हे माया नगर्ने मायालु ! | Suman Bhattarai

Suman Bhattarai

मायाका जटिलताहरु

माया जब गाढा हुन्छ । माया गर्ने मान्छे आफूभन्दा धेरै टाढा हुन्छ । टाढा हुन्छ दुरीले, नियतिले, विश्वासले ! माया चीज नै एस्तै जहाँ प्रश्नहरु जटिल छन् उत्तरहरु झन जटिल !

माया र मायाका जटिलताहरु कसैलाई सौभाग्य त कसैलाई दुर्भाग्य ! यसले मान्छेलाई बढी नै आशावादी बनाउने रहेछ । बलवान् समयको आफ्नै बाटोमा जीवनको खोला बग्छ । माया नगर्ने मायालु, तिमी सहि छौ कि जीवनमा बगेको खोला कहिल्यै फर्कदैन ।

तर मायाको खोला भने सधै फर्कने आशामा रहिरहदो रहेछ । सायद समाजमा प्रचलित “१२ वर्षमा बगेको खोला फर्कन्छ” भन्ने उखान जीवनको भूगोलमा बग्ने खोलालाई होइन, मनको भूगोलमा बग्ने मायाको खोलालाई भनिएको हो । बस् तिमीले धैर्य राखिदेउ है ।

हे माया नगर्ने मायालु !

फेरि तिमी यत्ति बुझिदेउ कि सम्बन्धहरुको घटना केवल स्मृतिमा मात्र सिमित रहदैनन्! जीवनको हर आयाम, गुण-अवगुण र नतिजाहरुमा तिनको विशिस्ट स्थान रहन्छ। मायामा बितेका विगतका घटनाहरु केवल घटना मात्र होइनन् ! ती त अड्केको जीवन धकेल्ने औजार हुन्। जीवनमा फुल्ने सुन्दर फूल पनि तिनै घटना हुन् । फूल नजिकै फुल्ने काँडा पनि तिनै घटना हुन् । असाधारण घटनाको सामान्यकरण किन गर्छेउ तिमी ?

जीवनका घात प्रतिघातहरु छोडिदेउ । जीवनमा भेटिने पात्र प्रवृत्तिहरु पनि केही छिनलाई बिर्सिदेउ ! टुटेका, फुटेका, जुटेका सम्बन्धहरु पनि एकैछिनलाई मेटिदेउ। राग, अनुराग, प्रेम र घृणा सबै कुराबाट टाढा रही एउटै कुरा मनन गरिदेउ । हे माया नगर्ने मायालु, मायाले जीवनमा शिक्षा कहिल्यै दिँदैन ! केवल पीडा दिन्छ ।

सम्बन्धहरु चल्ने आफ्नै गोरेटो हुन्छन् ।  दोबाटो पनि आफ्नै हुन्छन् । त्यसैले साँघुरो गोरेटोमा यात्रारत सम्बन्धहरु जीवनको कुनै न कुनै दोबाटोमा छुट्टिन्छन् । तर पुनः दोबाटोमा छुट्टिएका सम्बन्धहरु जीवनको देउरालीमा ठोक्किन आइपुग्छन् । सायद म त्यही देउरालीको पर्खाइमा छु । यद्यपि देउरालीमा नभेटिए पनि, माया त माया हो ! होइन र?

हे माया नगर्ने मायालु

माया गर्नु भनेको शिवपार्वती हुनु मात्र होइन । शिवसती हुनुपनी हो । मायाको असली सार्थकता कृष्णरुक्मती हुनु होइन । राधाकृष्ण हुनु हो । प्रेमको प्रतिविम्ब गान्धारी हुनु हो । द्रौपदी हुनु हो । जब मायाको जटिलता, विश्वास र पवित्रताको मुल्यमा जगतहरी रामको प्रेम खरानी हुन्छ भने : तिम्रो लागि म को? मेरो लागि तिमी को? त्यसैले  माया नगर्ने मायालु ! तिमी प्रेम घटाइरहनु म भने जहिल्यै प्रेम बढाइरहन्छु ।

 

रहर | Book Review | Suman Bhattarai

 

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *