Nepali Poem | बा | Rishi R Adhikari | Father’s Day

kitab jatra Rishi R Adhikari Offline Thinker nepali poem father day
बा
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिइदिने ‘बा’ भएनन् !!
चाहनाहरु थोरै थिए,
जिउने बहाना धेरै थिए,
हाँसो आँसु सबै थिए,
माया गर्ने साथ् थिए,
न भूतको ज्ञान थिए,
भविष्यको अञ्जान थिएँ,
सुखै सुख नभएनि
पिडा थेग्ने काख थिए
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिइदिने ‘बा’ भएनन् !!
बुढा भए नि ‘बा’ थिए,
सकी नसकी आउने गर्थे !
त्यो स्कुलको घण्टी लाग्न नपाउँदै !
बूढो शरीर धेरै ठाउँमा बिसाउँदै,
कहिले पाउरोटी त कहिले चंद्र भैयाले बनाको जेरी
कति गाह्रो हुन्थ्यो होला है ‘बा’ त्यहाँ सम्म आउँदा ?
म अझ झ्याम्मिदै हाम फाल्थे,
ऐया नि नभनी ‘मेरो बाबु’ भन्ने
मलाई माया गर्ने तिमी थियौ,
तिम्रा खुशीको हाँसो म थिएँ !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिइदिने ‘बा’ भएनन् !!
उमेरदेखि हारेका थिए,
तर समयलाई नै जितेका थिए !
ती चाउरी परेका छालाहरु,
पहिले छुँदा अनौठो लाग्थ्यो !
अहिले आएर त्यही स्पर्शलाई
आँखा चिम्ली सम्झन्छु,
लाग्छ फेरि त्यही सेतै फुलेका दारी
आफ्नो गालामा जोडी खेल्न पाए ?
तिम्रा ती कृतिम दाँतलाई
फेरि आफैले लगाई गिज्याउन पाए ?
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिइदिने ‘बा’ भएनन् !!
‘बा’ भनेर पुकार्ने ध्वनि थिए,
संसारका सारा खुसी त्यसमै थिए !
धर्ती जस्ती ममताले भरिएकी आमा थिइन्,
आकाश जस्तो सुशील ‘बा’ थिए !
तर धर्ती रआकाश जस्तो
कहिल्यै संगम नहुने गरी
आकाश माथि रहें
र धर्ती अझै मलाई सम्हाल्दै छिन् !
तिम्रा पीडा र मेरो जिम्मेवारी उनी लि‌‌दै छिन्
किनकि उनी अहिले ‘आमा’ र ‘बा’ दुवै बनेकी छिन् !
त्यति बेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिइदिने ‘बा’ भएनन् !!
हेर त ‘बा’
जो तिम्रो काँधमा बस्ने थिएँ,
तिम्रो छोरो अहिले जवान भएको छ !
अहिले ऊ धेरै कुरा बुझ्ने भएको छ,
तिम्रो स्यावासीकाे लायक भएको छ,
तर ती हातहरुबाट स्यावासी कहिल्यै पाउँदिन !
संसारले ताली बजाउँदा
तिम्रो ‘बाबु’ शब्दले ध्वनि गुञ्जन्छ
अनि एक्लोपनको आभाष हुन्छ !
लाग्छ केही अपुग छ,
केही अझै अपूराे छ !
त्यतिबेला ‘बा’ थिए,
दिने कुनै उपहार थिएनन् !
अहिले उपहार थुप्रै छन्,
तर लिइदिने ‘बा’ भएनन् !!
-Rishi R Adhikari, काठमाडौं

 

Read More From Sudarshan Poudel:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *