नारीको जीवन के हो? | Pratibha Dixit

म एउटा नारी हुँ। मेरो जीवन साधारण तहमा चल्दै छ। मेरो शब्दमा नारी भन्नाले छोरी मान्छे हो। घर परिवार चलाउने एक आधार हो नारी। पुस्तालाई निरन्तरता दिलाउने एक आश्रय हो  नारी। हाम्रो समाजको एउटा सत्य यो पनि छ कि नारीको जीवन घरभित्र मात्र सीमित छ। अनेकौं दुःख, असमानता, अपहेलना, भेदभाव सहेर पनि समाजलाई निरन्तर रूपमा चलाइराख्ने नारी । नारीमाथि आफ्नो हक भएको पुष्टि गर्नलाई नारीलाई वस्तु जस्तो व्यवहार गर्छन् पुरुषहरु र सक्दो दुर्व्यवहार गरेर बन्छन् अरुको सामु ठूलो । मेरो समाजको कुरा गर्दै छु म, जहाँ महिलामाथि अनेकौं अत्याचार हुन्छन् । भन्नु पर्दा छोरी त अर्काको धन हो भन्छन् मेरो समाजका ज्ञानीहरु, तर आफ्नो दृष्टि गुमाएकी एक आमालाई बीच बाटोमा छाडेर गएको त्यो छोरालाई म कहिले बिर्सन  सक्दैन। त्यो आमाको आँसु मैले देखेको कल्पना गर्दा मेरा आँखा अझ पनि रसाउँछन्। धन भए त सम्हालेर राख्नु पर्ने हो नि होइन र ? के यही हो महिलाको अवस्था हाम्रो समाजमा ?

बाँकी नै छ अझै पनि- छोरी किन जन्माएको भनेर आफ्नो श्रीमतीलाई कुट्ने मेरो गाउँको काका।  दाइजो थोरै ल्याउँदा जिउँदै मट्टितेल हालेर जलाउने ती पापीहरु।  सोच्नुस् त अलिकति पोल्दा कस्तो पीडा हुन्छ अनि त्यो पूरा शरीर पोल्दा कस्तो भयो होला? अनुभव पनि गर्न सक्नु हुन्न। त्यो शरीरलाई अन्त्येष्टि गर्न लाग्दा र आगो लगाउँदा त्यो लासले पनि भन्छ होला न जलाउनुस् बाबा एकदम धेरै पीडा हुन्छ। महिलालाई महिला भएको कीमत चुकाउनु पर्छ जीवन जिउनु भन्दा पहिले मर्नु पर्छ। जन्मिँदा न पाउँदै अन्त्य गरिन्छ एउटा महिलाको जीवन । कुनै मोडमा प्रेम प्रस्ताव स्वीकार नगरेकोमा एसिडको प्रहर हुन्छ भने कुनै मोडमा सामूहिक बलात्कार । प्रायः जीवन नै डरमा बित्छ एउटा महिलाको।

आश्चर्य लाग्छ जब महिलाले भन्छन् म भाग्यमानी छु कि मैले पनि पुरुष झै अधिकार पाएको छु। म सोध्छु किन भाग्यमानी ठान्नु ? के समाजले कुनै उपकार गरेको छ र ? किन महिलालाई अरुबाट फरक ठान्नु हुन्छ ? प्रश्न सरल लाग्ला तर यसको उत्तर जटिल छ।

हाम्रो समाजमा महिलालाई पिछडीएको वर्ग मानिन्छ भने अर्को तिर महिलालाई देवी मानेर पूजा गरिन्छ। एउटा त्यही मात्र उदहारण छ जहाँ महिलालाई पुजेको र सम्मान दिएको भेटिन्छ। महिलालाई पुरुषलाई दिए जस्तो वातावरण दिनुहोस् अनि हेर्नुहोस महिलाले के गर्न सक्छ।

मेरो अनुभवमा पुरुषले महिला प्रति हिंसा गर्ने र महिला भने आफ्नो अपार दुःखलाई भुली पुरुषलाई भगवानको दर्जा दिने गर्छन्। मलाई लाग्छ महिला कमजोर हुनुमा महिलाकै ठूलो हात छ। कुनै महिलामाथि अत्याचार भएको छ भने त्यो महिलाको सहयोग गर्नुको साटो उल्टै महिलालाई दोष दिन्छन्। के गर्नु यसको समाधानको लागि?

कहिले आमा, कहिले बहिनी, कहिले पत्नी, त कहिले देवी हुन्छिन् उनी भने कहिले उनलाई बोक्सी भनेर निकालिन्छ घर परिवारबाट। महिलालाई महिनावारी हुन्छ तर त्यो प्रक्रितिक कुरालाई पनि पाप र अपवित्र भन्ने गर्छन् हाम्रा महान ज्ञानीहरु।  त्यो एक हप्तासम्म रक्त बगाएर हाम्रो जीवन अगाडि बढाउने आश्वासन दिन्छिन् महिलाले। मानिन्छ, पौराणिक किताबमा  माता सतीको मृत्युपछि भगवान शिवको क्रोध शान्त गर्नको लागि भगवान विष्णुले आफ्नो चक्रबाट माता सतीको शरीरलाई धेरै अङ्गमा भिवाजित गरे र १०८ अङ्गमा एउटा अङ्ग भारतको गुवाहाटी, अछामस्थित कमाख्या मन्दिरमा खसेको थियो । मानिन्छ त्यहा देवी सतिको पाठेघर खसेको थियो। त्यो मन्दिरमा कमाख्या देवीको मूर्तिमा उहाँको योनीमार्गको मात्र पूजा अथवा आराधना गरिन्छ जहाँबाट महिनावारीमा बग्ने रगत बगिरहेको देखिन्छ। तर उहाँ जस्तै महिनावारी चलिरहेको महिलालाई मन्दिरभित्र जान निषेध छ। यस्तो छ समानताका झलकहरु हाम्रो समाजमा। अझै पनि यो हाम्रो समाजमा ट्याबो (taboo) मानिन्छ।

घर बनाउँदा सबैभन्दा पहिले त्यसको जग मजबूत हुनुपर्छ अनि मात्र घर वर्षौसम्म रही रहन्छ , त्यसैगरी महिला घर, समाजको जगको रूपमा हुन्छिन् । महिलालाई घर परिवारले गरेको सम्मानले धेरै हौसला दिन्छ। र, जग बलियो गराउनु हामी सबैको जिम्मेवारी हो।

हाम्रो घरमा चली आइरहेको परम्परा र व्यवहार अनुसार महिलाले सधैं पुरुषको सम्मान गर्नुपर्छ, पुरुषको आदर गर्नुपर्ने कुराहरु सिकाइन्छ तर महिलाको पनि समान हक छ, महिलालाई पनि आदर र समान व्यवहार गर्नुपर्ने कुरामा कहिले ध्यान दिएको देखिन्न।

यहाँ कुरा सबैको अधिकारको हो। महिला र पुरुषको होइन।

भनिन्छ मानिस एक बुद्धिसिल प्राणी हो। तर सही र गलत छुट्याउने क्षमता भएर पनि मानिसले जनावर जस्तो व्यवहार किन गर्छ कहिलेकाहीँ?

हाम्रो संविधानमा समानताको हक छ भनेर लेखिएको त छ तर खै त समानता । अब आयो कुरा परिवर्तनको । के महिलाको लागि जीवन परिवर्तन हुन्छ? मेरो विचारमा अवश्य हुन सक्छ जब सुरुवात ‘म’ बाट हुन्छ, आफूबाट हुन्छ। हजुरले म आफूले मात्र कसरी गर्न सक्छु भन्ने सोच्नुभन्दा परिवर्तन आजैबाट सुरुवात गरौँ। आफ्नो परिवारमा महिलालाई गर्ने व्यवहारमा समानता ल्याउनुस् । आफ्नो छोरी, बहिनी ,आमासित राम्रो व्यवहार गर्नुस्। हरेक मानिसलाई मानिस जस्तै व्यवहार गर्नुस्। अनि बिस्तारै बदलिन्छ समाज अनि बदलिन्छ देश।

-Pratibha Dixit

Image by Pexels from Pixabay

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *