Nepali Poem | नेपाल आमा | Anushma Dhungel

anushma dhungel Offline Thinker

 

नेपाल आमा,
सगरमाथाको काखमा,
सेतो फेटा ओढी,
शान्त हिमालमा पनि अशान्त छिन्।
पहाडको शीतलतामा,
आराम गर्दै,
लामा – लामा सास फेर्दै,
आनन्दमा पनि बेचैन छिन्।
तराईको हरियालीमा,
गाँस हाल्दै, ती भोका पेट भर्दै,
अस्तित्व हत्केलामा,
लिएर हिँड्दै छिन्।
सन्तानलाई आश्रय दिँदै ,
आफू चाहिँ रित्तिँदै छिन्।

डाँफे मुनालका गीत सुन्दै
उनी रमाउन खोज्दै छिन्,
खुल्ला गगनमा स्वतन्त्र भई
उड्न खोज्दै छिन्,
लालीगुराँसलाई सीरमा सिउरिँदै
लुसुक्क ऐन हेर्दै छिन्,
उनी हल्का शृङ्गार गर्दै छिन्।

डुबेको मेरो देश,
डुबाउने यही आमाका सन्तान !
लुटिएको मेरो देश,
लुटाउने यही आमाका सन्तान !
श्रम र विलासिताको मिश्रणमा,
प्रबल प्रभावमा परेका उनका सन्तान!
आमालाई रुवाउँदै,
आँसुको तस्करी गर्ने पनि उनैका सन्तान।

ए मेरी नेपाल आमा,
ती आँसुका धारा अब नबगाऊ!
ती जलेका घाउ अब नचलाऊ!
ती बितेका समय अब नसम्झ!
ती बगेका रगत अब नतौल!

वर्तमान यो कस्तो,
भविष्य त निश्चित उज्ज्वल हुने छ ।
ढलेको दिन यो आज,
भोलि त नयाँ सूर्योदय अवश्य पनि हुने छ ।

सूर्य झैँ उदाउन,
चन्द्रमा झैँ झल्किन,
सिक्नु छ अब।
खोला झैँ निश्चल बगिरहन,
जीवन झैँ अघि बढिरहन,
तत्पर हुनु छ अब।

दुबिधामा अग्नि,
द्वन्द्व खरानी,
सकिँदै त छैनौँ नि हामी ?
रित्तिँदै त छैनौँ नि हामी ?

रगत माग्छौ भने, रगत दिन्छु
बलिदान माग्छौ भने, बलि चढ्छु !
सास माग्छौ भने,
मुटु अर्पण गरिदिन्छु !
गाँस माग्छौ भने,
भोको पेट मरिदिन्छु !

वीरता खोज्छौँ भने, म वीर हुँ !
हिम्मत खोज्छौँ भने, म साहसी हुँ !
खुसी खोज्छौँ भने, म हाँसो हुँ !
त्याग खोज्छौँ भने, म परित्यागी हुँ !

रगतले रक्त लत भिजेको आँचल समाउँदै
मुटु जलाउँछौँ,
हिलो मैलोमा पनि सुन्दर कमलको
फूल फुलाउँछौ,
पत्थरै पत्थर भएको भूमिलाई पनि
ढकमक्क फूलबारी ,
बनाउन सक्ने तिमी।
स्वतन्त्रताको गीत गुन्जाउँदै
क्रान्तिको बखतमा,
सत्यताको मार्ग देखाउने तिमी ।

आमा,
डुबेको हाम्रो देश अब बाँच्ने छ ।
लुटिएको हाम्रो देश अब सप्रिने छ ।
हरियालीले ढकमक्क ढाकेको नेपाल बन्नेछ ,
इमान्दारीताले भरिएको नेपाल बन्नेछ,
तिम्रो साहसले रचिएको इतिहास,
घरघर गुन्जिने छ।
नयाँ नेपाल,
यी इतिहासका पाना पल्टाउँदै,
प्रज्वलित भविष्यको कामना गर्दै,
चम्किने छ, नितान्त मुस्कुराउने छ ।

-Anushma Dhungel

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *