आफैलाई प्रश्न ~ म किन स्तब्ध छु ?
म स्तब्ध छु।
गल्ली अनि गोरेटोहरुमा याद बटुल्दै दौडिने मेरा पाइलाहरु रोकिएका छन्।
अनेकौँ मन लोभ्याउने दृश्यहरु अवलोकन गर्दै शान्त रहने मेरा नयनहरु थाकेका छन्। कथा कोर्दा-कोर्दा कहिल्यै नथाक्ने मेरा यी हात अनि औंलाहरु आज केही लेख्न सकिरहेका छैनन्। लाग्छ मेरो उर्जा होइन कलमको मसी सक्किएको छ। मेरो आकङ्छ्या होइन कापीहरु रित्तिएको छ। कल्पना बुन्दा बुन्दा कहिल्यै झर्को नमान्ने यी मस्तिष्कले विश्राम लिएको छ। तर समय भने उस्तै छ। निरन्तर चलिरहेछ। सधैँ जसो यसका सुइहरु टिक-टिक आवाजसँगै दौडिरहेछ, सपनाहरु पनि बेजोडले बोलिरहेछन्।
तर म? म भने मौन छु। किन??
उद्देश्यहरु मुस्कुराइरहेछन् तर म भने स्तब्ध छु। लाग्छ घडीको टिक-टिक चालहरुमा चल्न खोज्दा समयले घाँटी न्याक्दैछ। विगतले जिस्क्याइरहेछ। वर्तमानले तर्साइरहेछ। भविष्यले झस्काइरहेछ।
आखिर बुझ्नै नसकिने यो स्वभावको भाव कस्तो? जति उत्सुकताले भरिएपनि सधैँ उस्तै उराठ लाग्ने यो दिन कस्तो? अनि भावहरुमा डुब्दै ऋतुहरु जस्तै बद्लिरहने मन कस्तो?
भयो- मनको त कुरै नगरौँ।
कतै सुनेको थिएँ अनि कहिँ पढेको थिएँ- सबैभन्दा अटेरी मान्छेको ‘मन’ हुन्छ रे। साँच्चै रहेछ।
साह्रै जिद्दी हुँदो रहेछ यो मन।
फेरि मनमा प्रश्नहरु पनि अनेक उब्जिन्छन् तर उत्तर खोज्ने क्रममा जिन्दगी नै बिते जस्तो लाग्दो हो। सायद समयले कसैलाई नपर्खने भएर होला। या बितेको समयलाई फर्काउन नमिल्ने भएर होला। समयसँगै जीवन ढल्किएको जस्तो महसुस हुँदो रहेछ। कति कुरा पढेर सिकिन्छ अनि कति भोगेर। तर मैले त पढेर र भोगेर भन्दा पनि धेरै देखेर सिकेँ।
तर किन ती देखेका दुःखहरुलाई शब्दमा समेट्न सक्दिनँ? मानिसका भावहरुलाई किन खुलेर आफ्नो कथामा व्यक्त गर्न सक्दिन। कथाहरु आफ्नै अघि आएर उभिँदा पनि शब्दहरले कहिलेकाहिँ लेखकलाई धोका दिदोँ रहेछ। जति प्रयास गर्दा पनि निराशा र हरेसलाई अङ्गाल्दो रहेछ।
यति हुँदैमा म किन स्तब्ध छु त?
कतै म कुनै उल्झनमा अल्झिएको छु कि? सुल्झाउन खोज्दा कतै चुकेको हो कि? गन्तव्यको नजिक पुग्नै आट्दा हराएको वा फर्किएर आउने बाटो बिराएको महसुस हुन्छ। तर यति हुँदैमा म किन आँत्तिएको हुँ।
किन यति हत्तारिएकी? मलाई पुग्नु पर्ने गन्तव्य कहाँ हो? सोचेँ, धेरै सोचेँ तर कठै, जवाफ भेटिन। सायद जवाफ बन्द कोठाभित्र अन्धकारमा कैद भएको मेरो मस्तिष्कलाई थाहा थियो। भ्रमको दुनियाँमा घुमिरहेको मेरो मनलाई थाहा थियो। अनि डरको बतासमा मैले फेरिरहेको साससँगै उडिरहेको मेरो साहसलाई थाहा थियो। म प्रतिक्षामा छु तर खै केका लागि। म स्तब्ध छु, कुन्नी के कारणले।
मेरो स्तब्धताले मलाई वरिपरि चियाउन बाध्य बनायो। म जस्तै अर्थहीन टोलाउने स्तब्ध पात्र खोज्न विवश भए। भेटे पनि। कयौं स्तब्ध मनहरु। मेरो स्तब्धतालाई मात गर्ने सतब्ध आत्माहरु। लुकेका कथाहरु। भोको पेट लिएर गल्ली अनि चोक-चोकमा खाली खुट्टा दौडनेहरु। न्याय नपाएर अदालत धाइरहने पात्रहरु। रोजगारीमा रुमलिएकाहरु चिन्तित युवाहरु। हिंसाको सिकार भएकाहरु चेलीबेटीहरु। म त के स्तब्ध? म केवल गन्तव्यको खोजीमा गोरेटो नभेटर स्तब्ध छु। यहाँ अन्याय सहेर बसेका, आफ्ना गुमाएका, केहि नभएका, गन्तव्यको परको कुरा एक छाकको चिन्ताले आत्तिएका जिवन्त स्तब्ध मनहरु जताततै छन्।
यी सबको अगाडि म के आधारमा स्तब्ध छु?
– Muskan Pandey
Read: म अझै पल्टिरहेकै छु..! | Muskan Pandey | Offline Thinker
म पल्टिरहेको छु मेरो घरको सानो कोठाको एक कुनामा। कोठाको अर्को कुनामा टि.भी खुल्ला छ। आज नेपालभरि १९ हजार ८ सय ४६ जनाले मात्रै पिसिआर जाँच गराएका छन्। कोभिड पोजिटिभ देखिनेको संख्या ८३,४५३ पुगेको छ। मृत्यु हुनेको संख्या ३,००० नाघेको छ। मृत्यु हुनेहरु सबै कोभिडको कारणले मृत्यु भएको भनी पुष्टि गरिएको छ।
Also Read
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

