मौन चित्कार! | Muskan Pandey | Nepali Poem

Muskan Pandey

Photo: Nisha Bhandari (Setopati)

मेरो योनी,
मेरो स्तन,
मेरो शरिर,
तिम्रो चाह,
तिम्रो तृष्णा,
तिम्रो भोक हो भने,
लैजाउ सबै!
म दिन्छु तिमीलाई
मेरो छाला, मासु चुँडेर
कोतार, चिथोर,
नजर गाढेर,
जेजे गर्नु छ गर!
आफ्नो अटेरी मनलाई ढाँटेर,
म दिन्छु तिमीलाई
मेरो अंगअंग काटेर!
तर बिन्ती!
मलाई नछोइदेउ,
तिम्रो पापी हातले छोएको दाग
म मेटाउन सक्दिँन।
तिम्रो तातो सासले सल्काएको
मेरो मुटुको ज्वाला म निभाउन सक्दिँन।
रगताम्य नग्न शरिर मेरो,
च्यात्तिएका अर्ध वस्त्रले ढाक्न सक्दिँन।
अन्कुराउँदै गरेका स्तनको स्तम्भभित्र पुरिएको
मेरो मुटुको चोट गहिरो छ,
बगाएर आँसुका धारा,
मनको पीडा म पखाल्न सक्दिँन।
कुल्चिएर आफ्नै अस्तित्व,
खरानी भइसकेको आत्माको मलामी
म जान सक्दिँन।
बिन्ती मलाई नछोइदेउ,
तिम्रो पापी हातले छोएको दाग
म मेटाउन सक्दिँन।
मलाई चाहिएन सान्त्वना,
चाहिएन साथ, समर्थन।
तिम्रो विर्यले बचाएको
मेरो गर्भ पनि चाहिएन मलाई,
यदि जन्मन्छन् भने बलात्कारी
नकारेर आफ्नो जिम्मेवारी,
दबाइन्छ भने आर्तनादका ध्वनिहरु,
चित्कार र चिच्याहटहरु,
यसैगरी बारम्बार लुटिन्छन् भने नारीहरु
चाहिएन मलाई पुरुषार्थ पनि!
न्यायलयकै ढोकामा उभिँदा
पनि अन्याय हुन्छ भने,
चाहिएन मलाई झुटो आश्वासन पनि!
बरु,
चिथोर, कोतार
आफ्नो भोक,प्यास मेटाउ
लैजाउ सबै!
म दिन्छु तिमीलाई मेरो अङ्ग अङ्ग काटेर!
बिन्ती!
मलाई नछोइदेउ,
तिम्रो पापी हातले छोएको दाग
म मेटाउन सक्दिँन।
तिम्रो तातो सासले सल्काएको
मेरो मुटुको ज्वाला म निभाउन सक्दिँन।

 

~मुस्कान पाण्डे

 

Read More From Muskan Pandey:

 

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *