Nepali Poem | लालबहादुरको क्रान्ति | Pari Vikram | IOE Poetry Champ 4.0

nepali poem Pari Vikram

IOE Poetry Champ 4.0 हुन सफल कविता !

लालबहादुरको क्रान्ति

कमरेड
लाल सलाम !
म लालबहादुर दमाईँ ।
चिन्‍नुभयो ?
म त गाउँको त्यही दमाईँ
जो गरिबीकै गह्रुँगा पाउ
सिलाइ मेसिनको पयरमा राखेर
सिउँदै थिएँ –
बाहुन / बिष्टका भोटाटोपी
बिष्टिनीका चोला, बुलाउज
मेरी दमिनी पनि तग्दै थिई
तिनै सुत्ने थाउना थाउनी
हजुरहरू आउनुभयो –
‘क’ भनेर कम्मरको नाप लेख्नेलाई
‘क’ बाट कमरेड सिकाउनु भयो
‘क’ बाट क्रान्ति सिकाउनु भयो
कमरेड,
म त गाउँको सोझो दमाईँ
मैले पनि
हत्केलामा उठेका ठेला भुलेँ
मुठ्ठी पारेर उठाए हात
सिकेँ – लाल सलाम
सिएँ – लाल झण्डा
म त
हलियै भएर
काट्दै थिएँ हँसियाले घाँस
फोड्दै थिएँ हतौडाले चट्टान
हजुरहरू आउनुभयो –
मैले झण्डामा हँसिया हथौडा राखेँ ‌
गाउँ गाउँबाट उठ भन्‍नुभो
म त गाउँको दमाईँ
कहिले सियो लिएर उठेँ
कहिले बाजा लिएर उठेँ
उठ्नै नसक्दा पनि
कहिले आवाज लिएर उठेँ
तारा नझरे बिहान हुन्‍न भन्‍नु भो
मैले मेरो छोरालाई चढाएँ
एक दुई हार हुन सक्छ भन्‍नु भो
मैले मेरो कोखको गोली खपेँ
मैले नाप्‍नै छोडेँ
मुखियाका हातका लम्बाइ
बिस्टिनीका कम्मरका नाप
मैले वर्ग नाप्‍न थालेँ
मैले जात नाप्‍न थालेँ
मैले विभेदको लम्बाई नाप्‍न थालेँ
र,
सिलाउन थालेँ
हजुरले भनेजस्तै
हजुरकै डिजाइन अनुसार
सबैलाई फिट हुने ‘क्रान्ति’
कमरेड
फेरि लाल सलाम !
हजुरको क्रान्तिमा त
न वर्ग हुन्थ्यो,
न जात हुन्थ्यो
न धर्म हुन्थ्यो
न राजा हुन्थ्यो
न रैती हुन्थ्यो
सबैलाई पुग्थ्यो
सबैलाई मिल्थ्यो
म त गाउँको सोझो दमाईँ
खै कस्तो क्रान्ति
सिलाउन अह्राउनुभयो
हजुर मात्रै फिट हुने
हजुरलाई मात्र मिल्ने
अचेल –
हररात यही प्रश्नले सुत्न सक्दिनँ कमरेड
मै नअटाउने मैले कस्तो क्रान्ति सिलाएँ ?

-परिविक्रम

 

Read More Nepali poem collection From Pari Vikram:

 

 

 

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *