आमा, माफ गरिदेऊ है
तिमीले पकाइ राखेको खाना छोडेर हिँडेको थिएँ
अब खाना खान फर्किन पाउदिनँ,
बा तिमी नेपालगन्ज थियौ, म जस्तै छोराहरूलाई पढाउँदै
त्यो बेला छोरो नफर्किने गरी गयो सुन्दा
भक्कानियौ होला
माफ गरिदेऊ है, मेरो लाश तिमीलाई बोक्न बाध्य बनाएँ
मन त थिएन
तिम्रै बुढेसकालको लागि हिँडेको थिएँ
आफ्नै भविष्यलाई हिँडेको थिएँ
तिमीले मन पराएर जिताएका तिम्रै प्रतिनिधिलाई सोध्न हिँडेको थिएँ
तिम्रै भोटले मार्यो बा मलाई
तिम्रै भरोसाको पात्रले मार्यो मलाई
स्कुलको झोला बोकी हिँडेको थिएँ
देशको झण्डा बाधि हिँडेको थिएँ
बा तिमीले सिकाए झैँ सधैँ सिर ठाडो पारि हिँडेको थिएँ
त्यही शिर ताकी ढाल्यो बा
त्यही साहसको छाती ताकी ताकी चिर्यो बा
प्रश्न सोध्ने हात छुट्यो बा मेरो
आज उसले चाहे झैँ मलाई बिना प्रश्न
बिना प्रतिकारको सहिद बनायो
आज तिमीले सिकाको सबै गलत साबित भयो
कलम भन्दा ठुलो हतियार भयो बा
स्कुलको झोलालाई पार्टीको झोलाले जित्यो
देशको झण्डालाई कहिले झुक्न दिन्न भनी हिँडेको थिएँ
मेरै कारणले मेरै लागि झुक्यो बा झण्डा
माफ गरिदेऊ है बस तिम्रो भई रहन सकिन
नेपाल आमा, तिम्रा त धेरै छोराहरू छन्
म मरे अरू छन्
म ढले
अरू उठ्छन्
मेरी जन्माउने आमा को मै हो!
उनलाई म गएको स्वीकार्न गाह्रो होला!
ए छोरा भनी बोलाउने कोही नहोला!
बुढेसकालको सहारा रित्तियो,
साना ठुला सपना सिद्धियो मान्लिन्
सम्झाइदिनु नेपाल आमा !
एउटी आमाबाट अर्की आमाको काखमा गयो भन्नु!
जानु त थियो नै तर
जाने समयभन्दा थोरै छिटो गयो भन्दिनु
यी सबै कसरी सम्झाऊ मेरी आमालाई म आफै!
नेपाल आमा, मेरी आमाको ख्याल गर है!
अब मैले सक्दिन,
पाउदिन!
उनको आँसु बेला-बेला पुछिदेऊ है!
मैले छुन सक्दिन
अनि मलाई मार्नेले मेरो आमाको आशु पुछ्न खोज्लान!
त्यही आँसुसँग राजनीति खेल्लान्
बिन्ति छ मेरो लासको त मूल्य तोकियो
मेरी आमाको आँसुको नतोकिदिनु!
उनलाई रुन दिनु!
बहकिन दिनु!
मलाई माया गर्छिन् उनले त उनी रुनछिन्
देश रुन्छ!
झोला र झन्डा बोक्नेलाई कहाँ होस् मेरो देहको माया
किन होस्!
बस् एउटा विवश लाश हो ढाडसमा खेल्नेसँग
मेरी आमालाई अछुत राख्नु
बिन्ती छ !!!
र आमा
गए है, सम्झी रहन्छु
लेखि रहन्छु
Read More From Aarjit Pandey:
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

