Nepali Story | मनभित्रको रणभूमि | Rashmishree Singh

Rashmishree Singh

**Disclaimer***

यो एउटा काल्पनिक मनोवाद हो। यसमा भएको पात्र वा लेखिएका कुरा सबै काल्पनिक हुन्।

 

मनभित्रको रणभूमि  

निलो रंगको सानो कोठा। बीचमा मेरो ओछ्यान। म त्यहीँ ढल्कीरहेछु। तर निदाएकी छैन। मेरा आँखा वरिपरि डुलिरहेछन्।

सिरानी छेवैमा कालो ल्यापटप छ। बैजनी रङ्गको पातलो ब्ल्यांकेट, निलो बेडसिट र त्यसमाथि मेरो छरिएका किताब छन्। केही मैला लुगा यताकता छरपष्ट फ्याकिएका छन्। लथालिंग कोठा देख्दादेख्दै पनि आज म बेचैनसित आरामले सुतिरहेछु।

आजभोलि मेरो दैनिकी सुत्ने र खाने मात्र हो। न केही सोच्न सक्छु तर केही गर्न। थकित छु।

थकित देखिन्छु।

 

त्यो फोन कल

‘ट्रिङ्ट्रिङ्’…

टेबुलमा मेरो मोबाइल एक्लै बज्यो। मोबाइल चार्जबाट झिक्न भुलेकी रहेछु। कसैको फोन आएछ क्यारे!

फोन उठाउनु पर्ने हो तर मेरो शरिर त्यहाँसम्म हिड्न सकस मानिरहेथ्यो। जसोतसो उठेँ।

यसरी बेलुकी निदाउने बानी भएको छ मेरो किनकी म निन्द्रामा मात्र आफूलाई राम्रो महसुस गर्छु। त्यसै नि आजकल न कलेज जान मन लाग्छ न किताब पल्टाउन! ल्यापटप अगाडी बसेर पनि कुनै काम गर्दिन। केही नगर्दै त्तिकै थाक्छ ज्यान।

यी कुरा मनका केलाउदै मोबाइल नजिक पुगेँ।

“ओहो!भर्खर बेलुकीको सात बजेको रहेछ।” फोन उठाउन गएकी म समय हेरेर चकित खाएँ।

चिनेकै मान्छेको कल रहेछ। तर फोन उठाउन मन लागेन । कसैको कल रिसिभ गर्न मन लाग्दैन, के भएको हो कुन्नी?

 

“प्रिया, तपाईं मेरो फोन किन उठाउनुहुन्न? मेसेज रिप्लाई पनि गर्नुहुन्न।” फोन नउठाएपछि मोबाइलमा मेजेस आयो।

बोल्न वा मेसेज गर्न मन लाग्दैन भनेर उनलाई रिप्लाई कसरी फर्काऊ?

सोच्दै थिएँ यत्तिकैमा फेरि फोन आयो। यसपटक मन लागी नलागी उठाएँ।

 

‘हेल्लो’

‘नमस्ते प्रिया! सन्चै हुनुहुन्छ?’ उताबाट चिनेको आवाज कानमा गुन्जियो।

‘हजुर, म सन्चै छु।’ झूठो बोल्दै जवाफ फर्काएँ।

‘अनि आजको प्रोग्राममा किन नआउनु भएको?’ उनले फरि प्रश्न गरे

 

भन्न त मन थियो मलाई सोसल ग्यादेरिङ मन पर्दैन । अलि टाढा बस्न खोज्दै छु सबैबाट तर भन्न सकिन

झूठोमाथि झूठो थप्दै भनेँ, ‘मलाई अलि कलेजको प्रेसर छ, त्यही भएर आउन भ्याइन।’

यस्तैउस्तै गफ गरेर कल राखेँ। तर मेरो मनको कुन्ठा भने थाती नै थिए। नभनिएका गाँठो फुकाउन बाँकी नै थियो।

खासमा म सबैसँगै घुलमिल हुने स्वभावकी हुँ। केही समय अगाडिसम्म म सबै ठाउँ जान्थेँ, सबैसित बोल्न रूचाउथेँ, अपरिचितसँग परिचित हुन्थेँ, सोसल ग्यादरिङ भन्नुसाथ हुरुक्क हुन्थेँ…तर आजभोलि म आफैलाई सामना गर्न सक्दिन।

 

***

नपोखिएका मनका व्यथा

 

घटना केही दिन अघिको हो…

म बिरामी हुन थालेकी थिएँ । मनको बिरामी। मेरो समस्या बुझ्ने कोही थिएन। मलाई  किन यस्तो हुँदैथ्यो, म अनभिज्ञ थिएँ । रुन खोज्थेँ, चिच्याउन चाहन्थेँ। तर सक्दिन थिएँ।

 

मलाई मद्दतको खाँचो थियो। प्रायः साथीलाई भन्दै हिड्थेँ-

          “मलाई गाह्रो हुँदैछ। निकै एक्लोपन छाउदैछ मान्छे हुँदा पनि नभएको लाग्छ। कसैसँग बोल्न मन नलाग्ने तर कोही भइदियोस्  हुन्छअब केही दिन तपाईंसँग पनि कुरा गर्न सक्दिन होला । ठिक महसुस भएसी कुरारौंला।” आफ्ना ठानेका नजिककालाई यति कुरा भनेकी थिएँ।

 

सोच्दै जाँदा थाहा भयो- म एक भरिया भएछु, मनको कथा पोख्न नसकेकी भरिया! मैले बोकेको भारी न कसैले देख्छन् न थाम्छन्। आफै आफ्नो भारीमाथि पिल्सिदै थिएँ म।

भारी विसाउन धेरै प्रयास गरेँ। सकिन। अनि विश्वासिलो एक साथीलाई मेसेज गरेँ- “सुन न! आज कति बेला फ्री छौ? एकपटक कल गर न है।”

निकै राम्रो साथी थियो ऊ मेरो। हाम्रो दैनिक भेट नभएनि आफ्नामध्येको एक लाग्थ्यो।

उताबाट मेसेज आयो- “म फ्री छैन। काम सकिँदा राती पर्छ। भोलि कल गर्छु है।”

ठूलो आशा र साहास जुटाएर मेसेज गरेकी थिएँ। अपत्यारिलो रिप्लाई आयो। हुन त यो शताब्दीमा सबै आआफ्नो काममा व्यस्त हुन्छन्।

फुर्सदिलो म मात्रै थिएँ सायद।

जति उसको रिप्लाई सम्झिएँ त्यति नमज्जा लाग्यो।

अबभोलिको पर्खाइमा थिएँ।

***

भोलिपल्ट हाम्रो कुराकानी भयो।

“आइ निड हेल्प!” उसले कल गर्नुसाथ मैले केही नसोधी भनिहाले।

“सबैको जिन्दगीमा दुःख आउँछ। कहिलेकाही मलाई नि यस्तै हुन्छ तर सोँचेर के गर्ने? धेरै सोच्न हुन्न! केही नसोची आरामले बस, केही राम्रो किताब पढ। जिन्दगी यस्तै हो साथी- रमाइलो गर्न सिक।” उनले मेरो उत्तरस्वरूप यस्तो दार्शनिक ज्ञान छाट्यो।

जिन्दगीमा रमाउन नसकेर उसलाई फोन गरेकी थिएँ। ज्ञान सुनेर बेकार फोन गरेको भयो। सायद ऊसँग मेरो समस्या सुन्ने समय थिएन। उसको आफ्नै समस्या थियो होला। पुनः कुरा सुनिदिन आग्रह गर्न मन नलागेपछि कुरा त्यही टुङ्ग्याएँ अनि फोन राखेँ।

त्यसपछि यस विषयमा हाम्रो थप कुरा भएन।

 

समयसँगै सबै कुरा ठिक हुन्छ सोँचेर म काममा व्यस्त हुन खोजेँ। आफूलाई समय दिन खोजेँ। मनको रणभूमिबाट उम्किन खोज्दैँ थिएँ।

तर अह! प्रयास नाकाम हुँदै थियो।

 

अर्को एउटा प्रयास गर्न मन लाग्यो।

त्यसैले केहि दिनपछि स्कुलको अर्को साथीलाई कल गरेँ। यो साथीसित हाँसीमजाकको कुरा धेरै हुने गर्थ्यो। सिरियस कुरा कहिल्यै हुने मौका जुरेको थिएन। सुखको साथीले दुःखमा पनि बुझ्ला भनेर आफ्नो कुरा कलमै सुनाउन खोजेँ ।

तर मेरो कुरालाई उसले ख्यालठट्टामै उडायो। भन्छे- “तँलाई बोइफ्रेन्ड चाहिएको हो। अनि सब ठिक हुन्छ।”

ङिच्च हासेको जस्तो गरेर फोन काटिदिएँ।

जसलाई फोन गरेपनि उल्टो मैले धेरै सोचेको आरोप आउन थाले।

अब मनको वह बुझ्ने कोही नभेटेर आफैबाट टाँढिदै थिएँ म। मलाई ‘म’ मन पर्न छोड्दै थियो। म पहिलेको प्रियाबाट अप्रिय हुँदै थिएँ। झनक्क रिसाउने भएकी थिएँ। झ्याल ढोका बन्द गरेर अध्यारोमा रून थालेकी थिएँ। उज्यालो दिनमा पनि मन अध्यारो पार्थेँ। युट्युबका व्यवसायिक मोटिभेस्लन स्पीकर मेरो नयाँ साथी भएका थिए। बोल्नभन्दा टोलाउन आनन्द लाग्थ्यो। मेरो अगाडि अरू हाँसेको सुन्दा औडाहा हुन्थ्यो। आफ्नो हाँसो सुन्दा डर लाग्थ्यो। मौनता प्रिय हुँदै थियो।

म मेरो नजिकको मान्छे सम्झिँदै थिएँ। आमाको काँख खोज्दै थिएँ। बाबासँग गफिन चाहन्थेँ। दिदीदाइ  खोज्दै थिए।

बस् मेरो अगाडि कोही भइदियोस् लाग्दै थियो।

 

पलाएको झिनो आशा

फ्याट्ट एकजनाको अनुहार मेरो दिमागमा आयो। उहाँलाई मैले कहिले भटेकी थिइन तर अनलाइनमा  कहिलेकाहीँ बोल्थ्यौं। मेरा लागि उहाँ परिचित भएर पनि अपरिचित व्यक्तित्व हुन्। बोल्नभन्दा उहाँको कुरा सुन्न मनपराउथेँ।

काम बाहेक खासै कुराकानी गरेकी थिइन तर आज  मनको व्यथा पोख्न मन जाग्यो। हिच्किचाहटका साथ मेसेज गरेँ….

५ मिटेन पछि बल्ल रिप्लाई आयो।

‘हेल्लो! हजुर भन्नुस् न!” हाल हल्लाएको इमोजी पठाउँदै उहाँले रिप्लाई गर्नुभयो।

मैले सोधेँ, ‘के गर्दै हुनुहुन्छ?’

‘यतिकै बसिराछु । केही काम थियो?’ कामको लागि मात्र कुरा गर्ने हुँदा आज पनि उस्तै जवाफ आयो।

‘नाइँ यतिकै डिस्टर्ब गर्न आकी म।’ केही जिस्किएको शैलीमा मेसेज पठाएँ।

‘तोइट…’ उहाँले उताबाट रिप्लाई गर्नुभयो।

‘भोलि कुनै प्लान छ?’ मैले सोच्दै नसोची टुच्च मेसेज गरिदिएँ।

‘खासै त्यस्तो केही छैन तर सडन प्लान बन्छ मेरो त।’

‘इफ यु डोन्ट माइन्ड भोलि खाली हुनुहुन्छ भने चिया पिउन जाऔँ न। कस्तो बोरिङ फिलिङ भइरहेछ।’

‘समय भयो भने म भनौँला है। बोरिङ फिल चाहीँ  किन गरिराकी?’ उहाँले जिज्ञासा राख्दै सोधनुभयो।

तर उहाको जिज्ञासाको रिप्लाई मसित थिएन।

भेटेर भन्छु भनिदिएँ।

 

भोलिपल्ट भट्ने समयको पर्खाइमा थिएँ । तर मेसेज आएन। ‘हेल्लो’ लेखेर पठाएँ तर केही उत्तर आएन। मन खिन्न भयो।

एक अपरिचितबाट के आशा गर्नु भन्दै वास्ता गर्न छोडेँ। मलाई अब कसैको सामु जाने वा कुरा गर्ने रहर थिएन।

 

******

युद्धको प्रारम्भः जित वा हारको पर्खाइ

विगतका यी दिनलाई सम्झेर म आफूलाई अझै कमजोर, विवश र लाचार महसुस गर्न थालेकी छु। आफ्ना नजिकका लाग्ने सबै भ्रम भएको ठानिसकेकी छु। अब मलाई न परिचित व्यक्तिबाट केही आशा छ, न कुनै अपरिचित मनबाट।

जिन्दगीमा न केही गर्ने बाटो देख्छु, न मर्ने उपाय। यो अवस्थामा म आफूलाई स्वीकार्न सकिरहेकी छैन। न केही गर्ने हुटहुटी छ, न कसैलाई गुहार्ने चाहना। थाकेकी मात्रै होइन आशाहीन भएकी छु। मेरो मनभित्रको रणभूमिमा युद्ध प्रारम्भ भइसक्यो। आफ्ना ठान्नेको पर्खाइमा छु। आफूभित्रको आत्मविश्वासको जागरण कहिले कसरी हुन्छ हेर्दैछु।

केही समयमा आफै ठीक हुन्छु वा केही समयमा रहन्न थाहा छैन। जित हुन्छ कि हार हुन्छ-प्रतिक्षा गर्नुहोला….

 

 

**त्यस्तो विचार जो कसैलाई कुनै बेला आउन सक्छ। कसैले तपाईसँग आफ्नो कुरा सुनाउदै छ भने वा केही कुरा भन्न खोज्दैछ भने केही समय छुट्याएर कुरा सुन्दिनु होला। कोही यस्तै घटनाबाट गुज्रिरहेको छ जस्तो लाग्छ भने उनीहरूलाई साथ दिनुहोला। मानसिक रोग दिनानुदिन बढ्दै छ, त्यस्तो कुरालाई हस्सिमजाक बनाएर बेवास्ता नगर्नु होला।***

 

 

 

Read More at Offline Thinker:

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *