धारा | Nepali Poem | Saujan Dhakal
कथाले पात्र माग्छन् थाहा छ
अनि खोलाले बह
हावा पनि एक दिन कुरा गर्न आउने छ
त्यो दिन मलाई थाहा छ, के भन्नुपर्छ ।
मेरा उत्तर एउटा हुने छ
रावणको दस टाउका ठीक, कि ?
कुमारीको तीन?
ऋण लगायौ आमा तिमीले मलाई जन्माएर
म आउने छु कुनै दिन,
स्वर्गको ढोका ढक्ढकाउन।
अञ्जुली भरि आशाका फुल बोकी
तिमी लुकामारी खेल्नु त्यो दिन
म खोज्ने छु तिमीलाई एताउता गर्दै
अनि तिमी झस्कनु, मलाईदेखि एक छिन्।
तिम्रा वाचा पुरा
अनि तिम्रो अठोट गहकिला
म एक्लो यात्री, एकोहोरो यात्रा
प्रकृति एक, दैत्य अनेक।
लुक्ने छन् सारा दानव
जुध्ने छन् सारा मानव
ढुक्ने छन् सारा ब्रामहण
अनि टुट्ने छन् नौ लाखे तारा।
म जित्ने छु त्यो दिन
संसार मेरो मुट्ठीमा, अनि आउने छु म
बहिनीलाई उठाउन
चलाउन अनि बोलाउन।
Read More Nepali Poem by Saujan Dhakal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com