कहिले उकालो त कहिले ओरालो
गरिरहने यी पाइलाहरु
अचानक एउटा विन्दुमा गएर रोकिनेछन्
भन्ने कहिले लागेको थिएन
ठाउँ एउटै, परिवेश एउटै, सबथोक एउटै
बस् परिवर्तन भयो त केवल समय
त्यही परिवर्तित समयले गरायो हाम्रो भेट
सायद समयको चाहाना पनि यही नै थियो होला
कसरी मापन गरु
त्यो तिम्रो आँखाको तागतको
जसले सजिलै मेरा
चञ्चल पाइलाहरु रोकिदिए
मेरो गन्तव्य भुलाउने दुस्साहस
आखिर कति सजिलै गर्न सक्छौ तिमी
तिम्रो निर्दोष देखिने त्यो मुहार
कति दुष्ट हुन सकेका
अनि कति सजिलै मोहित बनाउन सकेका
तिम्रा ती शक्तिशाली आँखाले
म त बाठो छु जस्तै लाग्थ्यो
तर तिमीले कति सजिलै उल्लु बनायौ
कहिले मुस्कुराउँदै आँखा अगाडि आइदिन्छौं
त कहिले ओझेल पार्दै हराइदिन्छौं
प्रिय तिमी निकै चञ्चल छौ
त्यही भएरै होला
तिमीलाई बुझ्न निकै गाह्रो भइरहेको
आखिर तिमी मेरो लागि मात्र यति कठिन हौ त?
कोसिस नगरेको पनि होइन
तिमीलाई बुझ्ने प्रयास नगरेको पनि होइन
तर खोइ तिमी यसरी
हरेक दिन फरक चरित्रमा
मेरो अगाडि प्रस्तुत भइदिन्छौं कि
लाग्छ तिमी कहिलेकाहीँ त
तिमीलाई नै आफू के गरिहरेछु
भन्ने थाहा हुँदैन होला
आखिर जे होस्
प्रिय तिमी निकै चञ्चल छौ ।
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

