रहर | Book Review | Suman Bhattarai

Suman Bhattarai

आख्यान अहिले हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । समाजको चरित्र, चित्र, व्यक्तिगत भोगाइ, बुझाइ, सुख, दुःख र जीवनको हर आयाम यसमा समेटिने भएकाले आख्यान प्रतिको रुचि बढ्दो छ। विगतको दशक आख्यान लेखनको क्षेत्रको लागि विशेष रह्यो । अग्रज र युवा लेखकले समाज र साहित्यलाई सँगै डोर्राइ यसलाई नयाँ उचाइमा पुर्याएका छन् । यसै सन्दर्भमा नव लेखक सुरेश बडालको डेब्यु पुस्तक “रहर”ले विधागत रुपमा कथा संग्रहमा अर्को उचाइ थपेको छ ।

जम्मा १३ कथा समेटिएको १७९ पृष्ठको “रहर”ले नयाँ र पुराना दुवै पुस्ताका पाठकलाई साहित्य पठनमा रहर थप्ने काम पक्कै गर्नेछ । विगत र विधमान नेपाली समाजको कथा चित्रण गर्न लेखक सफल भएका छन् । रहरमा बाल मनोविज्ञान र बालापनको मिठास झल्काउने कथाहरु समेटिएका छन्। शैक्षिक योग्यता, जात व्यवस्था, आर्थिक अवस्था र अन्धविश्वासको खाडलमा पुरिएका प्रेमिल जोडीहरुको वियोगका कथा समेटिएका छन्। प्रेम र सामाजिक समस्याले निम्त्याउने मनोव्यथाको कथा समेटिएका छन् । कतै विछट्टै हँसाउने, कतै रुवाउने कथाहरु समेटिएका छन् ।

तसर्थ समय, भावना, समस्या , र साहित्यको समानुपातिक सङ्ग्रह हो “रहर”।

लेखकको विषयवस्तु छनोट तारिफ योग्य छ । लेखनशैली अति सरल ! पाठकलाई रहर किताब नलागेर आफ्ना साझा सङ्ग्रह लाग्छन् । ठीक मलाइ लागेजस्तै !

लेखकले पस्केका सबै कथा हाम्रा आम तीतामीठा अनुभवसँग जोडिएका छन्। लेखकले कथा नास्पतीमा प्रयोग गरेको साङ्केतिक पन्चलाइनले पुस्तकलाई सुरुमै बलियो बनाएको छ । सामान्य घटना, सामान्य परिवेश, सामान्य परिस्थितिमा बगेको कथाले पनि पाठकको मन मस्तिष्कलाई बहकाउछ। यो नै लेखन र लेखकको शक्ति हो ।

त्यस्तै कथा, घर छोड्ने योजना, दसैं होमवर्क, नयाँ सर, र बोल्ने आँखाहरु हामी सबैको सबभन्दा महत्त्वपूर्ण पल, बालपनको व्याख्यामा कोरिएका छन्। लेखकले कतै कथा खोजेनन्। खोजे हामी सबैले भोगेका साझा घटनाहरु तीता मीठा अनुभवहरु! हत्केलाबाट फुस्किएका ती स्वर्णिम पलहरु। हाम्रो मस्तिष्कमा घुमिरहने सुलभ घटनाहरु। हामीबाट गुज्रेका मनोवैज्ञानिक उत्पीडनहरु।

त्यसैले रहर भित्रका कथाहरुमा पाठकले विशेष अपनत्व महसुस गर्न पाउछन् । लेखकले पाठकलाई, बालापनको साहित्यिक ऎना खोजिदिएका छन् । आफू र आफ्ना रमाइला दिनहरु हेर्नू छ भने, बजार गएर ‘रहर’ खोजी पढ्नु म आग्रह गर्छु।

आमाको पढाइ, हजुरबाको राजनीति, हाम्रो विगतको नेपाली समाजमा आमा र बुवाले भोग्नुभएका साझा उल्झन र पीडाको कथा हो । हाम्रा आमाहरुले खेप्नुपरेको पढाइको सास्तीको समस्या र साक्षरताको स्वपनिल सपनामा गुज्रेको उहाँहरुको टिठलाग्दो वर्तमानको सपाट चित्र लेखकले देखाएका छन्। त्यस्तै हाम्रा बुवाहरुले भोग्नुभएको राजनीतिक समस्या, बुवाहरुको राजनीतिले परिवारमा पार्ने असर र उहाँको पुस्ताले खेप्नुपरेको राजनीतिक र सामाजिक नैराश्यता लेखकले कथा मार्फत झल्काएका छन्। यस अर्थमा रहर सामाजिक समस्याहरु समेटिएको एक अब्बल सामाजिक कृति पनि हो ।

हजारको नोट, पिर, घरबेटीकी छोरी, स्वाद जिन्दगीको, र बेहुला बन्ने रहर जस्ता कथाहरु नव पुस्ताका समस्या, रहनसहन नियाल्ने आखिझ्याल हुन्। हामीले अहिले भोग्ने प्रेम, आर्थिक अवस्था, पारिवारिक उल्झन र सम्बन्धहरुको उतारचढावले निम्त्याउने समस्याहरु सबै यसमा समेटिएका छन्। हरेक कथा हरेक युवायुवतीको जीवनसँग मिल्दोजुल्दो छ । कतै हर्ष त कतै रुवाइका कथा व्यथाहरु यसमा समेटिएका छन् ।

विशेषत हामी सबैको जीवन तीन चरणमा बित्छ । बालपन, यौवन र बुढेसापन ! हामी सबैको जीवन यिनै विभिन्न चरणहरुबाट गुज्रेर बित्छ । जीवनको सम्पति भन्नू नै जीवनको विभिन्न चरणमा हामीले आर्जेको अनुभव हुन्। जसमा जीवनको हर आयाम समेटिन्छन्। र हरेक चरणको हरेक आयामको अनुभव सुरेश बडालले ‘रहर’मा समेटेका छन् । त्यसैले जीवनमा छुटाउनै नहुने आख्यानको सुचीमा मैले ‘रहर’लाई सूचीकरण गरेको छु।

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *