आफैसँगको मीतमा! | Suman Bhattarai | Nepali Writer

suman bhattarai Offline Thinker

 

“सिमलीको भुवा बतासिएर कहिले वल्लोछेउ त कहिले पल्लोछेउ दौडिरहेछ! म पनि त्यतिकै हलुका हुन पाए?

जिन्दगीको फेजफेजमा फरकफरक बोझ र भारी बोकेर मौलोसरी टुलुटुलु वेदना खपि हेर्नभन्दा सिमलको रुखको हलुका भुवा भएको भए, बेजोड बतासिन पाइने थियो!

कसोकसो मलाई भुवासँग डाहा जागेर आयो।”

“आहा! जून कति राम्रो; टाढा हुँदा टाढै राम्रो। आधा हुँदा आधै राम्रो र पूरा हुँदा पूर्ण राम्रो ! कहिलेकाही बादलुले छेके पनि: यदाकदा ग्रहणहरुले टेकेपनि!

सधैझै जून चम्किएर चियाउन आइहाल्छ: एउटा सुन्दर बहार ल्याइहाल्छ!

किनकिन मलाई जुनसँग पनि डाहा लागेर आयो।”

 

“नजिकमा फेरि फूल राम्रो! बेसी फूले बेसी नै मगमग! लेकमा फूले लेक नै झकझक ! कौसीमा होस् या गमलामा, बगैंचामा होस् या कतै बिरानो जंगलमा!

काँडाहरुको माझ रहेर पनि, ओइलिनुपर्ने नियति सहेर पनि- फूल मुस्कुराएर सुन्दर फक्रिरहन्छ।

मलाई त फुलसँग पनि डाहा लागेर आयो।”

 

“उसो त बत्तीको चहक पनि कम महकको नहुने! अँध्यारो चिरेर उज्यालो ल्याइदिने । रंगीचंगी पुतलीहरु हुन् वा अन्य जीवकिराहरु- चमक्कै पछि लाग्ने!

मलाई बत्ती पनि उस्तै सुन्दर लाग्न थालेको थियो ।

तर जब बत्ति निभ्यो, एकाएक सबै बदलियो!

बुझे जीवन त सिएफएल बल्ब जस्तै हो रहेछ, उज्यालो छउन्जेल न हो झुम्मिनेको ताती लाग्ने! निभ्नासाथ विकल्पमा सबै मैनबत्ती खोज्न धाइहाल्छन् ।”

 

अचानक दिशाको नियन्त्रण नभई बेहिसाब उड्नुपर्ने सिमलीको भुवा सम्झेर दया लागेर आयो ! अर्कैको उज्यालोमा आश्रित रहनुपर्ने जूनको नियति सम्झेर टिठ लाग्न थाल्यो । र सुन्दरताकै कारण अनाहकमै चुडिनुपर्ने फूलको व्यथा सम्झँदा करुणा पलाएर आयो!

हैट! एक गुन र एक बैगुनको अर्को उपनाम त जीवन पो रहेछ ।

 

आफैं पनि त म चामल हुँ ! तर कहिले कनिका, कहिले अक्षेता त कहिले चौलानी हुन्छु ! जब मेरै अस्तित्वले मै आफैलाई झुक्क्याउँछ ! तब दुनियाँमा स्पष्टताको के औचित्य खोजुँ? त्यसैले एक गुन र एक बैगुनको अर्को उपनाम: यो जीवनलाई आफ्नै मीतसँग डोर्याउनेछु । आफैले आफैलाई डोर्याउनेछु ।

 

तातो हुन्जेल न हो पानीबाट पनि बाफ आउने! सेलाएपछी त मान्छे होस् या पानी- दुवैको बाफ र रवाफ हराउनैपर्छ। त्यसैले जीवनलाई लामै क्षितिजमा हेरूँला। अलिअलि रवाफ र अभिमानले त कसो नछोला। ठिकै छ, र पनि त्यसलाई कृतज्ञताले नै जितुला !

 

आफैसँगको मीतमा एक्लै बरालिउला ! सडकमा हिडँदा सडकलाई साथ दिउँला! भिर, पाखा  कहेराहरूमा उनैलाई साथ दिउँला। बगरमा हिडँदा खोलीलाई गिज्याउँला! र खोलीमा हिड्नुपरे बगरलाई।

अलिअलि जूनकिरीको सँगितमा आफ्नो सुस्केराको ताल मिलाइदिउँला। एकलासको सुनसानमा मनको शून्यता मिसाइदिउँला। मनले स्विकार्दा अदृश्य ईश्वर त आफ्ना हुन्छन्: दृश्यमा देखिएकी प्राकृतिलाई त झन मुटुमै सिउरौँला !

 

जीवन सायद अलिकति सडक, अलिकति यात्रा र अलिकति चौपारी हो । जहाँ हिड्ने, हात समाउने र सुस्ताउने सबैखाले भेटिन्छन्।

 

ठिकै छ त !

ती सबैमाझ; बैगुन गर्नेलाई गुनले जितुँला । गुन गर्नेलाई साथले जितुँला। आश गर्नेलाई आड दिउँला । घात गर्नेलाई पनि परिआए आड नै दिउँला। कसैलाई मुस्कानले सम्झिउँला त कसैलाई आशुले सम्झिउँला । तर सायद सबैभन्दा ठूलो कुरा कसैको गुन हो- आफैसँगको मीतमा त्यसलाई सधैँ साचेर जिउँला- सजाएरै जिउँला !

 

असिनाको चोट जति भारी होस्, जुन बोटको फल बिगार्न ऊ बज्रन्छ, उसैको फेदमै उसलाई पग्लेर पानी बन्नुपर्छ !

 

त्यसैले हृदयमा सबैको लागि मखमली फुलाउँला। अँखामा सबैको लागि सदासयता झल्काउँला । र ओठमा सबैको लागि मुस्कान फक्राउँला। आखिर, आफै सँगको मीतमा दुनियाँको लागि फल बिगार्ने असिना नभएर मात्र पानी हुनु छ ।

झरी हुनु छ र मनभरी हुनु छ ।

 

बगिरहनुपर्ने खोलाको कर्म हो? मर्म हो? या धर्म हो? यकिन भएन ! बस जानेको यत्ति हो- खोला बगिरहनुपर्छ । त्यस्तै बहावको अर्को नाम जिन्दगी हो । सानातिना अप्ठ्यारा, बाध्यताले कतै रोक्ला? थुन्ला वा छेक्ला? बेपरवाह बग्ने हो ! आफैसँगको मीतमा कहि बाटो नँया बनाउँला । कहि बाटो पुरानै रोजुँला ! बस् बहनु छ निरन्तर !

निरन्तर बहनु छ ।

 

विश्वासको कुरा न हो; भर परेपछि जीवन देउरालीमा बाँधेको ध्वजाको धागोकै आडमा पनि अडिने रहेछ । मान्छेहरु सँग हो स्वार्थ बल्झिने! देउराली, मठमन्दिर र मूर्तीहरूसँग आशाको साइनो होला: स्वार्थले छुने आँट गर्दैन । एक जीवन मान्छेहरु सँग कम मूर्तीहरु सँग बढी सामिप्यता गाँसेर जिउँला । बढीमा आशा: निराशामा बद्लिएला ! तर घात प्रतिघातका बज्रहरुबाट घाइते भइराख्नु त पर्ने छैन।

सायद हरेक मानिस शून्य हो । त्यसैले उसलाई एक र दुईको गणितमा प्रतिफल खोज्नुभन्दा आफ्नै शून्यतासँग एकाकार रहनु नै जीवन जिउनु हो ।

म अरूमा आफूलाई खोज्दा र आफूमा अरूलाई खोज्दा हो अपूर्ण हुने; आफै सँगको मीतमा त म सधै पूर्ण नै हुनेछु ।

आखिर देवकोटाले लेखिदिएकै छन- “भित्र छन् इश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर?”

त्यसैले एक जीवन आफै भित्रको ईश्वर चिनेर बिताउँला । दुनियाँको धङधङी भन्दा पर रहेर बिताउँला । आफै सँगको मीतमा बिताउँला ।

 

 

Read Poem Written by Suman Bhattarai: 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 



Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *