तिमी, म र तिम्रा यादहरु | Suman Bhattarai

तिमी म

तिमी, म र तिम्रा यादहरु

जीवनमा भेटिन्छन् हजारौं बटुवाहरु ! केही परिचित त केही अपरिचितहरु । त्यसरी नै भेटिएकी हौ तिमी ! जीवनको अविरल यात्रामा भेटिने आम अपरिचित जस्तै। तर तिमी भेटिनासाथ म आफू, आफूसङ्ग अपिरिचित भएको हुँ, किनकी म म नभएर तिमी पो भए !

तिमी र अरुमा फरक यतिमात्र छ कि अरु भेटिएपछि बाटो मेटेर जान्छन् तर तिमी बाटो दिएर गयौ ।

एउटा यस्तो बाटो जसले मेरो गन्तव्य फेरिदियो र बनाइदिएको छ मलाई तिम्रो असफल प्रेमको गन्तव्य पछ्याउँदै गरेको एक अविरल यात्री ।

जुन यात्रामा अनावरत लाग्दैछु तिम्रो यादहरुको गर्हुङ्गो भारी बोकेर, प्रेमको पसिना काडदै ! जहाँ यादहरुको भारी बिसाउने चौपारी पनि तिम्रा यादहरु नै हुन् ।

तिम्रा यादहरु पनि बडा बैमान छन् ।

दिनको उज्यालोमा घाम जस्तै म जहाँ पुगु त्यहीँ पछ्याउछन्। रातको उज्यालोमा छायाजस्तै सधैँ सङ्गै रहन्छन्। कुइरोले संसार घेरेजस्तै मस्तिष्कमा डेरा जमाउछन् र कहिलेकाही बतासले रुख हल्लाएझै मुटुमा कम्पन लिएर आउछन् ।

तैपनि खै किन जिन्दगीको सार्थकता यसैमा महसुस हुन्छ ! तर तिम्रा ती बैमान यादहरुले तिम्रो रुपको स्पष्ट चित्र कोर्न सक्दैन । मुहार सम्झन खोज्दा केहि अस्पष्ट आकार भेटाउछु । धमिलो पानीमा बहने माछाजस्तै; बादलले ढाकेको सूर्यजस्तै अस्पष्ट !

केही सम्झे जस्तो त केही बिर्से जस्तो लाग्छ । तर तिमीलाई स्पष्ट नसम्झिदैमा बिर्सन सकिने भए मेरा आधा उल्झन यसै सकिने थियो ।

तर यहाँ न उल्झन सकिन्छन् न तिमी न म न तिम्रा यादहरु ! मैले भोग्नेगरेका उल्झनको दोषी म हु कि? तिमी हौ कि? तिम्रा यादहरु हुन म यसै ठम्याउन सक्दिन ।

उलझ्नको कारण जे सुकै होस तर तिम्रा यादहरुले मलाइ बोटबाट ओइलिएर भुइँमा खस्दा काँडामा अल्झेको फुलको थुङ्गा जस्तो बनाएका छन् ।

न बोटको न भुइँको ! न तिम्रो न आफ्नो !

म तिम्रो हुनलाई तिमी मेरो हुनुपर्छ र म आफ्नो हुनलाई पनि तिमी मेरो हुनुपर्छ। तर म तिमीसङ्ग नजिक भएरपनि नजिकिन सकिन र टाढा भएर टाढिन नि सकिन ।

कस्तो आपत ! कस्तो विपत ! कस्तो भवितव्यं है !

म त बोटमा फल्नै नपाएको फल भए जसलाइ बोटसङ्ग, ऋतुसङ्ग र मालिसङ्ग के मतलब?
म बिहान बिउँझदा लाग्छ; म आफू नभएर तिमी बिउँझिएकी छौँ । बिहान लिने चियाको चुस्कीमा तिम्रो यादहरुको न्यानोपना लाग्ने बानी लागेको छ ।

जसरी बिहानमा घामको प्रकाश बिस्तारै छरिदै जान्छ, तिमी पनि मनभरी छरिँदै जान्छौ । राती अन्धकारमा सूर्य हराएजस्तै तिम्रो कल्पनामा म पुरै हराउन थाल्छु ।

रातिको समयमा शरिरलाई चिसो सिरेटोले हान्छ त मनलाई तिम्रो यादहरुको तातो सिरेटोले हान्छ ।

यो दिनचर्या जीवनमा यसरी घट्छन् जसरी नदि बग्छ । बिल्कुल निरन्तर, स्वभाविक र नित्य !
र यसले मलाई कमजोर बनाउदै छ । थाहा लागेको छ कि प्रेमले मानिसलाई कमजोर बनाउछ । सारहिन बनाउछ । रंगहिन बनाउछ ।

जहाँ उसको जीवनमा आफू आफू रहदैन । संसार एकजनामा देख्छ । भीड एक जनामा देख्छ र एकान्त एकजनामा देख्छ ।

प्रेम यति भयंकर जो छ कि यो कमजोर मुटुहरुलाई सुहाउने अवस्था होइन रहेछ । यहाँ सबै जायज नाजायज छ्न् । र सबै नाजायज जायज छन् ।

यो यस्तै विचित्रको खेल रहेछ जहाँ पुगे पछि मानिस आफ्नो चित्र भुल्दछ । प्रेम  शब्द यति सत्य छ तर पनि मानिस यसमा डुबेपछी उत्रनु असम्भव प्राय छ । यो जिवन्त छ तर पनि यसलाई भोगेपछी मान्छे हर दिन मरिरहन्छ ।

यस्तो अजब लिला हो प्रेम । जहाँ म फसेको छु र पनि सायद तिमी अज्ञात छौ ।

तिमी अर्थात् हामी दुवै अज्ञात छौ । यो अज्ञानताले मलाई यति सर्वशक्तिमान बनाएको छ कि प्रेमको हर दिशा म नियन्त्रण गर्न सक्छु ।

हर स्थिती म निर्माण गर्न सक्छु किनकी हाम्रो सम्बन्ध एकतर्फी जो छ ! र एकतर्फी सम्बन्धले मलाई सर्वशक्तिमान भएर पनि निरीह बनाइदिएको छ । किनकी म भित्रको म त तिमी जो भैसक्यौ ।

म त उहिल्यै हराइसकेको हुँ ।

मेरो अस्तित्व उहिल्यै विलिन भैसकेको हो तिमीमा (जुनदिन) म तिमीलाई प्रेम गर्थे । तर त्यो जुन दिन यति लामो रहेछ कि कहिल्यै नसकिने। कहिल्यै नमेटिने !

सायद धेरै सम्बन्धहरु एकतर्फी नै ठिक हुँदा रहेछन् । त्यस्तै रहेछ हाम्रो पनि । जसरी पृथ्वीले एकतर्फी सूर्यलाई परिक्रमा गरेको छ र चलेको छ जगत ।

नदि एकनास एकतर्फी बगेको छ र चलेको छ जलचर । त्यस्तै मेरो एकतर्फी प्रयासले चलेको छ हाम्रो सम्बन्ध ।
त्यस्तै केही सम्बन्धहरु व्यक्त हुँदा भन्दा अव्यक्त भावमा बलिया हुने रहेछन। नजिक रहँदा भन्दा टाढा रहँदा सार्थक हुने रहेछन् ।

वार्तालापले भन्दा मौनताले बढी उत्तर दिँदा रहेछन् । सधैँ भेटिँदा भन्दा हराउँदा महत्त्वपूर्ण बन्ने रहेछन् । त्यसैले यहाँ करोडौं प्रेमीहरु यादहरुको भारी बोकेर गुमनाम छन् ।

र त्यस्तै चुपचाप र गुमनाम छु म पनि !

तपाईलाई सुमन भट्टराइको लेख “तिमी, म र तिम्रा यादहरु” कस्तो लाग्यो?

उनी म र मेरो डायरी | सुमन भट्टराई

Find Suman on Facebook: Suman’s Id

Facebook Comments

YOU MAY ALSO LIKE

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *