नेपाली साहित्य जगतमा बिर्सन नसकिने नाम “बिपि कोइराला” को एउटा उत्कृष्ट आख्यान हो सुम्निमा ।
आख्यानको पात्र सुम्निमा र सोमदत्तको माध्यमबाट लेखकले जीवनको धेरै जटिल प्रश्नहरुको सहज उत्तर दिएका छन् ।
साधना र तपस्याको लागि वन प्रस्थान गरेको एक ब्राहमण परिवारको प्रसङ्गबाट सुरु भएको उपन्यास ज्ञान, आनन्द , धर्म, सुख दुःख , सन्तान प्राप्ति, वैवाहिक सम्बन्धका उतार चढाव र यौन सम्बन्ध भित्रको व्यवधान, माया मोह र यस भित्रको आरोह अवरोह, जीवनको पुर्णता अपुर्णता, जीवन भित्रका मनोबैज्ञानिक उलझन, मृत्युवरण र त्यसपछी को वन्शवहालीको समस्याहरु बिच लेखकले शब्दबाट सिघौरि खेलेका छन् ।
केही प्रशन छाडेका छन् । केही उत्तरहरु दिएका छन् ।
समग्रमा पाठकलाई जीवन बुझ्न् र जिवन्त सम्बन्धहरु बुझ्न सहयोग गरेका छन् ।
एउटा ब्राहमण परिवेशको बालक र किराँती संस्कारमा हुर्किएकी बालिका, सोमदत्त र सुम्निमाको भेटघाटबाट लेखकले दुई भिन्न विचारको भेद छुट्टाउन खोजेका छन् ।
यहाँ सुम्निमा र सोमदत्तको मात्र भेट नभएर एउटा किरात विश्वास र अर्को हिन्दु विश्वास बिच भेट भएको छ ।
जहाँ एउटा विश्वासमा माता प्रधान छन् त अर्कोमा पिता प्रधान । एउटामा पशु र प्रकृति पुजिन्छन् त अर्कोमा स्थापित देउता पुजिन्छ्न् ।
किरात विश्वासमा ‘आनन्द’ शरीर भित्र भेटिन्छ भने हिन्दु विश्वासमा ‘आनन्द’ शरीर भन्दा बाहिर भेटिन्छ ।
एउटामा जीवनको पुर्णता शरिरको पुर्णता र हेरचाहमा भेटिन्छ र अर्कोको जीवनको पुर्णता शरीर भन्दा बाहिर आत्माको शुद्दिमा भेटिन्छ । यसरी लेखकले एउटै परिवेशमा दुई भिन्न पृष्ठभुमि र विश्वासको बाँस रहने कुराको ज्ञात गराएका छन् ।
दुई पात्रमा हुने गरेको वार्तालापमा सुम्निमाको अघि सोमदत्तको स्थिती आदरणीय देखाएका छन् । सायद त्यो स्थिती तत्कालीन समाजमा हाबी रहेको ब्राहमणवाद तर्फ लक्षित छ ।
किशोर अवस्थामा हुर्कदै गरेको सुम्निमाको आकर्षक शरीर प्रतिको मोह र सम्भावित पापको त्रासबाट सोमदत्त टाढा भाग्न चाहान्छ ।
घोर तपस्याबाट इन्द्रियहरुमा विजय प्राप्त गर्न सोमदत्त घर परिवार त्यागी नयाँ मार्ग खोज्न निस्कन्छ ।
खुसी इन्द्रियहरु माथिको विजयमा छ या इन्द्रियहरुको माग सन्तुस्टिमा छ? यसै घटनाले उठाएको मुख्य प्रशन हो यो !
सुम्निमा: आख्यान मात्र नभएर जीवन दर्शन हो
दृढ अठोट , अथाहा मिहिनेत, लामो समयको घोर तपस्यापछी सोमदत्त घर फर्कन्छ । ततपश्चात वन्सबहालीको लागि उसको विवाह गरिन्छ । सन्तान प्राप्तिको प्रायोजनले गरिएको विवाहमा उनीहरुका सबै उदेश्य विफल हुन्छन् ।
कामवाशना शून्य यौन सम्बन्धबाट उनीहरुको उदेश्य परिपुर्ति हुँदैन । बरु जीवनमा मदभेद, वितृस्णा, र अनावश्यक उल्झनहरु मात्र बढ्दै जान्छ । सम्बन्ध शारीरिक, मानसिक होस् या भावनात्मक, प्रेमपूर्ण स्वार्थ र उदेश्यहीन भएमात्र सफल हुने सन्देश लेखकले दिएका छन् ।
सन्तान प्राप्तिको लागि गरिएका अनेकन विफल प्रयास पछि सोमदत्त एकदिन किरात धर्मगुरु (सुम्निमाको हजुरबुबा) लाई भेट्ने मनोसायले किरात गाउँ पुग्छन् । जहाँ उनको मरिसकेको कामवाशना पूर्ण जागृत हुन्छ ।
र सोमदत्तले हराइसकेको सुम्निमा प्रतिको माया, मोह पुरानै स्वरुपमा भेट्छ जसलाई मेटाउन सोमदत्त घोर तपस्यामा थियो । शरीर भित्रको मनुवा रिझाउने क्रममा सोमदत्तलाई आनन्दमय स्थानमा सिगारिन्छ र उसमा जीवन भरिएको छ । यसअर्थमा लेखकले शरिरलाई खुसी पार्नु अतिआवश्यक रहेको ज्ञान दिएका छन् ।
तर सुम्निमा प्रति सोमदत्तको माया हो या मोह? बिपिले एउटा टड्कारो प्रश्न दिएका छन् । के मोह यति बलशाली छ जसलाई कठोर साधनाले पनि मनबाट त्यसको बास हटाउन असम्भवप्राय छ? या के त्यो माया हो जसबाट जति टाढा भागे पनि टाढिन सकिँदैन ?
साथै सोमदत्तको कठिन दामपत्य जीवन औल्याउँदै बिपिले पति पत्निबिचको वैमनस्यता र मनमुटाबको पराकाष्ठा देखाएका छन् ।
र सम्बन्धमा आउने उत्कट समस्याका कारण थिए अप्रासंगिक मनोव्याख्या र व्यग्र शंका ।
र सन्तानको जन्म उपरान्त पनि पति पत्निको प्रतिकुल सम्बन्धको आफ्ना सन्तानमा नकारात्मक असर पर्ने देखाएका छन् ।
सोमदत्तले आफ्नो अन्तिम सास सुम्निमाको अघि फेर्छ ।
सोमदत्तको पुत्र सुम्निमाको छोरीसङ्ग प्रेमबाट वैवाहिक बन्धनमा बाँधिन पुग्छ । सन्तान र पारिवारिक सन्तुष्टि सोमदत्तको छोराले आफ्नो बुबाको भन्दा बढी भोग गर्न पाउछ ।
कारण: उसले आफ्नो प्रेमलाई पछ्याउन सफल भयो । आफ्नो खुसी आफ्नै शरिरमा खोज्यो ।
र बिना प्रायोजन निस्वार्थ वैवाहिक सम्बन्धमा बाँधियो । त्यसैले उसको खुसीमा अन्तरजातीय विवाहले रत्तिभर फरक पारेन ।
तसर्थ सुम्निमा एउटा आख्यान मात्र नभएर जीवन दर्शन पनि हो । बिपिले धेरै उल्झनका गाठाहरु सोमदत्त र सुम्निमाको माध्यमबाट सजिलै फुकाइदिएका छन् ।
हामी सबैले पढ्नै पर्ने पुस्तक हो सुम्निमा ।
मौलिकता गुमाउँदै नेपाली गाउँहरु
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
2 Comments