प्रिय मान्छे,
जो छुट्यौ हत्केलाका रेखाहरूबाट फेरि स्पर्श नहुने गरी ! जो छुट्यौ निधारका रेखाहरूबाट फेरि मिलन नहुने गरी ! जो छुट्यौ, प्रभातको मीठो सपनासरी ! जो प्रतिघातको गोरेटो पहिल्याएर छुट्यौ । जो आशाको सगरमाथाको आरोहण यात्रामा तल धकेली दिएर छुट्यौ ।
छुटेर जाने प्रिय मान्छे, तिम्रो नाममा आज एक कलम अभिवादन- एक डायरी माया र एक अन्तिम लेख !
कर्कलाबाट तप्केको पानीसरि आडहीन भइखस्ने नियति रहेछ भने पनि मन्जुर छ । शालिकग्राम र ढुङ्गा? के हुनु र के नहुनुको रोजाईको अन्तर नियतिले हाम्रो हातमा थमाइदिएको हुँदैन । त्यसैले जे छ, सबै स्वीकार्य छ ।
फूल जति सुन्दर र सुवासिलो होस्: फक्रने र ओइलिनुको रित त भोग्नु पर्ने नै छ ! तर अक्सर उसको सुन्दरता र सुवास कहि विरानो लोक जंगलमै हराइरहेको हुन्छ। आखिर कति नै पो छन् र फूल बगैंचा र गमलामा मात्रै फुल्ने?
खोली जति सुसाइराखोस् ! दुई पहाडबीच नै उसका सुस्केराहरु अलप भइरहेका हुन्छन् । त्यसैले अलिखित र अदृश्यमै सुसाउनु र सुवासिनु रहेछ भने पनि सहर्ष मन्जुर छ !
त्यसैले प्रिय मान्छे, यस्तै नियति वा दुर्नियतीको बहावमा तिमी कतै छुट्यौ । आँखाबाट परेली भिजाइ तप्किएर कतै हरायौ । तिमीलाई छुटिने छुट थिएन; तर पनि छुट्यौ ! र पनि ठिकै छ । म तिमीलाई तिमी गएकै बाटो हेरिराख्नेछु । तिमी नआएको हेरिराख्नेछु ।
मैले आजसम्म दोभान नभेटेको खोली देखेको छैन । त्यसैले पनि मलाई बग्नुसँग गुनासो छैन । नियतिको चोटहरु सहिरहन मन्जुर छ ! बस् यात्रामै रहिरहुँ र निरन्तर बहिरहुँ ।
तिमीसँग छुटिँदा मसँग छुट्नलाई मात्र तिमी थियौ । तर मलाई समाउन बाँकी पूरा संसार थियो । त्यसैले छुटेर जाने प्रिय मान्छे, तिम्रो नाममा सदासयता मेरो नाममा अवसर ! छुटेपछि पनि तिमीलाई, अलिकति अवसरले सधैँ सम्झि राखौला !
सम्बन्धको गणितमा तिम्रै अंक भारी होस् । जीवन त लामो छ ! बाँकी गणित आआफ्नै भावना र प्रेरणाको क्याल्कुलेटरले चालौला । जीवनको उपल्लो छेउको चौतारीमा बिसाएर अन्तिम नाफाघाटाको हिसाब गरौंला ! यो पटक: तिम्रो किस्तीमा शुभकामना ! मेरो नाममा अभिमान । ऎना र समयको सबै कोणमा तिमीलाई घमण्डमा मुस्कुराइरहेको मुहारलेनै सम्झुला ! तिमीलाई अलिक धेरै अभिमानले सम्झिउला !
छुटेर जाने प्रिय मान्छे; फेरिनेहरूलाई हो जीवन सहज भइदिने । यथास्थानमै कोटको मौलोसरी अडिग उभिनेले हो यादहरुको मार खेप्नुपर्ने । सम्झनाको बज्रपात सहनुपर्ने ! र आशुले ओतप्रोत हुनुपर्ने । र पनि केही छैन ! फेरिदै फेरिदै नौलो हुनुभन्दा, सधैँभरी अडिगरहने मौलो नै हुनु बेस् ! तिमीलाई अलिकति स्वाभिमानले सम्झुला !
छोडनेहरूलाई हो सकस नहुने ! छाडिनेहरूलाई सकस र यादहरुको दह कसले छोड्दैन । सन्तापले छोड्दैन ! आँशुले छोड्दैन । र छुट्नेले आँखामा पानी मात्र छाडेर जाँदैन ! मुटुमा आगो पनि त छोडेर जान्छ । छोडिनेलाई कहिले आँखाको पानीले बगाइराख्छ । रित्तिँदाको दिन आगोले जलाइराख्छ । तिमीलाई कहिले आगोले त कहिले पानीले सम्झुला । कुनै फेज मुटु सिएर सम्झुला त कुनै फेज जीवन बाँचेर सम्झुला ।
प्रिय मान्छे, मलाई पनि तिमीले सम्झिनु ! तर मलाई थाहा छ, सम्झनाहरु अनुरोधमा हुँदैनन् । सम्झनालाई प्रेम चाहिन्छ ! एक आकस्मिकता र एक अनियमितता चाहिन्छ । भेटिनु-छुटिनुका संयोगहरू चाहिन्छन् ।
कुनै दिन सम्झियौ भने, मलाई फगत शितको थोपा सम्झेँ पुग्छ ! जो उज्यालोको प्रत्येक प्रहरहरु बोटसँगै बिताउन चाहान्थ्यो तर प्रकृतिको रितमा यो मन्जुर थिएन । त्यसैले बोटकै पातमा; बोटकै साथमा, ऊ बोटकै लागि हरायो ।
सम्झियौ भने: मलाई पालुवा सम्झनु ! जो हुरी र झरीको मारमा हुर्कनै नपाई कतै विलिन भयो । र गुनासो कहिल्यै नगर्नु हुनु र नहुनुको ! आखिर बसन्तमै मुर्झुराएका फूलहरु सबै फल पनि त भएका छैनन् !
मलाई फगत फूल सम्झेँ पुग्छ । जो कहिले केशमा सिउरिन चुडियो । कहिले पछ्यौरीमा सज्जिन चुडियो । कहिले कानमा अड्याइन चुडियो त कहिले ईश्वरलाई चढाउन चुडियो !
बिन्ती, यत्ति भन्दा बढी नसम्झनु !
Read More From Suman Bhattarai:
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com