Nepali Poem | तिमी नभेटिएकी भए | Suman Bhattarai

suman bhattarai

तिमी नभेटिएकी भए
भालेको पहिलो डाकसँगै
बिउझिदैनथे तिम्रा यादहरु
ती रंगिन मुस्कानको सम्झनामा
बल्झिदैनथे मेरा दिनहरु
ती गहिरा आँखाहरुको तलतलमा
अल्झिदैनथे मेरा रातहरु !
माया नगर्ने मायालु,
नभेटिएकी भए तिमी
मेरा दिन अर्कै हुन्थे
मेरा रात अर्कै हुन्थे ।

त्यो कालीगण्डकीलाई फेद पारेर
उभिएको डाँडाको बूढो चौपारीमा
बाधिदैनथ्यो तिम्रो नामको ध्वजा
त्यहीको एउटा निर्जीव ढुंगाको शिरमा
हेरेक दिन चढाइदैन्थ्यो एउटा निर्दोष फूल !
कसम: भाकल र प्राथनाको रापले
देउरालीको हावा पनि
अचेल, निसास्सिने खालको तातो लाग्छ !
माया नगर्ने मायालु,
नभेटिएकी भए तिमी
आज मेरो विश्वास अर्कै हुन्थे ।

सहरको कुनै एकान्त कुनामा
घाम नछिर्ने मेरो कोठाभित्र
एस्ट्रेभरी असरल्ल छरिदैनथे तिम्रा यादहरु !
मदिराको बत्तलहरुसँग साटिदैन्थ्यो तिम्रो न्यास्रो
बन्दैनथे एउटै व्यक्तिमै टुङ्गिरहने
कविताका ती फोकट बिम्बहरु:
बज्दैनथ्यो जीवनमा एउटै धुनको संगी‍त
बग्दैन्थ्यो जीवन एउटै बेगको निराशाहरुमा !
माया नगर्ने मायालु,
तिमी नभेटिएकी भए जीवनमा
मेरो जीवन, जीवन अर्कै हुन्थ्यो
मेरो जीवन, जीवन अर्कै हुन्थ्यो !

 

Read More From Suman Bhattarai:

-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *