यादहरुमा पूर्णविराम | Suman Bhattarai

विगतमा हराउँदा | suman bhattarai

सायद भेटिनु र छुटिनु हाम्रो हातमा छैन । भाग्यले नै हामीलाई भेटाउँछ, अनि छुटाउँछ । भेटिनु र छुटिनु बीचका कर्म मात्र हाम्रा हातमा हुन्छन्। तर सायद मात्र !

संसारमा बिरलै यस्ता चिजहरु होलान जुन अनन्त होलान्। प्राण र निस्प्राण वस्तु दुवैको आयु छ। छोटो आयु छ। अझ सम्बन्धहरुको धेरै छोटो छ ! यद्यपी यसका क्रिया प्रक्रियाहरु भने चिरायु छन्।

जीवन सम्बन्धहरुले धानिन्छन् र सम्बन्ध यादहरुले। सायद ओइलिएर झरेको फूलसँग आफ्नो मालीको याद रहँदो हो ! मुर्झाएर जाने पालुवाहरुसङ्ग आफ्नो बोटको याद रहँदो हो ! बर्सिएर झर्ने असिनासङ्ग बादलको याद रहँदो हो ! तर सायदै मात्र !

यादहरुमा रुमलिने सारा जगत छ। र यसैमा हराए म पनि ! केही जानेर, केही अनजानमा। रातमा दिन हराए जस्तै, सागरमा नदी हराए जस्तै, मानौँ हराउनु जीवन हो। अनि यादहरुमा हराउनु सार्थकता !

हराउँदै गर्दा सम्झन्छु, हाम्रो सम्बन्ध एउटा सुबासिलो फूल जस्तै थियो। जुन बेलैमा फुल्यो र बेलैमा फक्रियो। तर ढिलो होस् या चाँडो फुल्ने हरेक फूल ओइलाउँछ। सम्बन्धको होस् या प्रकृतिको, यो नित्य नियम हो । त्यसैले ओइलिनु त छ नै ! बिसाउनु त छ नै सम्बन्ध । जीवन पनि त बिसाउँछ कतै। नदी पनि त सागरमा गएर बिसाउँछ । त्यसैले हाम्रो सम्बन्ध पनि अपवाद रहन सकेन।

तर रातमा दिन हराउनु क्षणिक हो । नदी सागरमा बिसाउँदैमा उसको गति रोकिँदैन । फूल र मानव जीवनमा फुल्नु र ओइलिनुको क्रम चलि रहन्छ । त्यस्तै सम्बन्धमा पूर्णविराम लागे पनि यादहरुमा लाग्दैनन् । त्यसको भोगाइक्रम नै अविरल छ । लाग्छ यो चिज सारा मानव जगतकै ढुकढुकी हो।

तर ढुकढुकी वर्णित हुँदैनन्। यादहरुलाई शब्दमा उतार्न नसकिने! मध्यरातमा च्याटिङ गर्दाको उत्सुकता र अनिदोलाई शब्दमा कसरी उतारुँ? तिम्रो घर वरिपरि रहँदा बढि जाने मुटुको चाललाई कसरी वर्णन गरुँ? तिम्रो नाममा कविताको हरफ कोर्दा आउने आनन्द कसरी बुझाउ यस अबुझ दुनियाँलाई? सायद असम्भव छ। सायद विश्वमा प्रेमका लागि कुनै शब्दकोष बनेकै छैन्। तर सायद मात्र !

तिम्रा यादहरु झरी जस्तै बितण्डा मच्चाउन आउँछन्। तर फरक छ। झरी बिसाउँछ, तिम्रा यादहरु बिसाउँदैनन्!

बितेका पलहरु यादमा मात्र सिमित रहन्छन्। या ती सुनौला पल जीवनमा फेरि दोहोरिन्छन्? यसै भन्न सकिँदैन। त्यसैले पनि प्रेम रहस्यमय छ । तर प्रेम भेटिनु मात्र होइन, छुटिनु पनि हो । सम्बन्धको सबलता मात्र होइन, दुर्बलता पनि हो । यो विगत हो। वर्तमान हो। हो भविष्य पनि!

विगतको तपाइको प्रेम अहिले प्रेम होइन भने सम्झनुस् तपाईको त्यो विगत प्रेम थिएन । एउटा भुल थियो । जुन सायद फेरि नदोहोरिएला । सायद!

सम्बन्धका चाहनाहरु सबै पूरा भएमा जगत यादमा विरक्तिदैनथ्यो। इश्वर त्यति दयावान कहाँ छ र? मन रुपी रथको सारथी बनि कहिले पछ्यौरीको एक फेरा डोर्‍याउछन् त कहिले दोसल्लाहको दोस्रो फेरा ! बस डोर्याउने, अल्झयाउने चक्रमा हामी अल्झिँदै छौँ। त्यसमा म कसरी अलग रहन्थे?

म भने अचेल हुन छोडेको हाम्रो वार्तालापमा अल्झिरहेछु। मेटिँदै गएको सामिप्यतामा र टाढिदै गएको आत्मियतामा अल्झिरहेछु। सायद म जुन हुँ र तिमी सूर्य। दुवैसँगै उदाउन नसकिने । तर विचरा- जुनको अस्तित्व सूर्यकै किरणमा धानिएको छ। के यो सौभाग्य भनौँ वा दुर्भाग्य? तिम्रो लागि प्रश्न हो?

कसैको याद कसैको लागि न अभिशाप हो, न वरदान। न सुख वा दुःख। यी एकले अर्कालाई दिने प्रेमको प्रतीक हो। समयले सम्बन्धमा दिएको मायाको चिनो। यादहरुमा पूर्णविराम तब मात्र सम्भव रहन्छ जब जीवनमा पूर्णविराम लाग्छ ।

– Suman Bhattarai

 

Read: विगतमा हराउँदा ! Suman Bhattarai | Offline Thinker

चराहरुको चिरबिर, तुवालोले ढाकेको पारी डाँडा, बादलले डुम्म छेकेको घाम, काँडा उमार्ने सिरसिरे चिसो बतासमा रम्दै स्मृतिमा हराउँदा लाग्छ जीवन भनेकै विगत हो । केही छुटेको पल हो । गुमाएको तीता मीठा विपना हो ।…

– Suman Bhattarai

विगतमा हराउँदा ! Suman Bhattarai | Offline Thinker

Also Read: बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *