-Nepali Poem by Saujan Dhakal
म नयाँ अनि शब्दहरू नयाँ
आकृति नयाँ अनि त्यस भित्रका
रेखाहरू नयाँ,
छुट्टै जोश नयाँ अनि
हल्का जाँगर नयाँ, रङहरू नयाँ अनि
रङहरू भित्र छरिएका हाम्रा उमङ्ग नयाँ।
तिमी नयाँ
तिम्रो सोच नयाँ,
तिम्रो अठोट नयाँ
नयनबाट झल्कने तिम्रो इशारा नयाँ
शायद, तिम्रो सहारा नयाँ।
तिम्रो चाल नयाँ,
संगीत भित्र रम्न चाहन्छौँ त
तिम्रो ताल नयाँ,
साँच्चै तिमी नयाँ अनि
तिमीलाई चिन्ने म, नयाँ।
चरीहरुको सुस्केरा नयाँ
बिहानीको किरण नयाँ,
निदेरीको सपना नयाँ अनि
अन्धेरीको जुनकिरी नयाँ।
बतास नयाँ, सँगसँगै बेग नयाँ
भेट्दै जाँदा मान्छे नयाँ अनि
उनीहरूको अन्दाज नयाँ।
ल, भन त आफै साँचोमा को नयाँ?
तिमी, कि म नयाँ ?
कि उनीहरू नयाँ ?
अरे यार सोच नयाँ ।
हैन हैन समय नयाँ,
उस्तै लाग्ने हिजोका कुरा
फर्की हेर त सब नयाँ।
पुरानो छ त केवल हाम्रो मन
अनि नबद्लिएको आफ्नै पन,
शुभ रहोस् अनि सधैं शुभम
दिन र समय उस्तै रहुन – खुसियाली।
फरक र दृढ होस त विचार अनि
साथ दियोस् परिवर्तनले
काल्पनिक मात्र नभई व्यवहारिक रुपमै पनि ॥
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com