मायाको कन्चनजंगा ! | Suman Bhattarai

Suman bhattarai Offline Thinker

(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ।  हाम्रो इमेल connect.offlinethinker@gmail.com हो ) 

 

प्यारो मान्छे,

छुट्नु त छँदैछ !
यहाँ रात पनि मिर्मिरे प्रकाश भेटेपछी छुटिजान्छ ।

फेरिनु पनि त छँदैछ ..
खोल्साहरु नदिमा पुगेपछि नदि बनेर फेरिन्छन् ! नदिलाई पनि त हतार छ सागरमा फेरिन: त्यसैले आफ्नै हतासोमा ऊ बहिरहन्छ ।

बिर्सनु पनि त छँदैछ…
खसेपछी अँखाबाट आशुलाई बिर्सन्छ आँखाले ! फुस्केपछी ओठबाट मुस्कानलाई बिर्सन्छन् ओठहरुले !

यहाँ नियम छ एउटा; गतिको ! चलायमान हुनुपर्ने…
रोकिने छुट छैन । धेरै समय एकै ठाउँ रुमलिने छुट छैन । नीति नियती दुवै यस्तै र यहि बुझ्नु माया हो ! र यहि यथार्थ बोध गरिकन बेहिसाब माया गर्नु मायाको कन्चनजंघगा हासिल गर्नु हो ।

माया कन्चनजंगा सरि अडिएको छ । मायाभन्दा माथि जीवनमा सगरमाथा रूपी उचाइहरु पनि पक्कै छन् ! तर माया कन्चनजंगा जस्तै निश्चल उभिएको छ । अडिग छ: अटल र अटुट छ । यसका आफ्नै भिरालोहरु छन् । जोखिमहरु छन् । प्राप्तिका बेग्लै संघर्षहरू छन् । आफ्नै विशेषतामा यो मनोरम र सुन्दर छ । प्राकृतिक रुपमा कन्चन छ । र मायाको कन्चनजंगा हासिल गर्ने शौभाग्य हरकोहिलाई हासिल हुँदैन ।

प्यारो मान्छे !
मायाको कन्चनजंगा हासिल गर्नु सधै कसैको जीवनको उकालो, ओरालो र घुम्तीहरुमा सहयात्री हुनु मात्रै होइन !  यात्रामा साथ चाहिँदा सहयात्री, आड चाँहिदा लौरी र विश्राम चाँहिदा चौपारी भइदिनु हो । माया भूमिकाको आधारमा होइन भावनाको आधारमा हुन्छ । माया लेनदेन र नाफागणितको हिसाबमा होइन निस्वार्थ र निष्काम प्रयत्नहरुमा मात्रै हुन्छ ।

छुटेपछि सकिने कहानीहरु मायाका होइनन् । केबल मोहका हुन् ! माया खास वर्तमान हो । आज हो र अब हो ! मायामा हिजोप्रति कृतज्ञता हुन्छ र भोलि प्रति सुन्दर आशा । त्यसैले यात्रामा केही कारणवश छुटि जाने हातहरुलाई न्यानो सम्झनाले स्पर्श गरिराख्नु !

एउटा सानो या ठूलो घातहरुको पर्दा लगाइ उसका साथ र गुणहरु जीवनमा ओझेल पार्न खोज्नु मुर्खता हो । र विगतको मूर्खता लुकाएर वर्तमानमा निभाइने सम्बन्धहरुले भविष्यमा मायाका दुर्घटना मात्रै निम्त्याउछन् ! त्यसैले, प्रिय मनहरु: मायाको कन्चनजंगा हासिल गर्नु अघि ससाना टाकुराका अभिमानलाई त्याग्नै पर्छ । आखिर माया चीज नै यस्तो!

धेरैजसो सम्बन्धहरु अभिमानको तुसारोमा ढाकिएर कतै बाटो बिराउछन् । सम्बन्धमा बन्नुपर्ने प्रेम र करुणाको पुल हो तर कहिलेकाहीँ अभिमानका तगारोहरु बनिदिन्छन् । र सम्बन्धका पालुवाहरु अकालको हुरीमा बतासिएर झर्छन् । त्यसैले अस्तित्व सुन हुँदा होस् या पित्तल हुँदा: सफलतामा होस या असफलतामा ! वार्तालापमा होस् या मौनतामा: अभिमानरहित प्रेम गरिराख्नु ! मायाको कन्चनजंगा यसै वरपर भेटिन्छ ।

मायाको यात्रा एक्सप्रेस हाइवेमा कुँदने मर्सिडिजको यात्रा जस्तो पक्कै होइन । यो त कच्ची सडकमा गुड्ने साधारण साधनको यात्रा  जस्तै हो : जहाँ  खाल्डाखुल्डी उकालीओराली र दुखहरु मात्रै हुन्छन् । यात्रामा सास्ती हुन्छ  र पो गन्तव्यमा पुग्दा मस्ती हुन्छ ! तर अक्सर सम्बन्धहरु कही बीच बाटोको सास्तीमै सुस्ताउछन् । त्यहाँ एकले अर्कोलाई क्रमैसँग डोर्याउने हिम्मत, हैसियत र साहस राख्नु ! कन्चनजंगारुपी मायाको गन्तव्य नजिकै दुवैलाई पर्खेर बसेको हुनेछ ।

त्यसैले मायाको कन्चनजंगा हासिल गर्नु साना ढिस्काहरु चढ्नु सरी होइन ! छुट्नु त छदैछ..जानेर पनि बेहिसाब माया गर्नु माया हो । अस्तित्वहरु कुनै मोडमा पुगेपछि पक्कै फेरिन्छन् : फरकफरक अस्तित्वको फरकफरक यथास्थिति बुझेर पनि माया संगाल्न सक्नु माया हो ! सम्झना र बिर्सनाको भावनात्मक अंकगणित नबुझिकनै गरिने माया बल्ल माया हो । स्वार्थहरु कतै मोड्मै छोडेर अघि बढ्नुस् । अपेक्षाको भारी कहि वरै बिसाउनुस् । र निष्काम सम्बन्धको धर्म निभाउनुस् ! अनि तपाइँको मनमा चम्कने प्रेमको उचाइको चमक मायाको  कन्चनजंगा हुनेछ ।

माया गर्नु यथार्थमा कसैको पाउमा रहनु हो । मनमा हुनेहरु कहिलेकाहीँ दुखिदिन्छन् ! आँखामा हुनेहरु आँशु बनेर रुझिदिन्छन् ! शिरमा हुनेहरु कहिलेकाहीँ बोझ बनिदिन्छन् । तर पाउमा हुनेहरुलाई कुनै अभिमानको रागले छुँदैन । जति जसको पाउमा बसिन्छ: मायाको कन्चनजंगा उत्तिकै अग्लो हासिल गरिन्छ ।

 

 

Read More From Deokhurni:

 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *