Nepali Poem | बिस्तारै | Pari Vikram

Nepali poem Pari Vikram

बिस्तारै
– परिविक्रम

यो समाज
दाउरामा पकाउँदा
समय धेरै जलेर
ग्याँस र बिजुलीले पकाउने भयो ।

यो समाज
एक प्रेसर कुकर सेलाउँदा
समय धेरै गुम्सिएर
घरी चम्चाले सिठी उचाल्ने
घरी चिसो पानीमा कुकर डुबाउने भयो ।

यो समाज
आफ्नै खुट्टाले हिँड्दा
समय धेरै दौडिएर
अस्ति अस्ति बस चढ्ने भयो
आज आफ्नै गाडी चढ्ने भयो ।

यो समाज
हतारै हतारमा बिउँझिने भयो
हतारै हतारमा चल्ने भयो
हतारै हतारमै सुत्ने भयो
नाडीमा हतारै बाँधेर
एक दर्जन अङ्कमा
हतारै हेर्ने भयो ।

कहाँबाट आयौ सोधे –
हतारबाट भन्ने भयो

कहाँसम्म जाने हौ सोधे –
हतारसम्म भन्ने भयो

कति बज्यो सोधे –
हतार छ भन्ने भयो

तर,
यसरी हतारिरहेको समाजलाई
जब जब
असमानताको धरहराबाट
कोही डलरे समाज भडुँवाले प्रश्न गर्छ –
सम्पूर्ण खाले विभेद कहिले हट्छ ?
मान्छे कहिले मान्छे बन्न पाउँछ ?

यही समाज
प्रश्‍न पनि नसकिँदै
हतारै हतारमा उत्तर दिन्छ –
बिस्तारै हुन्छ ।

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *