मेरो नाम धनकाजी । म एउटा जातले धनी अर्को कुकर्मको फलस्वरुप धनी । सानैमा बाबुआमाले काजीको दर्जा दिएदेखि म आफूलाई धनी भएको ठान्थेँ । तर म धनी तब हुन थाले जब मैले अरुलाई ठगेर कमाउन सिकेँ । बाहिर अरुको अगाडि खुल्लारुपमा ठगेर कमाउन लाज त लाग्थ्यो । तर, साच्चै भनेको मनभित्र नयाँ नोट गन्दा आउने आनन्द छुट्टै हुने रहेछ । धेरैले मैले गर्ने गरेको काम गलत हो नि भने तर खै म भने आफूलाई सधै ठीक ठान्थेँ । सायद म त्यस्तै पाठशालामा हुर्किदै गएँ । अब त्यसमा मेरो के दोष ?
एक दिनको कुरा हो- मैले सहयोग गरिदिनुपर्यो भनेर एक जमात हुल घर खोज्दै आए । ‘काजीको कुरा त कसैले काट्न सक्दैन । हाम्रो गल्ती लुकाइदिनु पर्यो।’ भन्दै पल्लो गाँउका माइला काका बिन्ती गर्न थाल्नुभयो । त्यस बखतसम्म म जातले कहलिएको धनी मात्र थिए, अब काम गरेर धनी हुने दिनको सुरुवात भयो ।
‘समस्या के हो?’ मैले कुरा बुझ्न सोधेँ ।
माइला काकाले मेरो नजिक आएर भन्नुभयो, ‘हामी जंगलमा हरिण मार्न गएक थियौँ तर हरिणलाई ताकेर भाला हान्दा भेडालाई लागेछ । अब के गर्ने हामीले? सहयोग गर्नुपर्यो हजुर ।’
काकाको कुरा सुनेर मैले हाँसो थाम्न सकिनँ । हास्दै भनेँ, ‘के भयो त काका, भेडालाई घर लाने, पकाएर खाने ।’
मेरो हाँसो नपचेर होला, अलि उमेर छिप्पिएको एक ठिटोले प्याच्चै बोल्यो, ‘भेडा भनेको त्यो कसाइको छोरा क्या । गाई चराउदै रहेछ भाला लागेर नहुनु भइगयो ।’
माइला काकाले थपे, ‘हामीले भीरबाट खसेको अवस्थामा भेटेको भनेर पुलिसको जिम्मा त लगायौँ तर त्यो कसाइले रिसले ढिपी कसेर उजुरी हाल्न जादैछ रे । लौ न सहयोग गरिदिनु पर्यो काजी बाबु।’
धेरै सोच्न नरुचाउने म त्यो बेला साच्चै सोच्न बाध्य भएँ ।
मैले सोच्न तब बन्द गरेँ जब अगाडि एक बाकसमा भेटीको रुपमा हात्तीका नोट टक्राइयो । बल्ल के गर्नुपर्यो भनेर निर्णय लिन सकेँ । मैले भनेँ, ‘तपाईहरु ढुक्क हुनुहोस्, त्यो कसाइ या भेडानै भनौँ, भिरबाट खसेको हो भनेर पुष्टि गर्ने जिम्मा मेरो भयो ।’
त्यति कुरा सुनेपछि सबै खुसी हुँदै घरतर्फ लागे ।
म अर्को बिहानै भाले बास्दै गर्दा कालो झोला भिरेर, कालो टोपी ढल्काउदै चौकीतिर लागेँ । त्यो हाम्रो निम्ति कहलिएको भेडाको बाउ ‘कसाइ’ पनि चौकी पुगिसकेको रहेछ । नमस्ते गर्दै थियो मलाई । म भने उसलाई नदेखेझै चौकी प्रमुखको कोठा छिरेँ । भिरेको कालो झोला टेबुलमा राखेँ, मुन्टो हल्लाएरै कुरा भने अनि निस्के । काम त्यतिकैमा निप्टियो ।
साझपख एफएममा भिरबाट खसेर एक युवकको मृत्यु भएको समाचार सुनेँ र आफ्नो कर्तुत सम्झिएर फुरुङ उफ्रिए । झोलाको शक्ति मैले त्यहि दिन बुझिसकेको थिए ।
‘एक सर्को चुरोट ताने चुरोटको लत लाग्छ’ भन्थे । हो रहेछ । मैले चुरोट त कहिले ताँनिन तर ठूलो जातको दम्भले हजारौं कुकर्म निप्ट्याएँ । वल्लो गाउँ-पल्लो गाउँ, पूर्व किल्ला पश्चिम काङ्डा चारैतिर मेरो गुनगान सुन्थेँ । “एक झोला, काम पूरा” भन्दै मलाई केहिले गिज्याउने नि गर्थे । ‘बालै फरर’ भन्दै म कानमा तेल हालेर बस्थेँ ।
पाँच वर्ष पछि यस्तै काम गर्दै, सँगै पूजापाठ गर्दै नयाँ घर बनाएँ । त्यो पाँच वर्ष कसरी बित्यो मलाई पत्तै भएन । हुन त नोट गन्न नभ्याइरहेको बेला समयको कसलाई पर्वाह । मैले सम्पत्तिको नाममा यति धेरै पैँसा कमाए कि मेरो टलक्कै टल्किने टालुमा अहिले फेरि ढपक्कै कालो कपाल छ ।
मेरो काम भनेको ठगेर पैँसा कमाउने थियो । मैले ठगिठगि पैसा कमाइनै रहेँ । निर्दोषलाई फसाउदै धनाड्यलाई लुट्दै म झन धनी हुँदै गएँ ।
संसारमा कुकर्म गर्ने पापी नि कति हुन कति, दिनकै सयौँ सहरिया आउछन् सहयोग माग्न । सम्पत्ति नि उनीहरु सितै हुन्छ, समस्याको खानी पनि उनीहरु सितै । यिनैहरुको समस्या समाधान गर्दा गर्दा, गलतलाई सहि पार्दापार्दा म धनाड्य धनकाजी बनेको हुँ ।
म यति धनी थिएँ कि मेरो ४ तल्ले घरमा १४ वटा कोठा हजारका नोटले भरिएका थिए । एउटा सुत्ने कोठा र अर्को सुताउने कोठा मात्र खाली थियो ।
पैंसा जति खर्च गर्यो त्यति बढ्ने । त्यसैकारण एकारात के झोक चल्यो काम गर्नेलाई फोन गरेर १ करोडको कार्पेट, ५० लाखको सजावटी सामान र लाखौँ रुपैँया पर्ने खाट किन्न भनेँ ।
निर्देशनको पालना गर्दै अर्को बिहानै सामान घरदैलोमा आइपुग्यो । दिनभरी लगाएर कामदारहरुले बडो मज्जाले कार्पेट र खाट ओच्छयाए । काम गर्नेमा धेरै तल्लो जातकै थिए । त्यो कसाइ बूढो नि रहेछ तर काम भने राम्रो गर्ने रहेछ । मिहिनेती र इमानदार । अब मेरो घर राजदरवार भन्दा कम थिएन । तर विचरा ती कामदारहरुको थकित हालत देखेर उनीहरुलाई दोब्बर ज्याला दिने मन भयो । काम गरेबापत प्रशन्न हुँदै मैले सबैलाई हजारहजारको कालो झोला थमाए र पठाइदिए ।
सोहि दिन मेरो घर, घरबाट महल बनेको थियो । १ करोडको कार्पेट, ५० लाखको सजावटी सामान र लाखौँको खाट किन्ने सामान्य व्यक्तिको औकात कहाँ हुन्छ र? त्यसैले राजाले जस्तै छाती फुलाएर १ करोडको कार्पेटमा टेक्दै टेक्दै कोठाको लाखौँ रुपैँयाको खाटमा डंग्रङ्ग पल्टिए ।
तर त्यस रात म धनाड्य धनकाजीलाई करोडौको कार्पेट र लाखौँको खाट पाएर पनि फिटिक्कै निन्द्रा लागेन । त्यो रात मैले खाटको ठीक अगाडि टांगिएको त्यो भेडाको टाउको हेरेर आफ्नो जिन्दगीलाई सरापी मात्र रहेँ ।
इमानदारीतापूर्वक, जातभात नहेरी, मिहिनेत गरेर थोरै नै कमाएको भए नि आज म खुशी हुन्थेँ होला तर बिडम्बना म आज अथाह सुखी छु तर खुशी कदापी छैन ।
-समाप्त-
-Susan Chaudhary
Read More From Susan Chaudhary
1. हजार सपना बोकेकी मेरी आमा
2. To My Lady | Poem by Susan Chaudhary
3. मैले त कुरै बुझिन क्या | कविता | सुसन चौधरी
1 Comment