तिम्रो भ्रमित परिचय नै यति सुन्दर छ,
वास्तविकताको कथा त झन कस्तो होला? कसले बुझ्ने होला?
छायाँमै यस्तो आकर्षण छ,
उज्यालोमा तिम्रो स्वरूपले
कस्तो संसार रच्ने होला ?
यो भ्रमित छवि नै
यदि यस्तो अनमोल छ भने,
तिम्रो स्वयं यथार्थ कस्तो दिव्य होला?
त्यो कसले चिन्ने होला?
तिम्रो अस्तित्वले जति सुन्दरता
शिरीषका फूलसँग साट्छन्,
म त्यति नै आतुर हुन्छु
तिम्रो भावनाहरु समेट्न।
तिम्रो जीवनका बगैंचामा
फुलेका ती फूलहरूले
जसरी जीवनको सुगन्ध साट्न सिकाउँछ,
म पनि तिनलाई स्पर्श गर्न चाहन्छु,
बिनासर्त, बिनाआशा।
तिम्रो भ्रमित परिचय त झन मलाई वास्तविकताको प्रतीक जस्तो लाग्छ,
किनकि भ्रमको सुन्दरतामा त
जीवनको मिठास लुकेको हुन्छ।
के तिमीलाई थाहा छ?
त्यो भ्रमित परिचयमा पनि
जति म तिमीलाई महसुस गर्छु,
त्यतिनै म आफूलाई भेट्छु।
तिमीले आफ्नो सुगन्ध
फूलहरुसँग साट्न खोज्दा
म सोच्दछु, सायद तिमी आफैं पनि
सुगन्ध बनेर यस ब्रह्माण्डमा हराउँदै छौ।
तिमीले आफ्नो जीवनका
रंगीन कथा सुनाउँदा,
म चाहान्छु मेरो अनुभुतीका रंगहरु पनि
तिम्रो भावनामा मिसिन सकुन।
यदि तिम्रा आँखा यो कविता पढेर
मुस्कुराउँछन् भने,
त्यो मुस्कान मेरो लागि
सृष्टिकै सुन्दर उपहार हुनेछ।
– Prashant Bagale
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com