Nepali Poem | अल्झिएका हामी | Anushma Dhungel

anushma dhungel Offline Thinker

भ्रमको भुमरीमा,
फनफनी घुमेका हामी ।
आफ्नो अनिश्चितताको अघि-पछि,
अलमल्ल परेका हामी ।

आफ्नै छायासँग डराएर,
अन्धकारलाई अँगाल्न बाध्य हामी ।
सत्य र तथ्य स्वप्नमा मात्र,
यथार्थको भारले कुच्चिएका हामी ।

दुबिधाको सञ्जालबाट,
मुक्त हुन नसकेका हामी ।
अन्तर मनबाट प्रसिद्ध हुन खोजे पनि,
पहिचान गुमाएका हामी ।

ईर्ष्या र क्रोधका गाँठा फुकाउन,
समय नभएका हामी ।
सम्बन्धको कागज कोर्न,
काबिल भए पनि नसकेका हामी ।

नजिक भए पनि सबैसँग टाढा,
एकान्तको गीत गाउँदै रमाउने हामी।
अनेकौँ शब्दहरू ओठमै अल्झेँ पनि,
मौन र शब्दहीन भएका हामी।

अनेकौँ लेख र रचनामा पनि,
भावना व्यक्त गर्न असफल हामी।
रिसको पहिरन पहिरिएर,
स्वार्थपनको बर्को ओडेका हामी।

प्रेमलाई बिर्सेर घृणा फैलाउँदै,
मानवताको पाठ भुलेका हामी।
सत्यलाई ढाक्ने बर्को ओढी,
झूटसँग सम्झौता गरेका हामी।

हृदयको ध्वनि नसुनेझैँ गरी,
खै कता अकमकिएका हामी।
आफ्नै लडाइँमा मात्र अल्झिन खोज्छौँ ,
किन यति आत्म केंद्रित हामी?

एक्लोपनको पिँजडामा कैद भएर,
स्वतन्त्र बन्न पुगेका हामी।
धन र सम्पत्तिको लालचमा,
भावनात्मक आक्रमण गर्न पनि तयार हामी।

आत्म प्रहार गरिन्छ कि भन्ने डरमा,
अरूको हक खोस्न हरपल तयार हामी।
घातको परिणाम विनाश हुन्छ,
यो बुझेर पनि अबुझ हामी।

विवेकशील प्राणी भनी चिनिए पनि,
विवेक गुमाएका हामी ।
खै कता अल्झिएका हामी ।

 

Read More From Anushma Dhungel: 

 

 

Read More Nepali Poem at Offline Thinker:

Read More From Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *