तिमीले देख्न सिकाएका
रङ्गिन सपनाहरुमा लठ्ठ परि
कहालीलाग्दो विपनालाई बिर्सेर
जब, तिमीलाई सम्झन थाल्छु
तब, टन्नै भावनाहरु आउछन् ।
काइदाको भावना !
जब ती भावनाहरुको बोझ
शब्दहरुमा बटुलेर प्रेमिल अपेक्षासहित
तिमीसम्म पठाउछु
तिमीलाई ती मजाक लाग्छन् ।
काइदाको मजाक !
मुटुमा सङ्लिएका ती धमिला भावनाहरु
जब बाँकी दुनियाँका अघि
छताछुल्ल हुनेगरी पोख्छु
दुनियाँलाई त्यही साहित्य लाग्छ ।
काइदाको साहित्य !
त्यही साहित्य,
कसैको लागि रोग बन्छ
कसैको लागि औषधि बन्छ ।
कसैको लागि नशा बन्छ मदिरा जस्तैः
कसैलाई स्वयम् मदिराकै शितन बन्छ ।
काइदाको शितन !
तिमीले मेरो प्रेमको पागलपनमा कोरिदिएको
रेखाको डिलमा बसेर जब जीवनचक्र चियाउछु,
त्यही रेखामा,
जहाँ मेरा संवेदनाहरुले सदैव सिमा नाघ्छन्
जहाँ, मेरा अनुभुतिहरु तिमीलाई मजाक लाग्छन्
जहाँ, तिम्रो गणितमा मेरा सबैथोक अनुत्तीर्ण लाग्छन्
तब मेरो जीवन, आफैलाई रमिता लाग्छ ।
काइदाको रमिता
Read More From Suman Bhattarai:
-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai