कुसे औंसी | Father’s Day | Nepali Poem by Abishek Khanal

धन्यबाद त मैले दिनै पर्छ
त्यति टाढा भएको मेरो छोराले
यति टाढा भएको बुवालाई
बुवाको मुख हेर्ने दिनमा
समय हेर्ने घडी उपहार पठाईदिएको छ।

तर छोरा,
हार खाईसकेको मेरो नाडीले
तिम्रो उपहार घडीलाई
चलाउँछ या चलाउँदैन
मलाई थाहा छैन।

छोरा तिमीले पठाइदिएको घडीले मेरो पहिलेको समय देखाँउदैन…
अनि मेरा आँखाले तिम्रो घडीले देखाउने अहिलेको समय देख्दैनन् !

धेरै थोक फेरियो छोरा-
बाटाहरु पहिलेभन्दा सजिला भएका छन्
तर
पैतालाका पाइला पहिला जस्ता अडिला छैनन्।

फेरि मलाई लौरो टेकेर हिड्न
पटक्कै मन लाग्दैन छोरा।
यस्तो लाग्छ-
अब मेरा खुट्टामा खुट्टै छैनन्।

कहिलेकाँही तेरी आमाले अलिक कडा भात पकाउँछे-जब निल्नलाई गाह्रो पर्छ
तब यस्तो लाग्छ
अब बिस्तारै मेरा भोकहरु
आफै अघाउनेछन्..

छोरा अब हामीलाई उपहार होइन
तिम्रो स्याहार चाहिएको छ,
अब हामीलाई घडी होइन छोरा
तिम्रो समय चाहिएको छ….

तिम्रो समय चाहिएको छ….।

-Father’s Day poem by Abishek Khanal

Image by airatic

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *