जब तिम्रो नाममा
मठमन्दिरमा बाधेका रंगिन ध्वजाहरु
चैतको पहिलो हुरीपछि नै
मेरा आँखाहरुबाट
ठिक तिमी जस्तैः ओझेल भए
तब म नास्तिक भएँ ।
देउरालीका मेरा भाकलहरुले
र चैत्यका मेरा प्राथनाहरु, दुबैले
तिमीले जस्तै, तिनले पनि
आशाको तान्द्रोमा झुन्डाइराखे
जब आशाको तान्द्रो चुडेर, म
नराम्ररी प्रेममा बजारिए
तब, म नास्तिक बनेँ ।
जब पुजारीले हेरिदिएको
हात र निधारको रेखा
र मेरै कर्मले कोरिदिएको
हाम्रो सम्बन्धको प्रेमको रेखा
जहिल्यै दोबाटोमा छुट्टिए
तब म नास्तिक बनेँ !
विज्ञान त मेरो लागि
मात्र एउटा अपवाद हो
मलाई नास्तिक बनाउने
नियम त तिम्रो प्रेम थियो !
Read More From Suman Bhattarai:
-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments