Nepali Poem | पहिलो रजस्वला | Anushma Dhungel

Nepali Poem Anushma Dhungel
रगतको थोपा यतै उतै
मनमा विशाल द्वन्द,
अनि अनौठौपन
नयाँपनसँगै मिसिएको,
मेरो एक्लोपन ।
मनको दुविधा,
सँगै आएको नयाँपन,
चार दिन,
भ्रमको बादलले
वरीपरी पछ्याउँदै बित्यो!
सात दिन,
मनभित्र
वर्षाको संभावना बढ्दै गयो!
एक्काइस दिन,
वर्षाले आँसुको समुन्द्र बनायो!
छाल आयो, सबै बगायो!
गुफाभित्रको मेरो अनुभव,
आफूसंग भेट्ने मौका बन्यो।
आफूलाई चिन्ने प्रयास भयो।
ती आजीवन संस्मरणीय क्षण,
अनि किशोरी हुनुको उराठपन,
मलाई अल्झाउन थाल्यो।
मुसुमुसु नहाँस!
सबै सामु आँसु नबगाऊ!
यसरी हिँड!
त्यसरी रुक!
यो विधिले उठ !
यो रीतिले बस!
सबै नीति तिमी पालना गर ।
अनगिन्ती नियम
त्यसभित्र लुकेको न्यास्रोपन
अनि अलमल्ल म ,
समाजको रंगमा रंगिनुपर्ने बाध्यता
नियमहरूको संगालोमा
आफूलाई ढाल्नुपर्ने असहजपन,
पहिलो रजस्वला ,
मेरो अस्वीकार्य नयाँपन ,
त्यसभित्रको स्मरणीय स्वार्थपन,
अनि निम्तिएको एक्लोपन।
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *