आफूले एक चक्कर खाएर जब पृथ्वी थाक्छ अनि रात पर्छ। क्षितीजले सूर्य निलिसक्छ, आकाश लाजले भुतुक्कै हुन्छ तब बल्ल जुनताराको बथान चराउन निस्किन्छ बादलका घाँसे मैदानहरुमा, अनि रात पर्छ।
दिन ऊज्यालो छ। दिन लजाऊँदैन। दिन फरासिलो छ। दिन ईमान्दार छ। त्यसैले दिनमा भएका धैरैजसो कुराहरु सबैले थाहा पाउँछन्। पसिनाको तर्पण दिएर भोक तृप्त पार्ने मेहनती तपस्वीहरुको महिमा दिनले लुकाउँदैन। सायद चाहँदैन पनि। सायद दिनमा नैतिकता पनि छ। रातभर गुजुल्टिएका पंक्षीहरुलाई चारो देखाइदिन्छ दिनले। रातभरी अक्सिजनका लागि आस्सिएका वनस्पतिहरुलाई जिवन रेखासँग भेटाइदिन्छ दिनले। दिनले बाटो देखाइदिन्छ। दिनले जीवन देखाइदिन्छ। राति सपना देख्ने आँट दिन्छ दिनले।
त्यसो भए के दिन फगत एउटा शून्य हो त ? के रातमा धर्तीका रक्तनलीहरु सबै विश्राम मात्र गर्छन्? के जीवन धड्किदैन रातमा? रात सायद लजालु छ। निर्दयी छ रात सायद। रात सायद घुसघुसे पनि छ। त्यसैले त ऊ चाहँदैन कि उसको संरक्षणमा घटेका घटनाहरुको अनुभव दिनका पारखिहरुले गरुन्। त्यसैले त रातमा रहस्य नै रहस्य छ। सुनसान र निर्जिव दखिने रातमा के के पो नहुँदो हो।
रातमा शरिर बेचेर जीवन चलाउनेहरुका कोठी तात्दा हुन्। जीवन चल्न छोडेकाहरुको चिता सेलाउँदो हो। घर फर्किएका बाऊको खुइय् सुनिँदो हो त बाऊ नफर्किएको घरमा आँसु सुनिदो हो। सुनिदो हो कतै शान्त मन आनन्दले निदाइरहेको त सुनिदो हो कतै फुटेको मनको आर्तनाद। कतै डकार सुनिदो त कतै कराईरहेको पेट।
खैर! जस्तोसुकै बेईमानी, दुराचारी भएपनि रात सधैँ एउटा आशा बोकेर आउँछ। उज्यालो हुने आशा। रातको गर्भमा हुर्किरहेको हुन्छ मिर्मिरेको उज्यालो। रातकै अध्यारोले सिञ्चिरहेको हुन्छ उज्यालोको पालुवाहरुलाई। रातकै शरणमा हुर्किरहेको हुन्छ एउटा ध्रूर्वसत्य “उज्यालो हुनेछ।”
आजको रात तर अपवाद भएर आयो। उज्यालोको आशासँगै रातले निन्द्रा पनि बोकेर आऊँछ। तर आजको रातले यी दुबै नबोकी आयो।कोशेली नै नदिई माइतबाट फर्काइएकी छोरिजस्तै, रित्तै। सम्पूर्ण रित्तै आएको भए सजिलो हुन्थ्यो होला सायद। मैले शून्य अनुभव गरेको छैन। त्यो रात अमिलो सोँच बोकेर आएको थियो।
“म भोलि उठिन भने के होला ? किन मेरो मुटुमा दमाहा बज्दै छ? किन त्यो दमाहाको ठट्याई मेरो कन्चटमा महसुस हुँदैछ? ” एन्जाईटी भन्छन् क्यार ! सायद जिब्रोभरी अमिलो चुक् राखेर अनुहारको छाला मुजा नपारी म निल्न सक्छु होला तर त्यो रातले बोकेर ल्याएको सोँचले अझैपनि आँङ जिरिङ्ग पार्छ।
एस्तै एकोहोरो सोँच र मनोवादले शरीर क्लान्त बनाउँदै लग्यो। आँखा बन्द गर्यो कि भोलिको सूर्य म देख्दिन होला भन्ने डरले सोँच ओगटिरह्यो। आँखा बन्द गर्यो कि डर। के भएको होला मलाई। के दुश्मनी मेरो यो अँध्यारोसँग। न युद्ध, न भुतप्रेत न के। त्यस्तो डराउन पर्ने भौतिक तत्व केहि पनि वरिपरि उपस्थित छैन तर पनि यो डर के का लागि। सायद सोँचैसोँचको द्वन्दले डरको बाढी ल्याउन सफल भएछ क्यार् !
प्रश्नहरुको आँधीबेरी सँगै उत्तरहरु पनि लस्कर लागेर आईरहेका थिए। तर प्रश्नहरु र उत्तरहरु दुवै हुँदाहुँदै यति अस्थिर र अशान्त नहुन पर्ने। सायद यी सबै उत्तरहरु क्षद्मभेषी हुन्।
यस्ता सोँचहरुले अशान्त भएको पक्कै म मात्र होइन होला। मेरो त सोँच मात्र हो। साँच्चै साँझ निदाएर बिहान नदेख्नेहरु कति छन् होलान् संसारमा। मृत्युको भयमा नै बाँच्नेहरुको सङ्ख्या पनि निक्कै हुँदो हो। बिना भय पनि मृत्यु ग्रहण ग्रनेहरु पनि टन्नै छन् होला । आजको रात नकट्ने म मात्र होइन पक्कै पनि। सायद मैले त भोलि पनि देख्छुहोला। यो रातमा त्यति सामर्थ्य त कहाँ हुँदो हो मेरो जीवन सेलाउन सक्ने। तर यदि सक्किहाल्यो भने पनि के नै होला र? एक हुल घेरा हालेर रुनेछन् सायद। कोहि मेरा सम्पूर्ण खराबी बिर्सिएर तारिफमात्र गर्नेछन्। कोहि मेरो प्राणराहित औचित्यहिन शरिर देखेर आफूपनि यस्तै हुनेछु भनेर टोलाउँदा हुन्। कोहि आत्मग्लानि गर्नेछन् म सँगका तिता अनुभव सम्झेर। दुईचार दिन खासखुस पनि भइराख्दो हो। ऊ यस्तो थियो। ऊ उस्तो थियो। गण्डकीमा खरानी सेलाईसकेपछि त कस्को अस्तित्वको के महत्व हुँदो हो। मुर्दाहरुको महत्व हुँदैन। तर निमेषभरमै सेलाउने त्यो किर्ति, त्यो अनुभव, त्यो अस्तित्व सिञ्चिन किन जीवनपर्यन्तको संघर्ष? उफ् फेरी अर्को प्रश्न।
समयसँगै यो सोँचका भारी घिसार्दै म लडिरहेँ। उज्यालो भयो। चराहरु ब्युँझिएर आङ तान्न थाले। सूर्यले पुर्वी आकाशलाई प्रकाशको टिका लगाईदियो। सकियो त्यो अँध्यारोको पर्सव। सकियो निरर्थक सोँचहरुको समुन्द्र मन्थन। उज्यालो भयो।
भोलिको उज्यालो नदेख्ने डरले म रातभरी अँध्यारो नै हेरिबसेँ। छेउ न टुप्पोका सोँचहरुसँग सम्झौता नै गर्न सकिन, जुधिरहेँ अनि हारिरहेँ। न केहि निस्कर्ष नै निकाल्न सकेँ। सोँच र भावनाका कौरवहरुसँग इन्द्रिएका पाण्डवहरुको महाभारत चलिनैरह्यो अनि म बारबरिक जस्तै हेरिरहेँ टुलुटुलु। तर खुसीको कुरा मैले उज्यालो देखेँ। झ्यालबाट पसेका किरणहरुले कपाल सुमसुम्याएर,”सबै ठिक छ, पिर नगर” भनेजस्तै लाग्यो। रातभर पाट्टिएका आँखा बन्द गरेँ मैले अनि निदाएँ। उज्यालो भयो।
सुन्नेलाई, पढ्नेलाई सुनको माला, मलाई फुलको माला। यो सोँच जहाँसुकै जाला, फेरी मकहाँ कहिल्यै नआउला।
ईति श्री!!!!
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com