पर्छ जस्तो लाग्छ। नाटकमार्फत् हामी अरू पात्र बनेर आफैंलाई परीक्षण गर्न पाउछौं। आफैंबाट मुक्त भई आफैंलाई भेट्नु मज्जा हैन र ? मोक्ष भनेकै पनि त मुक्ति हो। र मोक्षदा अर्थात मोक्ष प्राप्ति।
अन्तिममा केही भन्न चाहनुहुन्छ?
मोक्षदा थिएटरको पहिलो प्रयास हो ‘अर्धाङ्गिनी’। हामी भविष्यमा अनेक प्रयासहरू गरिरहन चाहान्छौं। ‘अर्धाङ्गिनी’ पनि हामी थुप्रैले निकै माया र मेहनत गरेर तयार पारेको नाटक हो। यो माया हामी तपाईहरूसँग पनि बाड्ने जमर्को गर्दैछौं। नाटक हेरेर हाम्रो हौसला बढाइदिनुहुन्छ होला भन्ने कुरामा आशावादी छौं।
Get Your Ticket: https://docs.google.com/forms/d/e/1FAIpQLScLI6dKMQDAfn67d3_gCZb49IkVL_IOTtWYaku9Ffat1jfWZQ/viewform
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com