८ सेप्टेम्बर २०२५ मा जुन अप्रिय घटना भयो, त्यो विरोधको प्रतिफल मात्र थिएन। निरङ्कुश शासन र बल प्रदर्शनको पराकाष्ठा थियो।
१९ जना अकालमा मरे– अझ भनौँ ताकी ताकी मारियो।
हातमा कलम, ब्यागमा किताब बोकेर देशको नयाँ इतिहास लेख्छु भन्नेहरू इतिहास बनेर फर्किए।
‘आऊ बाबु आऊ’ भन्दै संसद भवनभित्र सजिलै पस्न दिई भित्रबाट ढ्वाङ ढ्वाङ गोली हानेर अन्यायपूर्ण मृत्यु मर्न बाध्य भए युवाहरु।
GENZ पुस्ताले भ्रष्टाचारको विरुद्ध सामाजिक सञ्जालमा कुरा उठाउँदा कानमा तेल हालेर बसेका थियौ।
शान्तिपूर्ण आन्दोलन गर्छौँ भन्दा हावामा उडाएको थियौ। जब मासु भात नखुवाइएका युवा आफैँ सडकमा उत्रिए अनि बल्ल सरकार तर्सियो।
हजारौँको संख्यामा GENZ सडकमा उत्रिएपछि सरकारले गरोस् पनि के। आफ्नै सुरक्षाको लागि गोली बर्सायो। डर त्रास देखायो कर्फ्यू लगायो। फेरि चुपचाप लागिहाल्छ भनी सेना पठायो।
तर अहँ १८ जना अबोधको रगतको बदलामा अब GENZ मात्र रहेनन्। GENZ मा आमा बुवा, काका काकी, मामा माइजु, छरछिमेक सबै उभिएका छन्।
कोठाको कुनामा मोबाइलमा पब्जी खेलेर बस्ने साना GENZ देखि चियापसलमा सरकारदेखि दिक्क परेका सबै ठूला GEN Z सडकमा उत्रिएका छन्।
सारा नेपालीको रगत उम्लिएको छ।
सरकार तिमीले गल्ती गर्यौ। ठूलो गल्ती गर्यौ। जुन गल्तीले तिमीलाई नै धिक्कार्दै छ।
एउटा उखान छ… कुनै जोकर दरबारमा पुग्दैमा उ राजा बन्दैन, बरु दरबार नै सर्कसमा बदलिन्छ।
बनाएनौ त देशलाई नै सर्कस् !!
फरक यति छ, सर्कसमा क्लाउनको नाक रातो हुन्छ, यहाँ त तिम्रो हात नै रातो रगतले लतपतिएको छ।
हिजोसम्म त हामीलाई पनि सरकारदेखि रिस उठेको थियो।
तर आज बिचरा लागिरहेछ।
बिचरा ! बुढेसकालमा सुख शान्तिमय जिन्दगी कटाउन छाडेर कहाँ सोह्रश्राद्धको दिन युवा मार्न लागेछौ।
अब त बस यति भन्न सकिन्छ– बिचरा सरकारलाई कसैले बचाइदेऊ।
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker

