कलम चलाउने हातले हो । तर, सायद यी हातहरु चलाउने मनले हो । नभए, मैले लेखेका हर हरफमा किन झुल्किन्थियौ तिमी यसरी ?
तिमीले आफूलाई नियाल्न सायद ऎना हेर्छौ । मेरा आँखाले तिमीलाई नियाल्न तिम्रो तस्वीर हेर्छ । र मनले नियाल्नु पर्दा, डायरीमा लेखिएर लुकेका हरफ हेर्छ ।
कस्तो गज्जबको चिज रहेछ है, यो मन ! उडछ हर जहाँ ! चिजमा, हावामा ठाउँमा तर अडिन्छ केवल तिमीमा । मानौँ तिमी, मेरो मनरुपी हवाइजहाजको एयरपोर्ट हौँ ।
त्यस्तै, आँखाले देख्छ जीवन र प्रकृतिका नियमहरु। सम्बन्धका बाधाअरचन र नियमहरु । घात प्रतिघातका घटनाहरु । तर मनले देख्छ केवल मोहनी ! देख्छ केवल तिमीमा । सौभाग्य या दुर्भाग्य? हरबखत अल्झिन्छ तिमीमा । अल्झिन्छ अघि बढन नसकेको सम्बन्धमा। अपूर्ण वार्तालाप र सम्पूर्ण पूर्णता बोकेको तिम्रो मुस्कानमा । हरदम अल्झिन्छ कल्पनामा, जहाँ मायाको महासागर छ । त्यसैले लाग्छ, मन सलाइको काँटी हो, जसले जीवनमा मायाको डढेलो लगाउछ ।
मन बाधेर राखुँ, अहँ अडिदैन । हावाझै बतासिन्छ र तिमी मै पुग्छ । कतै कैद गर्न खोज्छु, अहँ सकिँदैन । बरालिन्छ तिमी तिरै । बहन्छ एकतमासले तिमीमै नहराउन्जेल । हरेक मनसङ्ग केही न पागलपन पक्कै रहदो हो । मन यहि पागलपनले सिर्जित यस्तो खोच रहेछ, जहाँ जीवनभर मायाको कुहिरो जमिरहन्छ ।
कवि हरिभक्त कटुवालले भनेझै, मन फलामको हुँदो हो त बडा असल हुँदो हो । गज्जब हुँदो हो । तर यसो सोच्छु, मेरो मन फलामकै भइदिएको भएपनि सायद, तिमी जीवनमा खिया बनेर आउने थियौ । र फेरि उस्तै खोक्रो पार्ने थियौ । त्यसैले कवि हरिभक्तले भनेझै फलामको मन बोकेर जिउन सकेको भएपनि, मायाबाट छुट्कारा सायदै पाइन्थ्यो ।
त्यस्तै कहिले गाउँले भाका गुन्जिन्छ । मन परेको फूल, सुके पनि पहेलै, के बिर्सुला मयेलाई ! जब मन परेपछि ओइली जाने फुलको रङ त मनमा नफेरिने रहेछ तब सधैभरी मस्तिष्कमा घुमिरहने तिम्रो के कुरा ?
डायरीमा कतै लेखिएछ, एउटा निर्जीव ढुङ्गा पुज्छु, म ढुङ्गाको पुजारी हुँ ! र तिम्रो मन मेरो इष्टदेवता हुन् । यहाँ तिम्रो वर्गीकरण देउतामा भयो या ढुङ्गामा? आफै अलमलमा छु । ढुङ्गामा होस् या होस् देउतामा: या होस् दुवैमा ! भक्तलाई के को दोस? भक्तलाई के मिहिनेत के नतिजा? आखिर उसले माटै भएपनि त पुज्ने नै हो ।
मायाको खेल नै गज्जबको। जहाँ मान्छे मनलाई बन्धकी राखी, भरपुर यादहरु साच्दछ । र तिनै यादहरुको ऋणमा बिताउँछ दिन र रातहरु । सायद, जीवनमा माया मात्र यस्तो ॠण हो, जुन जति किस्ता तिरेपनि घट्दैन ! बस, बढिरहन्छ । याम जुनसुकै होस् । परिस्थिति जस्तोसुकै रहुन् । दुरीले टाढा होस् या नजिक । मायाको ऋण कहिल्यै नघट्ने ॠण रहेछ ।
मेरा कलम नै यस्तै रहेछन्, घुमिफिरी जहिल्यै तिमीमा पुग्नुपर्ने । तर, लेख्नु केही छैन । नलेख्नु पनि त केही छैन । मनका आरोह शब्दमा उत्रन्छन् आधा मात्रै ! शब्दहरु पनि अनकनाइकन मर्म बुझाउछन् । त्यो नि आधा मात्रै ! अफसोस् बुझ्नेहरुले पनि पुरै बुझिदिन्नन् । सबै अपूर्ण छन् । सबै अधुरो छन् । केबल तिम्रो निर्दोष हेराइ र हाम्रो मौनता बाहेक ।
खैर, मन तिम्रो पछि लागुन्जेल मेरा हातहरु डायरीका पानामा दगुरिरहन्छन् । मन जहिल्यै तिम्रो क्षितिज चिहाउन पुग्छ, तर जहिल्यै निराश भएर फर्कन्छ । यस्तै क्रम चलिरहन्छ । तब त मनमा माया छ । तब त मनमा माया छ ।