म आकाशमा डुलिरहने बादल जस्तै भएको छु,
सूर्यको प्रकाशलाई ढाक्दै फैलिएर जाने,
वर्खाको झरी जस्तै भएको छु,
रुखोपनमा रुमल्लिएकालाई रुझाएर जाने,
पानीको थोपा जस्तै भएको छु,
तप्प-तप्प तैरिएर जाने।
म मस्तिष्कमा कैद भएका कल्पनाहरु जस्तै भएको छु,
स्वतन्त्रतालाई अङ्गाल्दै उड्न चाहने,
नयनमा जमेर बसेका सपना जस्तै भएको छु,
रहरहरुसँग मिसिएर पग्लन खोजिरहने,
भनौँ भने,
म एकतर्फी प्रेमको प्यासमा छट्पट्टिरहेको
प्रेमी जस्तै भएको छु,
भावनाहरुसँग बगिरहने,
हो साँच्चै! म प्रेममा कैद भएको छु।
म प्रेममा कैद भएको छु,
जताततै शितल छाएजस्तो,
खुशी अनि हाँसो छरिएजस्तो,
कसैको नजरमा नाचिरहे जस्तो,
कसैको नशामा झुलिरहे जस्तो,
आफूलाई बिस्तारै भुलिरहे जस्तो,
कसैको प्रेममा डुबिरहे जस्तो,
जति जति गहिराइमा पुग्यो,
उति गहिरो भाव यो मनले महसुस गरे जस्तो।
म यसरी कैद भएको छु,
मानौँ म कसैको मुहारमा होइन,
मुटुमा कैद भएको छु।
मानौँ म कसैको मस्तिष्कमा होइन,
जिन्दगीमा कैद भएको छु।
मानौँ म कसैको आँखामा होइन,
आत्मामा सजिएको छु।
म यसरी कैद भएको छु
मानौँ म कसैको मुटु र धड्कन बीचको
थोरै ठाउँमा बसेको छु।
मानौँ म कुनै नलेखिएका कवितामा
कोरिएको छु।
हो, म यसरी कैद भएको छु।
म प्रेममा कैद भएको छु।
Read More From Muskan Pandey:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com